'वैशाखमा स्थानीय चुनाव हुन्छ, कांग्रेसले कसैसँग गठबन्धन गर्दैन'

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् । 

शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य राख्दै थापाले यस्तो बताएका हुन् । 

उनले भने,  ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यस पटक त्यस्तो बन्दैन । कांग्रेसका कार्यकर्ताले अबको चुनावमा रूख चिह्नबाहेक अन्त भोट हाल्नुपर्ने अवस्था आउँदैन । म यो विश्वास दिलाउन चाहन्छु ।’

आगामी वैशाखमा स्थानीय चुनाव हुने उनले बताए । ‘वैशाखको मसान्तसम्ममा स्थानीय चुनाव हुन्छ र अर्को वर्षको मंसिरसम्ममा आमचुनाव हुन्छ । मैले बुझेको संविधान यही हो, मैले बुझेको कानुन यही हो र अदालतले संसद् पुनर्स्थापना गर्दा भनेको पनि यही हो’, उनले   भने । 

थापाले पार्टीका नेता कार्यकर्तालाई विधानअनुसार गतिविधि गर्न निर्देशन दिए ।