नागार्जुनको अध्यक्षमा दिल पौडेल, अधिवेशनमा तीन लोकतान्त्रिक स्रष्टालाई सम्मान

नागार्जुनको अध्यक्षमा दिल पौडेल,  अधिवेशनमा तीन लोकतान्त्रिक स्रष्टालाई सम्मान

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष २४, २०७८

काठमाडौँ । नागार्जुन साहित्यिक प्रतिष्ठानको आज सम्पन्न १२ औँ अधिवेशनले साहित्यकार दिल पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । सिन्धुली निवासी पौडेल हाइकु, तान्का, कविता आदि विधामा सक्रिय हुनुहुन्छ । 

सो प्रतिष्ठानको २१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित अधिवेशनमा अधिवेशनमा सर्वसम्मतरुपमा केन्द्रीय कार्यसमिति चयन गरेको हो । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा माधव निर्दोष, उपाध्यक्षमा यशोदा अधिकारी, महासचिवमा युवराज काफ्ले ‘नास्तिक’, सचिवमा माधव घिमिरे ‘अटल’, र कोषाध्यक्षमा शिवहरि पाण्डे रहनुभएको छ । कार्यसमितिको सदस्यहरूमा एक सदस्य पछि थप्ने गरी देवकुमारी लुइँटेल, रामदेव पाण्डे, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, दिल श्रीष, गङ्गा खतिवडा, प्रकाश कोइराला, गोविन्दराज सिवाकोटी, विष्णुकुमारी सुवेदी र अनिमाकुमारी पौडेल निर्वाचित हुनुभएको छ । प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रकाश सिलवालले पौडेललाई कार्यभार हस्तान्तरण गर्नुभयो ।

सभामा निर्वाचनका लागि साहित्यकार डा. रमेश शुभेच्छुक संयोजकत्वमा चेतनाथ धमला र कृष्ण तामाङ सदस्य रहेको समिति बनाइएको थियो । बन्द सत्रमा समसामयिक साहित्यिक प्रस्ताव लेखन समितिका संयोजक डा हरि सिलवालले  पेस गर्नुभएका १९ बुँदे साहित्यिक रूपान्तरण र अभियानसँग सम्बन्धित बुँदाहरूलाई पारित गरिएको थियो । सभामा निवर्तमान महासचिव माधव निर्दोषको साङ्गठनिक प्रतिवेदन र निवर्तमान कार्यवाहक कोषाध्यक्ष शिवहरि पाण्डेको आर्थिक प्रतिवेदन र अध्यक्ष सिलवालाको विधान संशोधन प्रस्ताव छलफलसहित पारित गरेको थियो । 

तीन लोकतान्त्रिक स्रष्टालाई सम्मान 

कार्यक्रममा प्रतिष्ठानले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा योगदान दिने तीन साहित्यकारलाई यस वर्षको स्रष्टा सम्मान प्रदान गरेको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रप्रसाद उपतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यपत्रमा साहित्यकारहरु वासुदेव अधिकारी र डा. बेन्जु शर्मा र मातृका पोखरेललाई सम्मान प्रदान गरियो । उहाँहरूले आफ्ना साहित्यिक विधाका साथै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको शान्तिपूर्ण आन्दोलनमा अगुवाइपूर्ण भूमिका निर्वाह गरेर दिनुभएको योगदानको मूल्याङ्कन गर्दै सो सम्मान दिन लागिएको जनाइएको छ । कुलपति उप्रेतीले राज्यले साहित्य क्षेत्रलाई पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रका साहित्यिक संस्थाहरूसँग पनि सहकार्य गरिने बताउनुभयो । 

सो प्रतिष्ठानका सल्लाहकार एवं प्रज्ञा डा. देवी नेपालका संयोजकत्वमा गठित चयन समितिको सिफारिसलाई अनुमोदन गरिएको थियो । यसअघि सो संस्थाले  लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चका तत्कालीन अध्यक्ष मण्डलका सदस्यहरू वैरागी काइँला, निनु चापागाईँ, आनन्ददेव भट्ट, डा. तुलसीप्रसाद भट्टराईलाई सम्मान गरेको थियो ।

 कार्यक्रममा नागार्जुनका सल्लाहकार प्रा डा रामप्रसाद ज्ञवालीले इतिहासको खास खाल खण्डमा नागार्जुनले उल्लेखनीय भूमिका निर्वाह गरेकाले यसलाई बचाएर लाग्न आग्रह गर्नुभयो । अर्का सल्लाहकार डा देवी नेपालले सम्मानित स्रष्टाहरूले लोकतान्त्रिक साहित्यिक आन्दोलन र लेखनीमा दिनुभएको योगदानको चर्चा गर्नुभएको थियो । प्रतिष्ठानका संस्थापक अध्यक्ष वैरागी जेठा, पूर्व अध्यक्ष रोजन राई, पूर्व उपाध्यक्ष गङ्गा कर्माचार्य, प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष सुशीला प्रधानाङ्ग, कवि भारद्वाज मित्र, प्रेमराज सिलवाललगायतले साहित्यिक संस्थाहरूका चुनौती र भावी दिशाबारे सुझाव दिनुभएको थियो ।