‘कठपुतली’ हेर्नेलाई आईफोन १२

‘कठपुतली’ हेर्नेलाई आईफोन १२

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष २२, २०७८

गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ हेर्न आउने दर्शकले आईफोन १२ उपहारका रूपमा पाउने भएका छन् । फिल्मले पहिलो सप्ताहन्तसम्म राम्रो व्यापार गरेको दाबी गर्दै निर्माण युनिटले दर्शकका लागि उपहार योजना ल्याएको हो ।

निर्माण युनिटका अनुसार फिल्म हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक संजालमा पोस्ट गर्नेहरूमध्ये गोलाप्रथाबाट एक जनालाई एप्पल कम्पनीको ‘ईइफोन १२’ प्रदान गरिनेछ ।

एक टिकट एक जनाका लागि मात्र मान्य हुने र टिकट नम्बरको आधारमा मान्यता जाँच हुने निर्माण पक्षले जनाएको छ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात् ‘पब्लिक पोस्ट’ कुनै पनि सामाजिक संजालमा राख्नुपर्ने हुन्छ ।

त्यसरी फोटो राख्दा ’क्याप्सन’मा ‘ह्यासट्याग कठपुतली ह्यासट्याग विनआईफोन’ लेख्नुपर्ने हुन्छ । ह्यासट्याग प्रयोग गरी फोटो पोस्टको सूचना फिल्म टिमले प्राप्त गर्नेछ । ‘लक्की ड्र’मार्फत आगामी १ फेब्रुअरीमा विजेता घोषणा गरी उपहार दिइनेछ ।

भीमसेन लामा निर्देशित फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ ।