बलिउडकी चर्चित गायिका आसिस काैरसँगै नाच्न पाउने भए नेपालीले

बलिउडकी चर्चित गायिका आसिस काैरसँगै नाच्न पाउने भए नेपालीले

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  पुष २३, २०७८

बलिउडकी चर्चित गायिका आसीस कौर नेपाल आएकी छन् । शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ आसिस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् ।

फेलिज इन्टरनेसनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आख लड जावे’लगायत मार्फत दर्शक नचाउनेछन् ।

नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पूरा गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सीईओ शाहिल खानले बताए । ‘विश्वमा नेपालमा कोरोना कहर नभएको सन्देश कार्यक्रमले दिनेछ’, खानले भने, ‘कौरको ‘राता लम्बिया’ गीत अहिले ब्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो ।’ 

कार्यक्रममा आसिस कौरका अलावा नेपाली गायक यावेश थापाको प्रस्तुति रहनेछ । आसिस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट छ । कौरले इन्डियन आइडल, आवाज पञ्जाब दिलगायतका विभिन्न गायन रियालिटी शोमासमेत भाग लिएकी थिइन् ।

५ वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसयता उनले बलिउडका थुप्रै फिल्मका गीतमा आफ्नो आवाज दिइसकेकी छन् । सन् २०२१ को फिल्म फेयर अवार्ड समेत उनले हात पारेकी थिइन् ।