मदन राई ‘लामाखुले’ : खरानी पार्टीदेखि परिष्कृत सर्जकसम्म
पुष २४, २०७८

१० कक्षा पढ्दा भानु जयन्तीको दिनको 'भानु' शीर्षकको कविता प्रथम नभएको भए मदन लामाखुले के बन्नुहुन्थ्यो, त्यो रहस्यको गर्भमै रहने थियो । तर, नेपाली साहित्यलाई केही पाउनु थियो । हुनत हरेक भानु जयन्तीको दिन भानुले केही थान माला, केही खादा, केही झुन्ड कार्यक्रम र केही थान सिर्जना पाउँछन् । तर, ती सर्जक कतिन्जेल नेपाली साहित्यको सेवामा जुटिरहन्छन्, यो महत्त्वपूर्ण कुरो हो आदिकविका लागि । 

भानुले आफ्नो नाम तथा काममार्फत त्यस दिन रचनाका माध्यमबाट अपरोक्ष प्रकट भएर उत्प्रेरणाका माध्यमबाट एउटा सर्जक दिए । यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । 

राजनीतिमा लामो समय वडा अध्यक्ष भएका धनकेशर राईको कान्छो छोरो मदन लामाखुले कसरी साहित्यमा आइपुग्नुभयो, त्यसका बारेमा उहाँ नै अनभिज्ञ हुनुहुन्छ । 

तर, उहाँभित्रको साहित्यको हुटहुटीलाई त्यस दिनको कार्यक्रमले उजागर हुने मौका दियो । साहित्यिक व्यक्तित्वसँगको सत्संगले परिष्कृत बनायो । 

यसले एउटा भिन्न पारिवारिक पृष्ठभूमिबाट आउनुभएका मदन राईलाई लामाखुलेका रूपमा साहित्यको क्षेत्रमा अलग पहिचान दिलाएको छ ।

०००

उहाँको परिवारको आर्थिक अवस्था खासै राम्रो होइन । पिताजी कृषिकर्मी साथै राजनीतिमा पनि लामो समय वडा अध्यक्ष भएको अनि सामाजिक कार्यकर्ता पनि । माताजी घरधन्दामा व्यस्त । ५ दाजुभाइ, दिदीबहिनीको परिवार । कृषिबाहेक अर्को कर्म नभएको मध्यम खालकाे राई परिवार । 

७ दशक अनि जोड २ वर्षअघि उहाँको जन्म भएको थियो खोटाङ जिल्लाको साविक निर्मली डाँडा गाविस लामाखुमा । हालको भने रूपाकोट मझुवागढी नपा वडा नं.- ९ । 
लामाखु खोटाङले मदनलाई ‘लामाखुले’ बनायो । एक समय सिर्जनामा लाग्ने मानिसको विभिन्न उपनाम जोड्ने क्रममा जुरेको हो लामाखुले । 

००० 

एक पटक घरमा बाबुआमाको झगडा हुँदा उहाँ रिसले एक महिना घर छाडेर हिँड्नुभयो । धरान, भोजपुर, धनकुटा, चतरा, हतुवा हुँदै उहाँ घुम्दैघुम्दै घर पुग्नुभयो । 

यो एक महिना जहाँ रात पर्‍यो, त्यहीँ बसेर बित्यो उहाँको । कसैले सानो बच्चा देखेर मायाले खान पनि दिन्थे । घरमा ५-१० रुपैयाँ चोर्नु पनि भएको थियो । त्यसले कहिलेकाहीँ चिउरा आदि किनेर पनि खानुहुन्थ्यो । 

कहिले बास बसेको घरमा मकै, भटमास भुट्न लगाएर गोजीमा हालेर खाँदै पनि हिँड्नुहुन्थ्यो । बाटोमा कसैले 'कहाँ जान लागेको ?' भनेर सोध्यो भने 'बाउ भेट्न जान लागेको' भनिदिनुहुन्थ्यो लामाखुले । 

०००

२००७ सालमा प्रजातन्त्र आए पनि झन्डै १०-१२ वर्ष संक्रममणकालीन स्थिति रह्यो, जसका कारण २०१९ सालमा मात्र उहाँको गाउँमा स्कुल खुल्यो- महेन्द्रोदय प्रावि । 

स्कुल खुल्दा उहाँ १४ वर्षको लाठे भइसक्नुभएको थियो । पिताजी सामाजिक कार्यकर्ता पनि भएका कारण कखरा चिन्ने काम भने घरमै भएको थियो उहाँकाे  । 

१० कक्षा पढ्ने क्रममा भानु जयन्तीको उपलक्ष्यमा उहाँको 'भानु' शीर्षकको कविता प्रथम भएको थियो । हुनत फाट्टफुट्ट नलेखेको होइन, तर पुरस्कारले प्रेरणा दियो । साहित्यमा उहाँको लगाव सानैदेखि थियो ।

काठको पाटीमा अँगारले पोतेर त्यसमा खरीले लेखेर अक्षरारम्भ भएको हो उहाँको । उहाँ तमसुक पनि लेख्नुहुन्थ्यो । बाजेले तमसुक लेख्न लगाएर उहाँलाई तमसुकको अभ्यास भएको थियो । त्यस कारण उहाँ स्कुलमा भने एकै पटक ४ कक्षामा भर्ना हुनुभयो ।

स्कुलमा बस्नलाई काठको फलेकको बेञ्च थियो । आजभन्दा ६ दशकअघि उहाँ ४ कक्षामा पढ्दा विद्यार्थी पनि चारै जना थिए । स्कुल घरबाट आधा घण्टाको दूरीमा थियो । 
खोलामा पौडी खेल्न जाने, माछा मार्ने, साथीभाइसँग खेल्ने आदि गरेरै अरू सामान्य केटाकेटीको जस्तै रह्यो उहाँको बाल्यकाल पनि । घरमा बस्तुभाउ भएका हुनाले गोठालो जाने, घाँसपात गर्ने काम पनि नियमित भए उहाँको बाल्यकालमा । 

०००

प्रावि भएका कारण उहाँ ५ कक्षापछि भने साकेला गाविसमा जानुभयो पढ्न । उहाँको घरबाट साकेला एक दिनको पैदल दूरीमा थियो । दिदीको घर साकेलामै थियो । त्यसैले उहाँ दिदीको घरमा नै बसेर पढ्न थाल्नुभयो साकेला निमाविमा । स्कुल सोल्जर बोर्डले चलाएको थियो । 

सोल्जर बोर्डमा भारतीय सेनामा भर्ना हुनेको कोष हुन्थ्यो, त्यही कोषबाट चलेको थियो विद्यालय । उहाँको निमावि तह सकियो त्यस विद्यालयमा । स्कुल पंचायत व्यवस्था अगाडि नै संचालनमा आएको थियो २०१५ सालमा । ७ कक्षामा ७ जनामा एकाध छात्रा पनि थिए । 

मावि तहका लागि उहाँ भोजपुरको विद्योदय माविमा जानुभयो । टाढा भएको हुनाले डेरामा बस्नुपर्थ्यो । डेरामा बस्न सामलतुमल, लत्ताकपडा सबै बोकेर जानुपर्थ्यो । 

०००

भर्ना निःशुल्क थियो कि ! लामाखुले सम्झिनुहुन्छ । मासिक भने ४-५ रुपैयाँ तिरेझैँ लाग्छ उहाँलाई । कक्षामा झन्डै ५० जना हुन्थे । छात्राहरू पनि १० जनाजति हुन्थे ।  
उहाँ पढाइमा फेल पनि नहुने र उत्कृष्ट पनि होइन । सामान्य । बसाइ पनि बीचतिर नै । शुक्रबार आधा दिनको छुट्टीपछि कक्षाकोठा गोबर-माटोले लिप्नुपर्थ्यो । 

वक्तृत्वकला तथा हाजिरी जबाफ प्रतियोगिता हुन्थ्यो अतिरिक्त क्रियाकलापअन्तर्गत । उहाँ अलिक अग्लो मान्छे, भलिबल भने खुब खेल्नुहुन्थ्यो । उहाँले ९ कक्षासम्म मात्र पढ्नुभयो विद्योदयमा । 

१० कक्षा पढ्न भने उहाँ धरान झरेर पब्लिक हाई स्कुलमा भर्ना हुनुभयो । 

उहाँले २०२४ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याचमा झन्डै ८० जनाजति थिए । ४० जनाजति पास भए । उहाँ पनि तेस्रो श्रेणीमा पास हुनुभयो । 

०००

महेन्द्र कलेजमा आईए पढ्न थाल्नुभयो, अहिलेको महेन्द्र बहुमुखी क्याम्पसमा । त्यस बेला राजनीतिको रङ पनि अलिक चढेको थियो उहाँलाई । उहाँ वामपन्थी राजनीतिमा विश्वास राख्ने अर्थात् 'खरानी पार्टी ।'

त्यतिखेर धरानमा वामपन्थीलाई 'खरानी' र प्रजातान्त्रिकलाई 'गोबर' पार्टी भनिन्थ्यो । उहाँलाई ती शब्द त्यहीँका स्थानीय उत्पादन जस्तो लाग्छ । अन्यत्र यस्तो भनेको सुनिएको थिएन । उहाँ कलेजको विद्यार्थी युनियनको प्रचार कमिटीको सचिवसमेत हुनुहुन्थ्यो । 

खरानी भनेको अलिक सुक्खा भएर गरिबको पार्टी अनि गोबर अलिक मलिलो भएर धनीको पार्टी बुझाउन यसो भनिएको जस्तो लाग्छ उहाँलाई । त्यस बेला स्ववियु दर्ता थिएन । विद्यार्थी युनियन कलेजमा सीमित थियो । 

०००
त्यसबेला १६० जना थिए आईएको जाँच दिने । जम्मा ७ जना मात्र पास भए । उहाँ पनि बहुमत अर्थात् १५३ जनामा पर्नुभयो । २ वर्षपछि मात्र बल्ल ७ जनामा मिसिन आइपुग्नुभयो । 

यी २ वर्षमा उहाँ आफूले पढेको महेन्द्रोदय प्राविमा पढाउन थाल्नुभयो, स्वयंसेवकका रूपमा- करिब ७ महिना । खरानी पार्टीमा काम गरेकाले नानीहरूलाई पनि खरानी बनाउनुपर्छ भनेर उहाँ प्रशिक्षण दिन पो थाल्नुभयो !

यसै बीचमा उहाँ सोलुखुम्बू घुम्न जानुभएको थियो । उहाँ उतै सोलुखुम्बूतिर नै पढाउन पो लाग्नुभयो । सोलुखुम्बूमा शिक्षकभन्दा पाका विद्यार्थी । 

कक्षामा शिक्षक २० वर्षको तर विद्यार्थी भने २५ वर्षका । विद्यार्थीले शिक्षकलाई हेप्ने । शिक्षक र विद्यार्थीको द्वन्द्व हुने । त्यस कारण धेरै शिक्षकले छाडेर हिँडेका रहेछन् । १२ जना शिक्षकमा ८ जनाले छाडेर हिँडेछन् । 

ज्ञानेन्द्रबहादुर कार्की प्रधानाध्यापक हुनुहुन्थ्यो । कुराकानीको सन्दर्भमा शिक्षक खाली भएको कुरो भएपछि करिब ४ महिना शिक्षक हुनुभयो । 

मासिक उहाँले अन्दाजी १५० रुपैयाँ पाउनुहुन्थ्यो । रिजल्ट हुने समय भएपछि उहाँ फर्केर आउनुभयो । तर, नाम नआएपछि यहीबीचमा दिक्तेलको सरस्वती माविमा पनि उहाँले करिब ४ महिना पढाउनुभयो । 

उहाँले बीए भर्ना त गर्नुभयो तर त्यसपछि टिम्बर कर्पोरेसनको ठेक्कापट्टामा लागेपछि भने पढाइले निरन्तरता पाएन । अरू व्यवसायतिर लाग्नुभयो धरानमा र बसाइ पनि धरानतिर भयो । घर बनाउनुभयो । 

धरानमा उहाँले आन्दोलनको नेतृत्व गर्नुभयो । २०४६ सालको आन्दोलनका क्रममा वारेन्ट भएपछि उहाँ भागेर काठमाडौं आइपुग्नुभएको हो । २०४६ सालदेखि भने उहाँ निरन्तर काठमाडौंमा नै बसोबास गर्दै आउनुभएको छ ।  

काठमाडौंमा रहँदा बस्दा उहाँले शताब्दी नामक बोर्डिङ स्कुल पनि चलाउनुभयो । पछि भने स्कुल साझेदारलाई छाडिदिनुभयो । 

०००

बुबाआमाले नातिनातिना चाँडै हुनुपर्छ भनेर उहाँको विवाह १३ वर्षको उमेरमै भयो, स्कुल जानु अगाडि नै । उहाँका एक छोरा तथा ३ छोरी हुनुहुन्छ । 
छोरीहरू विवाहपछि सबै विदेशमा हुनुहुन्छ । छोरा आफ्नो व्यवसायमा हुनुहुन्छ । 

०००

धरानबाट विराटनगर, जोगबनी, रक्सौल हुँदै भारी बोक्ने ट्रकमा चढेर बाइरोडको बाटो हुँदै पहिलो पटक २०२८ सालमा काठमाडौं आउनुभएको हो  मदन । 

जोगबनीबाट २-३ रुपैयाँ तिरेजस्तो लाग्छ रक्सौलसम्मको । त्यस्तै ४-५ रुपैयाँ जस्तो लाग्छ काठमाडौंसम्म उहाँले तिरेको । काठमाडौंमा कहाँ झरियो भन्ने हेक्काचाहिँ त्यति रहेन उहाँलाई । 

०००

१० कक्षा पढ्ने क्रममा भानु जयन्तीको उपलक्ष्यमा उहाँको 'भानु' शीर्षकको कविता प्रथम भएको थियो । हुनत फाट्टफुट्ट नलेखेको होइन, तर पुरस्कारले प्रेरणा दियो । साहित्यमा उहाँको लगाव सानैदेखि थियो । धरानबाट प्रकाशन हुने साप्ताहिकमा उहाँका रचना प्रकाशन हुन्थे । काठमाडौं आएपछि भने साहित्यनुरागी साथीहरूसँगको भेटले साहित्यमा सक्रियता बढ्यो उहाँको । 

भवानी घिमिरेले चलाउने 'प्रकाश'मा उहाँको नियमितजसो संस्मरण छापिन्थ्यो । कलेजको मुखपत्रमा उहाँको पहिलो रचना प्रकाशन भएको हो । नाम भने अहिले उहाँलाई हेक्का रहेन ।

'मधुपर्क'मा पनि उहाँका थुप्रै रचना प्रकाशन भएका छन् । 'समष्टि', 'मिर्मिरे', 'गोरखापत्र'मा पनि उहाँका रचना प्रकाशन भएका छन् ।  उहाँको रुचि भने कविता तथा नियात्रामा छ । नियात्राका उहाँका २ वटा संग्रह प्रकाशित छन् भने ३ वटा कवितासंग्रह । 

उहाँ सारांश नेपालको अध्यक्ष पनि हुनुहुन्छ । अरू थुप्रै संघसंस्थामा संलग्न हुनुहुन्छ भने सम्मानित पनि हुनुभएको छ ।