कम्युनिस्ट भनिएका पार्टीलाई देख्न पनि नचाहने ओझाको 'जबज'माथि 'फरक बहस'

कम्युनिस्ट भनिएका पार्टीलाई देख्न पनि नचाहने ओझाको 'जबज'माथि 'फरक बहस'

रूपक अलङ्कार  |  दृष्टिकोण  |  पुष २१, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) अर्थात् नेकपा एमाले नेपालको राजनीतिको महत्त्वपूर्ण शक्ति हो । यसको मार्गदर्शक सिद्धान्त भनेको 'जनताको बहुदलीय जनवाद' (जबज) हो । तत्कालीन पार्टी महासचिव मदनकुमार भण्डारीले पार्टीको पाँचौँ महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेजलाई नै नेकपा एमालेले आफ्नो वैचारिक एवं रणनीतिक हतियारका रूपमा आजपर्यन्त प्रस्तुत गर्दै आइरहेको छ ।

जबजका बारेमा निन्दा वा प्रशंसा सबैभन्दा बढी एमालेमै हुने हो । भएको पनि छ । यसको आलोचनाभन्दा प्रशंसा बढी भएको तथ्यलाई अस्वाभाविक मान्न हुँदैन पनि । जबजको प्रशंसा एमाले जनले खुबै गरेका छन् । आलोचना पनि गरेका छन् तर त्यो सुनोस् कसले ? इतर दलका मानिसले किन टाउको दुखाइरहनुपर्‍यो ? कसैले जबजका बारेमा बोले पनि निन्दै गर्ने हुन् । प्रशंसा गरे 'लौ, एमाले भएछ' भनिहाल्छन् ।

यसरी एमालेले राम्रो भनिरहने र अरूले भए के त ? भनिरहने चिज भएको छ जबज । यस्तै चलिरहेका बेला पत्रकार घनेन्द्र ओझाले 'जनताको बहुदलीय जनवाद : फरक बहस' नामक कृति लेखे । त्यो किताब इन्डिगो प्रकाशनबाट छापिएर विमोचन पनि भइसक्यो । हुनत घनेन्द्र ओझालाई पत्रकार मात्र भन्दा अन्याय होला । उनको प्रतिभाको आभाले नेपाली वाङ्मयका धेरै क्षेत्र झलमल्ल छन् । तर, यस कृतिमा उनको पत्रकार व्यक्तित्व नै हाबी छ । तथ्यमा  बाहेक अन्त पटक्कै बोल्न रुचाउँदैनन् उनी तैपनि विश्लेषणमा उनको कवि हृदय नपग्लेको मानिँदैन ।

घनेन्द्र ओझा लेखक हुन्, त्यसै स्वभावअनुसार उनले लेखे भनेर मान्न पनि सकिन्छ । तर, किन लेखे त यही विषय ? अरू पनि थिए विषय लेख्नका लागि । जबजमै यिनको चित्त किन फस्यो ? पत्रपत्रिकामा राजनीतिक लेखहरू लेख्दै आए पनि राजनीतिक विषयमा यो उनको पहिलो पुस्तकाकार कृति हो । यस किताबका पनि धेरै लेखहरू पूर्वप्रकाशित हुन् । जबजको अनुयायी नेकपा एमाले हो, घनेन्द्र ओझा एमाले त के नेपालका कम्युनिस्ट भनिएका पार्टीलाई देख्न पनि चाहँदैनन् । यिनका दृष्टिमा नेपालमा कम्युनिस्ट पार्टी नै छैनन् । कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ भन्ने कुरा जति  यिनी जान्दछन्, त्यति स्वयं मार्क्स पनि जान्दैनन् होला ।

घनेन्द्रले फेसबुकबाटै केपी ओली सरकार ढाल्छु भने । नेकपा र पछि एमाले फुटाउँछु भने । झिँगाले हानेर डिंगो मर्दैन भने पनि यिनले भनेजस्तै भयो । कम्युनिस्ट पार्टी त्यसमा पनि एमाले त्यसमा केपी ओलीलाई फेसबुक स्टाटसमा गाली गरेपछि मात्र यिनी निदाउँछन् । खासमा यो हाँस्ने कुरो हो तर कुरो यही हो । यिनी कुनै राजनीतिक पार्टीमा आबद्ध छैनन्, यिनको कुरो सुन्ने हो भने । विगतमा नेविसंघबाट स्ववियु चुनाव लडेको इतिहास छ यिनीसित भने वर्तमानमा नेपाली लेखक संघका सचिव हुन् । नेपाली लेखक संघमा राजनीतिक रूपले स्वतन्त्र लेखकहरू मात्र आबद्ध छन् भन्ने कुरा लोकलाई स्पष्ट छ ।

कुनै पनि कुरा स्पष्ट राख्ने र विपक्षी चेत् बाबा कासी नबनुन्जेल तर्कबाट नतर्किने घनेन्द्रको स्वभाव यस किताबमा पनि देखिन्छ । यिनी शास्त्रीयतावादी हुन् भन्ने कुरा त गजलमा यिनले गरेको वकालतबाटै थाहा हुन्छ । मार्क्सवाद र कम्युनिस्टका विषयमा पनि कुरा त्यही हो । आलोचकलाई सुहाउने भनेकै सिद्धान्त र शास्त्र हो । मानिसको व्यवहार बाच्छो जसरी सिद्धान्तको दाम्लो चुँडालेर भाग्छ । आलोचक त्यही चुँडिएको दाम्लो लिएर गोठालो जसरी पछिपछि दगुर्छ । तर, राजनीतिमा सिद्धान्तको दाम्लो चुँडाल्नेहरू नै आदर्शको डिङ हाँक्छन् । त्यसैले यहाँ अलिक रमाइलो छ ।

सिद्धान्त एवं आदर्शका बीच तालमेल नहुने नेपाली राजनीतिको चरित्रले जनता वर्षौंदेखि आक्रान्त छन् तैपनि राजनीतिकर्मीका झुसिला भाषण र सिद्धान्तगत वमनवेदान्तबाट मुक्ति मिलिहाल्ने अवस्था आइसकेको छैन । नेपाली राजनीतिमा अझै धेरै वर्ष काम गर्नेको भन्दा कचकच गर्नेको बोलवाला रहने संभावना छ । यस्तो स्थितिमा घनेन्द्र ओझाबाट राजनीतिक विश्लेषणको कृति आउनु समयको माग हो ।

उनले जबजलाई 'पुँजीवादी कम्युनिस्टको गीता' भन्न थालेको धेरै भइसक्यो । कुनै पनि सिद्धान्त वा विचारलाई कार्यान्वयन नगरेर त्यसको प्रशंसा मात्र गाइन्छ भने त्यो गीता हुन्छ । यो के हो ? कस्तो हो ? समयअनुसार परिवर्तनीय छ कि छैन ? किन यो ठिक हो ? जस्ता कुरामा बहस नगरी एकोहोरो जनताको बहुदलीय जनवादको नारा लगाइरहने हो भने त्यो गीता हुन के बेर लाग्छ ?

लेखकले गिज्याउनका लागि भनेका हुन् किनभने कम्युनिस्ट पार्टी फलोस्, फुलोस्, देशमा कम्युनिस्ट शासन लागू होस् भन्ने चाहनाले लेखकलाई यो किताब लेख्न कुत्कुत्याएको होइन । पूर्वाग्रहरहित भएर लेखेको छु भन्ने लागेको छ लेखकलाई, लाग्न पाउँछ । न कम्युनिस्ट पार्टी मनपरेको छ, न त जबज मनपरेको छ अनि त्यही मान्छे पूर्वाग्रहरहित पनि हुन खोजेको छ । कस्तो विरोधाभास ?

भोलि जबजलाई नि पीताम्बरले बेरेर दान गर्ने दिन आउला । बिहान-बेलुका फूलपाती चढाएर ढोग्ने दिन आउला । वर्षको केही दिन बेलुकाको भोजनपश्चात् वाचन गर्ने दिन आउला या स्वर्ग जाने सोपान बन्ला । जब कुनै दस्ताबेजमाथि बहसको बिराम हुन्छ अनि त्यसको देवत्वकरण हुन थाल्छ । ओझाले जस्तो नियतले भने पनि उनको आरोप अनुचित छैन ।

मदन भण्डारीले कम्युनिस्ट आन्दोलनलाई पतन गराए भन्ने आरोप लागाइएको छ किताबमा । बहुदलीय भनेपछि त्यो कसरी कम्युनिस्ट हुन्छ ? भन्ने प्रश्न छ लेखकको । पहिले त माओवादीहरू पनि यसै भन्थे । तर, त्यति बेला माओवादीहरू जनवादी सत्ता ल्याउनका लागि भन्थे । सकेनन्, त्यो अर्कै कुरा हो । लेखकले गिज्याउनका लागि भनेका हुन् किनभने कम्युनिस्ट पार्टी फलोस्, फुलोस्, देशमा कम्युनिस्ट शासन लागू होस् भन्ने चाहनाले लेखकलाई यो किताब लेख्न कुत्कुत्याएको होइन । पूर्वाग्रहरहित भएर लेखेको छु भन्ने लागेको छ लेखकलाई, लाग्न पाउँछ । न कम्युनिस्ट पार्टी मनपरेको छ, न त जबज मनपरेको छ अनि त्यही मान्छे पूर्वाग्रहरहित पनि हुन खोजेको छ । कस्तो विरोधाभास ?

लेखकले जबजको विश्लेषणमा कस्तो दृष्टिकोण प्रयोग गरेका छन् भन्ने कुरा त शीर्षक मात्र हेरे पनि थाहा हुन्छ ।

शीर्षक नै यस किसिमका भएपछि यहाँभित्र विश्लेषण पनि यसै किसिमका हुने भए नै । कम्युनिस्ट पार्टीलाई बहुदलीय प्रतिस्पर्धामा ल्याउन सक्नु नै मदन भण्डारीको मौलिकता हो भन्नेतिर लेखक जान सकेका छैनन् बरु त्यसैलाई कम्युनिस्ट आन्दोलनको विसर्जन मान्नुपर्ने बाटामा छन् लेखक । सशस्त्र आन्दोलनको जगमा कम्युनिस्ट आन्दोलन उठ्दा जनताले कति दु:ख पाउँछन् भन्ने कुरा माओवादी जनयुद्धले देखाइसकेको छ । के लेखक अझै भयानक युद्धको पक्षमा हुन् त ? प्रश्न उठ्न सक्छ ।

'माछो देखे दुलोभित्र हात, सर्प देखे दुलोबाहिर हात' भनेजस्तो कुर्सीबाहिर हुँदा विस्तारवाद र साम्राज्यवाद तथा कुर्सीभित्र हुँदा लम्पसारवाद हुने प्रवृत्तिले पनि नेपालीलाई ठाडो शिर गरेर हिँड्न दिएको छैन । यस परिस्थितिमा लेखकले नेपाली कम्युनिस्टलाई 'लिच्चड पुँजीवादी' भन्नु सुन्दा अपाच्य लागे पनि उपयुक्तचाहिँ हो

पुँजीवादको विकासबाट समाजवाद हुँदै साम्यवादको यात्रा मार्क्सवादको बाटो हो । समाजवाद कम्युनिस्ट पार्टीले ल्याउने हो कि पुँजीवादको विकासले ल्याउने हो भन्ने कुराचाहिँ बुझ्न नखोजिएको विषय हो आजसम्म । त्यति बुझ्न नसकेका कारण राजनीतिमा गोलमाल देखिएको छ ।

'आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रो पनि देख्ने' मनोवृत्तिबाट प्रेरित भएर यो किताब लेखिएको भए तापनि लेखले एमाले पार्टीलाई लगाएका आरोप भने स्वाभाविक छन् । यस अर्थमा उनी धन्यवादका पात्र हुन् । उनको इसारा एमालेतर्फ मात्र नभएर सम्पूर्ण कम्युनिस्ट नामधारी पार्टीप्रति सोझिएको छ । मार्क्सवादका नाममा आफ्नो दुनो सोझ्याउने प्रवृत्तिले नेपालको कम्युनिस्ट आन्दोलन निस्सासिएको छ । बोली र व्यवहारमा अलिकति पनि तालमेल नभएका नेताले जनतालाई धुरुधुरु रुवाएको साँचो हो ।

खासमा एमालेले जबजले अघि सारेअनुरूपको कार्यक्रमलाई अलिकति पनि कार्यान्वयन गरेको थियो भने आज घनेन्द्रले यो 'दु:ख' गरिदिनुपर्दैनथ्यो- आफूलाई मनै नपरेको पार्टी र दस्ताबेजमाथि यति विस्तृत 'गाली महात्म्य' लेख्न । नेपाल विकासको अर्कै चरणमा प्रवेश गर्थ्यो । पटक पटक सत्तामा पुगे पनि कम्युनिस्ट पार्टी अर्को चुनावका लागि जीत सुनिश्चित गर्न सकेको छैन । भावनाको व्यापार तथा अनेक तिकडमबाजी गरेर चुनाव जित्ने अनि सत्तामा पुगेपछि १० पुस्तालाई सम्पत्ति थुपार्ने लोभीपापीहरूले कम्युनिस्ट आन्दोलनलाई कुत्सित बनाएका छन् ।

'माछो देखे दुलोभित्र हात, सर्प देखे दुलोबाहिर हात' भनेजस्तो कुर्सीबाहिर हुँदा विस्तारवाद र साम्राज्यवाद तथा कुर्सीभित्र हुँदा लम्पसारवाद हुने प्रवृत्तिले पनि नेपालीलाई ठाडो शिर गरेर हिँड्न दिएको छैन । यस परिस्थितिमा लेखकले नेपाली कम्युनिस्टलाई 'लिच्चड पुँजीवादी' भन्नु सुन्दा अपाच्य लागे पनि उपयुक्तचाहिँ हो ।

एमाले मदनलाई कृष्ण र जबजलाई गीता बनाउने बाटोमा लागिसकेको छ । कार्यान्वयनभन्दा पनि यसको आलोचना गर्नेलाई कर्के नजर लगाउने बानी एमाले वृत्तमा मौलाउन थालेको छ । वैचारिक राजनीतिका लागि यो खतरापूर्ण कुरा हो । कार्यक्रम अनुमोदन भएको तीसौँ वर्षसम्म पनि परिवर्तनको छाँट नदेखिएपछि लेखकले जबजमाथि फरक बहस थालेका हुन् । यस बहसबाट चिढिएर होइन कि सुध्रिएर मात्र कम्युनिस्ट आन्दोलन प्रभावकारी हुन्छ भन्ने कुराचाहिँ एमालेले पनि बुझ्नु जरुरी छ ।