कांग्रेसमा भागबण्डाकाे बखेडा: 'पार्टीभित्रकै ४० प्रतिशतलाई हेपेर पार्टी कसरी पहिलो हुन्छ ?'

कांग्रेसमा भागबण्डाकाे बखेडा: 'पार्टीभित्रकै ४० प्रतिशतलाई हेपेर पार्टी कसरी पहिलो हुन्छ ?'

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २२, २०७८

गत मंसिरमा भएको नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिमा पराजित भएपछि शेखर कोइरालाले काठमाडौंमा धन्यवाद सभा आयोजना गरे । सो सभामा शेखर र उनीपक्षीय नेताहरुले चर्को स्वरमा भने– हामी पार्टीमा भागबण्डा खोज्दैनौं ।’ नेपाली कांग्रेसमा लामो समयदेखि नै भागबण्डाको राजनीति हाबी भइरहेको छ ।

यसअघि शेरबहादुर देउवा सभापति नभएका बेला उनले तत्कालीन सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग ४० प्रतिशत भागबण्डा माग गर्दैै कयौं पटक केन्द्रीय समिति बैठक बहिस्कार गर्ने गरेकाे विगत रहेकाे छ ।

कांग्रेस र कांग्रेस प्रजातान्त्रिकको एकतासँगै देउवाले ४० प्रतिशत भाग माग्दै आएका थिए । कांग्रेसको १३ औं महाधिवेशनमा तत्कालीन संस्थापन समूहबाट कृष्णप्रसाद सिटौला बाहिरिएपछि रामचन्द्र पौडेललाई हराएर देउवा सभापति बने । त्यसपछि रामचन्द्र पौडेल आफ्नो पक्षका नेताहरुका लागि भाग माग्दै आएका थिए । १४ औं महाधिवेशनमा पनि देउवा सभापतिमा निर्वाचित भए ।

यसपटक पौडेल सभापतिको उम्मेदवार बन्न नपाएको झोंकमा तटस्थ बसे भने प्रकाशमान सिंह र शेखर कोइराला पौडेल समूहबाट सभापतिको दाबेदार थिए । उनीहरु बाहेक विमलेन्द्र निधि र कल्याण गुरुङ पनि सभापतिका उम्मेदवार बने । देउवा पहिलो चरणमा सभापति बन्न नसकेपछि दोस्रो चरणमा शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा हुँदा देउवा सभापतिमा निर्वाचित भए भने कोइरालाले ४० प्रतिशत मत पाए ।

देउवालाई दोस्रो चरणमा निधि, गुरुङ र सिंहले सहयोग गरे । सभापतिका सबै उम्मेदवारले देउवालाई सहयोग गरेको र रामचन्द्र पौडेलको समेत मौन समर्थन पाएपछि देउवा सभापति बन्ने निश्चित थियो । देउवा सभापति बनेपछि कोइराला समूहले पार्टीलाई विधानअनुसार अघि बढाउन आग्रह गर्दैै आफूहरुले भागबण्डा नखोज्ने बताएको थियो । तर महाधिवेशनको एक महिना नपुग्दै कांग्रेसमा भागबण्डाको बखेडा पुनः सुरु भएको छ । 

‘सभापति पार्टीलाई पहिलो बनाउने भन्नुहुन्छ । तर पार्टीभित्रकै ४० प्रतिशतलाई हेपेर पार्टी कसरी पहिलो हुन्छ ? पार्टीलाई पहिलो बनाउने उहाँको अभियानमा हामी सहमत छौँ । तर यसरी यात्रा सफल हुँदैन । उहाँले सबैलाई साथमा लिएर जाने संकेत देखाउनु भएको छैन ।’ 

सभापति देउवाले दुई चरणमा गरेर १३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेका छन् । मनोनित हुनेमा देउवालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सघाएका र सो प्यानलबाट पराजित भएकाहरु छन् । देउवाले शेखर समूहका भने कुनै पनि नेतालाई केन्द्रीय कमिटीमा मनोनित गरेका छैनन् । शेखर प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा डा.मिनेन्द्र रिजालसहित अधिकांश पदाधिकारीका उम्मेदवार पराजित भएका थिए ।

तर देउवाले शेखर कोइराला समूहका कुनै पराजित नेतालाई केन्द्रीय कमिटीमा मनोनित नगरेपछि शेखरले सभापतिमाथि प्रश्न उठाएका छन् । समूहले देउवामाथि दबाब दिने रणनीति बनाएको देखिएको छ । देउवाले आफूहरुलाई पेलेर जान खोजे सशक्त प्रतिवादमा उत्रिने कोइराला पक्षको तयारी छ ।

बुधबार सिंहदरबार नजिकैको बसेरा होटलमा भएको छलफलमा १४ औं महाधिवेशनबाट निर्वाचित शेखर पक्षीय पदाधिकारी तथा केन्द्रीय सदस्य र प्रत्यासीहरु सहभागी थिए । उनीहरुबीच महाधिवेशनको समीक्षा र आगामी रणनीतिबारे छलफल भएको छ ।

सभापतिका प्रत्यासी शेखर कोइरालाले ४ बुँदे लिखित मन्तव्य राखेका थिए । सभापति देउवाले विधि विधानभन्दा बाहिर गएर गरेका काम रोक्न एक ढिक्का हुनुपर्ने कोइराला पक्षको अडान छ । सो समूहले सक्षम नेता कार्यकर्तालाई नियोजित रुपमा पाखा लगाउन खोजिएको भन्दै त्यसविरुद्ध आवाज उठाउने जनाएको छ । 

कोइरालाले आफ्नो खबदारीलाई बेवास्ता गरिए पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी छ । सभापति देउवाले शेखर कोइराला समूहलाई अझै साइजमा ल्याउनका लागि पेलेरै जाने नीति लिएको देखिन्छ । सोही कारण पनि कोइराला आक्रोशित बनेका हुन् । कोइरालालाई पार्टी नेताको वरीयतामा पनि पूर्वपदाधिकारीहरुभन्दा तल राखिएको छ । यसअघि सभापतिसँग पराजित भएका निकटतम प्रनिस्पर्धीलाई वरिष्ठ नेता बनाएर दोस्रो वरीयता दिने चलन थियो ।

यसअघि गिरिजाप्रसाद कोइरालाले समेत सभापतिमा आफूसँग पराजित भएका देउवालाई वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई भन्दा पछिको वरीयता दिएका थिए । तर देउवाले कोइराला समूहलाई कुनै मतलब नै नराखी निर्णयहरु गरिरहेका छन् । सोही कारण कोइराला समूह आक्रोशित भएको छ । यसअघि सो समूहले भागबण्डाको राजनीतिमा नलाग्ने बताएको थियो ।

तर कोइराला समूह आफ्नो समूहलाई उचित जिम्मेवारीको खोजीमा छ । कोइराला समूहबाहेक पदाधिकारीमा पराजित भएका १३ जना केन्द्रीय समितिमा मनोनित भएका छन् । मनोनित हुनेमा देउवालाई अप्रत्यक्ष रुपमा सहयोग गरेका रामचन्द्र पौडेल पनि छन् । 

कार्यक्रममा महामन्त्री गगन थापाले र सभापतिको बोली व्यवहारमा एकरुपता नदेखिएको बताए । पार्टीमा युवा नेताहरु महामन्त्री बनेको चर्चा भइरहेको छ । तर गगन थापाले सभापति देउवाले आफूहरुलाई महत्व नदिएको गुनासो गरे । उनले बागमती प्रदेशको मन्त्री छान्दादेखि राष्ट्रियसभाको उम्मेदवार चयन गर्दा थापासहितका पदाधिकारीसँग छलफल नगरेको र १६ जिल्लाको अधिवेशन पनि सरेको खबर सञ्चारमाध्यमबाट थाहा पाएको बताए । 

उनले भने ‘सभापति पार्टीलाई पहिलो बनाउने भन्नुहुन्छ । तर पार्टीभित्रकै ४० प्रतिशतलाई हेपेर पार्टी कसरी पहिलो हुन्छ ? पार्टीलाई पहिलो बनाउने उहाँको अभियानमा हामी सहमत छौँ । तर यसरी यात्रा सफल हुँदैन । उहाँले सबैलाई साथमा लिएर जाने संकेत देखाउनु भएको छैन ।’ 

कोइराला समूहले शेखर कोइरालाको वरीयता, केन्द्रीय सदस्यको मनोनयन, राष्ट्रियसभा उम्मेदवार छनोट र विधि विधानका विषय असन्तुष्टि राखेका थिए । 

१४ औं महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय समिति बैठकबाट विधानको उल्लंघन सुरु भएको नेताहरुले गुनासो पोखे । संघीयताको मर्म विपरीत प्रदेश समितिमा कुनै छलफल नगरी केन्द्रीय समितिले विधान विपरीत उम्मेदवार चयन गरेको नेताहरुको भनाई थियो । 

भेलामा सहभागी अधिकांश नेताहरुले भागबण्डा माग्दैनौँ भन्ने कुराको विरोध गर्दैै सभापतिले क्षमता र योग्यता भन्दा पनि आफूलाई मत दिनेलाई मात्रै अवसर दिने संकेत गरेकाले भाग माग्नुपर्ने दबाब दिएका थिए । उनीहरुले भनेका थिए, ‘भाग माग्दैनौं भन्ने कुरा नगर्नुस् । तपाईंहरुले हाम्रा लागि नबोलिदिए हामीले कसरी अवसर पाउछौं ?’ नेताहरुले पार्टीभित्रका निर्णयमा आफूहरुको उपस्थिति खोज्ने निर्णय समेत गरेका छन् । यसबाट कांग्रेसमा फेरि भागबण्डाको रडाको सुरु भएको छ ।