'सधैँ कप्तान हुन आएको पनि हाेइन, हुनुपर्छ भन्ने पनि छैन'

'सधैँ कप्तान हुन आएको पनि हाेइन, हुनुपर्छ भन्ने पनि छैन'

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २०, २०७८

नेपाल राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँ कप्तान हुन आएको पनि होइन र हुनुपर्छ भन्ने पनि मान्यता पनि नभएको बताएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेल मैदानमा मंगलबार संचारकर्मीहरूसँग उनले क्यान र खेलाडीबीचकाे विवाद समाधानपछि यस्ताे प्रतिक्रिया दिएका हुन् । 

‘म सधैँलाई कप्तान हुन आएको पनि हाेइन र हुनुपर्छ भन्ने पनि छैन । म पहिला पनि खेलिरहेको थिए अहिले पनि खेल्छु’, उनले भने ।यसअघि २९ मंसिरमा नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्तसहित ६ महिना केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो । उनीहरूसँगै क्रिकेटर कमलसिंह ऐरी र सोमपाल कामीलाई पनि सन् २०२२ को सुरुवाती ६ महिना केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेकाे  थियाे ।

यस्तै, क्यानले कप्तानका रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । यससँगै क्यान र खेलाडीबीच विवाद चर्किएकाे थियाे ।खेलाडीले राष्ट्रिय टोलीबाट नखेल्ने बताउँदै आएका थिए भने क्यान कारबाही फिर्ता नलिने मुडमा थियो । तर, गठबन्धन सरकारदेखि शीर्षस्तरमै विवाद पुग्न थालेपछि खेलाडी र क्यान एक कदम पछाडि फर्केर छलफल सुरु भएकाे थियाे । साेमबारकाे छलफलमा क्यान र खेलाडीबीच सहमति भएपछि विवाद अन्त्य भएकाे छ ।   

ज्ञानेन्द्रलगायत खेलाडीले आफ्नो कारबाहीसहित कप्तानीसमेत फिर्ता हुनुपर्ने माग राखेका थिए । क्यानले केन्द्रीय सम्झौता हेरफेर गर्ने र कारबाहीसमेत फुकुवा हुने तर कप्तानी फिर्ता नहुने बताएको छ ।  

यससँगै विवादमा उत्रिएका खेलाडी मंगलबारबाट प्रशिक्षणमा आएका हुन् । कप्तान सन्दीप लामिछाने बिग बास लिग खेल्न अस्ट्रेलियामा रहेका छन् भने सागर ढकाल बिरामी हुँदा प्रशिक्षणमा सामेल भएनन् । बिहानी अभ्यास सत्रमा प्रारम्भिक छनोटका ३० मध्ये २८ खेलाडी सामेल भए । 

प्रशिक्षणमा आएका ज्ञानेन्द्रले यो विवाद नभएको, खेलाडीले आफ्नो असन्तुष्टि जनाएको र यो विषय बाहिर आउनु नहुने पनि बताए । ‘विवाद समाप्त भएर हामी यही छौँ । विवाद समाधानभन्दा पनि एउटा असन्तुष्टि हो । विवाद बनाएको जस्तो भयो । मलाई जहाँसम्म लाग्छ, विवाद नभएर खेलाडीहरूको असन्तुष्टि हाे’, मल्लले भने ।

ज्ञानेन्द्रले आफूहरूले बोर्डको विपक्ष र बोर्डलाई निचो गराउने काम कहिले पनि नगरेको बताए । ‘कहिले पनि बोर्डको विपक्षमा जाने, बोर्डलाई निचो गराउन खाेजेकाे हाेइन । त्यो गर्ने भए हामी अरू पनि बाटो अपनाउँथ्याैँ हाेला । जान्थ्यौैँ होला । खेल्दैन थियौैँ होला । तर, यत्रो वर्ष केही नहुँदा पनि खेलिरहेका छौँ भने अहिले एउटा सम्मानजनक स्थिति छ । सधैँ सम्बोधन हुनुपर्‍यो । अरूअरू आरोप लगाउँदा दु:ख लाग्यो । यो आत्म सम्मानकाे कुराले मलाई अप्ठ्यारो परेको थियो ।’

यस्तै, मल्लले आफू पहिले पनि खेलिरहेको र अहिले पनि खेल्ने बताए । साथै, देशका लागि खेल्ने उद्देश्य रहेको बताए । दोस्रो पटक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको नेपाली टोलीले ओमानमा आयोजना हुने आईसीसी टी- २० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दै छ ।