हैटीमा राजनीतिक संकट: राष्ट्रपतिको हत्याको ६ महिनापछि प्रधानमन्त्रीको हत्या प्रयास

हैटीमा राजनीतिक संकट: राष्ट्रपतिको हत्याको ६ महिनापछि प्रधानमन्त्रीको हत्या प्रयास

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २१, २०७८

क्यारेबियन देश हैटीमा शृङ्खलाबद्ध रुपमा नेताहरुमाथि आक्रमण भइरहेको देखिएको छ । ६ महिनाअघि मात्रै राष्ट्रपति जोभनेल मोइजको बन्दुकधारीहरुले निवासमै हत्या गरेका थिए । राष्ट्रपतिको हत्या भएको ६ महिनापछि देशको स्वतन्त्रता दिवस समारोहमा सहभागी भएका बेला बन्दुकधारीहरूले प्रधानमन्त्री एरियल आङ्ग्रीलाई पनि गोली हानेर हत्या गर्ने प्रयास गरेका हुन् । 

अनलाइनमा पोस्ट गरिएका भिडियोमा प्रधानमन्त्री एरियलसहित उनको टोली तीव्र रुपमा दौडिएर गाडीतर्फ जाँदै गरेको देखिन्छ । गत वर्षको ७ जुलाईमा हैटीका राष्ट्रपति जोभनेल मोइज आफ्नै निवासमा मारिएका थिए । लामो समयदेखि नै अस्थिर रहँदै आएको हैटीमा त्यसपछि सुरक्षा अवस्था झनै बिग्रिएको छ । जुलाइमा राष्ट्रपतिको हत्याको घटनापछि प्रधानमन्त्री एरियल आङ्गीलाई पनि देश छाड्न रोक लगाइएको थियो । उनले अपहरण मामिलाका आरोपितहरू र देशभरको ग्यास वितरण प्रणालीलाई नियन्त्रणमा लिएका शक्तिशाली गिरोहमाथि कारबाही गर्ने बाचा गरेका छन् । प्रधानमन्त्रीमाथि भएको सो आक्रमणका क्रममा बन्दुकधारी र सुरक्षा निकाय अधिकारीहरुबीच भएको गोली हानाहानमा एक निर्दोष व्यक्तिले ज्यान गुमाएका छन् भने अन्य केही घाइते भएका छन् । निरन्तरको राजनीतिक संकटका कारण हैटीको सत्ता कमजोर बनेको छ । पछिल्लो आक्रमणलाई आङ्गी नेतृत्वको कमजोर प्रशासनमाथिको अर्को प्रहारका रुपमा हेरिएको छ । राष्ट्रपति मोइजको हत्या भएको दुई सातापछि उनी देशको कार्यबहाक प्रमुख बनेका थिए । राष्ट्रपतिको हत्यापछि त्यहाँ नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मिति घोषणा गरिएको छैन । 

हैटीको संकट

आर्थिक तथा सामाजिक रुपमा निकै पिछडिएको क्यारेबियन देश हैटीमा गत जुनमा शक्तिशाली भूकम्प गएको थियो । त्यसको एक महिनापछि ७ जुलाईमा राष्ट्रपति मोइज आफ्नै निवासमा बन्दुकधारीको आक्रमणमा मारिएपछि त्यहाँको संकट झनै चुलिएको थियो । राष्ट्रपतिको हत्या भएको यो घटनाले हैटीमा त्रास उत्पन्न गरायो । राष्ट्रपतिको हत्याको विषयमा छानविन चलिरहेका बेला गत सेप्टेम्बरमा प्रधानमन्त्री आङ्गीले एक पत्रमार्फत प्रमुख अभियोजनकर्ता बेड–फोर्ड क्लोडलाई गम्भीर प्रशासनिक गल्ती गरेको आरोप लगाउँदै पदबाट बर्खास्त गरेर अर्का व्यक्तिलाई नियुक्त गरेका थिए । तर केही समयपछि क्लोडले नै प्रमुख अभियोजनकर्ताका रुपमा काम गरे । खासमा मोइजको हत्याको मुद्दा हेरिरहेका न्यायाधीशसँग घटनाको संदिग्धका रुपमा प्रधानमन्त्रीमाथि अभियोग लगाउन आग्रह गरेका थिए । सोही विषयलाई लिएर अभियोजनकर्तालाई हटाए पनि त्यहाँ प्रधानमन्त्रीसँग अभियोजनकर्तालाई हटाउने अधिकार नभएका कारण पुनः क्लोड नै प्रमुख अभियोजनकर्ताका रुपमा काम भएका हुन् । 

घटनाले हैटीको आन्तरिक राजनीति पेचिलो अवस्थामा रहेको पुष्टि भएको छ । दशकौंदेखिको भ्रष्टाचार, गैरजिम्मेवार प्रशासन र शासक तथा अस्थिर राजनीतिले हैटी अशान्त बनिरहेको छ । यही अव्यवस्थालाई फाइदा लिएर हिंसा मच्चााउने प्रयास भइरहेको विश्लेशकहरुको भनाई छ । 


विवाद के थियो ?

हैटी उत्तर अमेरिकाकै सबैभन्दा गरिब देश हो । ५३ वर्षीय मोइज सन् २०१७ मा त्यहाँको राष्ट्रपति बनेका थिए । उनको कार्यकाल पनि विवादमुक्त थिएन । उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो भने गत वर्षको सुरुदेखि नै देशभर विरोध प्रदर्शन हुन थालेका थिए । सन् २०१९ को अक्टोबरमा नै चुनाव गरेर उनले सत्ता हस्तान्तरण गर्नुपर्ने थियो । तर उनले त्यसो नगरेपछि विवाद बढेको थियो । उनी देशमा संवैधानिक परिवर्तनका लागि सेप्टेम्बरमा जनमत संग्रह गराउने योजनामा थिए । तर जुलाइमा नै मारिए । उनको हत्यामा संलग्न मध्ये १८ जना कोलम्बियाका अवकाशप्राप्त सैनिक र अन्य दुई जना अमेरिकी नागरिक थिए । उनको हत्यामा संलग्नताको आशंकामा करिब चार दर्जन पक्राउ परेका छन् । संदिग्ध ३ जनाको भने आक्रमणकै क्रममा मृत्यु भएको थियो ।

हत्या गरिएका राष्ट्रपति मोइजकी श्रीमती मोजेले भाडाका सिपाहीको प्रयोग गरेर आफ्ना पतिको हत्या गरिएको बताएकी थिइन् । हत्याका क्रममा उनी पनि घाइते भएकी थिइन् । अमेरिकाको मियामीमा लामो उपचारपछि उनी स्वदेश फर्किएकी छिन् । आफ्ना श्रीमानले सुरु गरेको संवैधानिक सुधार र जनताको जीवनस्तरमा परिवर्तन ल्याउने प्रयासलाई रोक्न राजनीतिक शत्रुहरुले घटना घटाएको बताएकी थिइन् । सो घटनाबारे प्रष्ट विषय बाहिर नआउँदै उनैले नियुक्त गरेका प्रधानमन्त्रीको हत्या प्रयास भएको छ । यो घटनाले हैटीको आन्तरिक राजनीति पेचिलो अवस्थामा रहेको पुष्टि भएको छ । दशकौंदेखिको भ्रष्टाचार, गैरजिम्मेवार प्रशासन र शासक तथा अस्थिर राजनीतिले हैटी अशान्त बनिरहेको छ । यही अव्यवस्थालाई फाइदा लिएर हिंसा मच्चााउने प्रयास भइरहेको विश्लेशकहरुको भनाई छ ।