सुनिल सर्वाधिक गोलकर्ता, विशाललाई ६ क्लिन सिट

सुनिल सर्वाधिक गोलकर्ता, विशाललाई ६ क्लिन सिट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २०, २०७८

शहीद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरण सकिँदा मच्छिन्द्र फुटबल क्लब शीर्षस्थानमा रहँदै एएफसी कप- २०२२ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । पछिल्लो खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई १-० अन्तरले पराजित गर्दै मच्छिन्द्रले मनाङ-मर्स्याङ्दी क्लबलाई १ अंकले पछि पार्‍याे । 

खेलका नायक बने, सुनिल बल । पुलिसविरुद्ध हेड गोल गरेका सुनिल सातौँ चरणको खेल सकिँदा ५ गोलसहित गोल्डेन बुट दौडको शीर्ष स्थानमा छन् । उनले विदेशी खेलाडी अजयी मार्टिन्स र आशिष लामा (४ गोल)लाई पछि पारे ।

यता, मच्छिन्द्रकै गोल रक्षक विशाल श्रेष्ठ सर्वाधिक ६ ‘क्लिन सिट’ राख्ने पहिलो खेलाडी बने । लिगको आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटीविरुद्ध जीत हात पार्दा ५४औँ मिनेटमा एरिक विष्टको गोल बेहोर्नुबाहेक विशालले ‘क्लिन सिट’ कायम राखेका छन् । त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ, हिमालयन शेर्पा, संकटा, मनाङ र पुलिसविरुद्ध खेल्दा विशाल ५७६ मिनेट गोल रोक्न सफल भएका छन् । 

विशाललाई पछ्याउने क्रममा मनाङका विशाल सुनार, पुलिसका शत्रुघन चौधरीलगायत छन् । लिगमा ७ खेलबाट १७ अंक जोडेर शीर्ष स्थानमा रहेको मच्छिन्द्रलाई समान खेलबाट १६ अंक जोडेको मनाङले पछ्याइरहेको छ । १३ अंक बनाएको संकटा तेस्रो स्थानमा रहँदा समान ११ अंक बनाएका आर्मी र शेर्पा क्रमश: चौथो र पाँचौँ स्थानमा छन् । 

समान १० अंकको थ्री स्टार र एनआरटी छैटाैँ र सातौँ स्थानमा छन् । ८ अंकको सातदोबाटो अन्तिम खेलमा शेर्पासँग पराजित भएसँगै आठौँ स्थानमा झर्‍याे । ७ अंकको जावलाखेल नवौँ स्थानमा छ । ६ अंक बनाएका एपीएफ र पुलिस १०औँ र ११औँ स्थानमा रहँदा ब्रिगेड ब्वाइज क्लब र च्यासल ५ अंकसहित १२औँ र १३औँ स्थानमा छ भने ३ अंक बनाएको फ्रेन्ड्स पुछारमा छ । 

यस पटक लिगमा पुछारका २ टोली रेलिगेसनमा पर्नेछन् । ७ खेलमा ५ गोल गरेर ११ गोल बेहोरेको फ्रेन्ड्स रेलिगेसनको बाटाेमा छ ।  

जारी लिगको सातौँ चरणमा जम्मा १३ गोल भयो । फ्रेन्ड्स र एनआरटीबीचको खेलमा ५ गोल हुनुबाहेक अन्य खेलमा ठूलो अन्तर निस्कन सकेन । यस चरणमा एक खेल मात्र नतिजाविहीन भयो । अब आठौँ चरणको खेल आगामी शुक्रबारबाट सुरु हुनेछ । 

सातौँ चरणका खेल र नतिजा:

एपीएफ फुटबल क्लब १-१ त्रिभुवन आर्मी फुटबल क्लब 
फ्रेन्ड्स क्लब २-३ न्युरोड टिम एनआरटी
थ्री स्टार क्लब २-१ जावलाखेल युथ क्लब 
मनाङ-मर्स्याङ्दी क्लब १-० ब्रिगेड ब्वाइज क्लब (बीबीसी)
संकटा क्लब  ०-० च्यासल युथ क्लब
नेपाल पुलिस क्लब ०-१ मच्छिन्द्र फुटबल क्लब
सातदोबाटो युथ क्लब ०-१ हिमालयन शेर्पा
 क्लब