संक्रमितको ग्राफ ह्वात्तै बढ्दो, दलहरुका भेला र माहाधिवेशनमा छैन कतै सतर्कता

संक्रमितको ग्राफ ह्वात्तै बढ्दो, दलहरुका भेला र माहाधिवेशनमा छैन कतै सतर्कता

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २५, २०७८

पछिल्लो एक सातामा कोरोना संक्रमितको ग्राफा ह्वात्तै बढेको छ । १८ पुसमा २१६ जना कोरोना संक्रमित पाइएकोमा २४ पुसमा यो संख्या बढेर ९४४ पुगेको छ । २३ पुसमा ९६८ जना र ४७८ जना संक्रमित भेटिएका थिए । कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढेपछि फेरि पनि कोरोना नियन्त्रणका लागि प्रतिबन्धात्मक नियमहरु लगाउने तयारी सुरु भइसकेको छ ।

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने झण्डै ८ लाख ३२ हजार संक्रमित भइसकेका छन् । यो तथ्यांक कोरोना परीक्षण गर्नेहरुको हो। परीक्षण हुन नपाएका अन्य हजारौंमा कोरोना संक्रमण भएको विश्वास गरिन्छ । कोरोना संक्रमणको पहिलो लहरमा त्रास धेरै भयो । तर पहिलोमा भन्दा दोस्रो लहरमा धेरै मानिस संक्रमित भए र धेरैले ज्यान गुमाए ।

दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले यतिबेला विश्वका धेरै देशमा संक्रमणदर ह्वात्तै बढाएको छ । अमेरिकामा दैनिक साढे ८ लाखभन्दा बढी, फ्रान्समा दैनिक करिब साढे ३ लाख र बेलायत तथा भारतमा दैनिक ढेडलाख संक्रमित फेला पर्न थालेका छन् । जसका कारण भिडभाड नियन्त्रणका उपायहरु सुरु गरिसकेका छन् । नेपालमा भने कोरोना संक्रमणको तीव्रतालाई ख्याल नगरी भइरहेका राजनीतिक गतिविधि घातकसिद्ध हुने देखिएको छ । 

गत वर्ष कोरोना भाइरसको डेल्टा भेरियन्टको फैलावट सुरु हुँदै गर्दा भारतमा आयोजना भएको कुम्भमेला तथा खुला राजनीतिक गतिविधिले ठूलो असर पार्न सुरु भइसकेको थियो । त्यसै समयमा नेपालमा ५ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिए । त्यसको विरोधमा तत्कालीन नेकपाकै प्रचण्ड–माधव नेपाल समूहले विरोधसभाहरु सुरु गर्‍यो ।

यसअघि भएका दुई वटा लकडाउनले देशको अर्थतन्त्र र जनजीवनमा ठूलो क्षति गरेको छ । हजारौंले रोजगारी गुमाउँदा उनीहरुको हातमुख जोर्ने जोहो हुन सकेन । स्वदेश फर्किन सीमानामा कामका लागि भारत गएकाहरुको लर्को, गाउँ फर्किन सहर पसेकाहरुको हतारो, लकडाउनका कारण भोको पेट हप्तौसम्म पैदल यात्रा गरेर थातथलो फर्किनेको लस्करले न यि राजनीतिक दलहरुलाई छोयो न त सरकारलाई नै ।

ती विरोधसभाहरुमा हजारौंले सहभागिता जनाए । प्रतिनिधिसभा विघटनको विरोधमा जुलुसहरु सुरु भएपछि त्यसको प्रतिउत्तरमा केपी ओली समूहले सत्तामै बसेर झनै गैरजिम्मेवारपूर्वक प्रतिनिधिसभा विघटनको पक्षमा जुलुस र सभाहरु निकाल्न थाले । देशका विभिन्न स्थानमा सभा र जुलुस गर्न राजनीतिक दलहरुबीच प्रतिस्पर्धा नै चल्यो । जसको फलस्वरुप लाखौं मानिस कोरोना संक्रमित बन्न पुगे भने हजारौंले ज्यान गुमाए । देशले दोस्रो पटक लकडाउनको सामना गर्नुपर्‍यो ।

यतिबेला ओमिक्रोन भेरियन्टले अर्को सुनामीको संकेत गरिरहेको छ । शुक्रबारमात्रै २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । योसँगै नेपालमा ओमिक्रोन पुष्टि हुनेको संख्या २७ पुगेको छ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएसँगै रोजगारीका लागि भारत गएकाहरु फेरि नेपाल भित्रिने क्रम बढेको छ । नेपालमा भने कोभिड फैलिन नदिन आवश्यक सतर्कता अपनाउने बेला राजनीतिक दलहरु कोभिडको सबैभन्दा प्रसारक बनेका छन् । 

माओवादी महाधिवेशनमा संक्रमणको ओइरो

नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन आठ दिन लगाएर एक साताअघि सम्पन्न भएको छ । माओवादी केन्द्रको महाधिवेशनमा सहभागीहरुमध्ये धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रियसभाका सांसद समेत रहेका माओवादीका जेष्ठ केन्द्रीय सदस्य दिननाथ शर्मासहितका नेताहरु कोरोना संक्रमित भएका छन् ।

महाधिवेशनबाट फेरि अध्यक्षमा निर्वाचित भएका प्रचण्डलाई बधाई दिन गएका अधिकांशमा कोरोना देखिएको छ । महाधिवेशनमा सहभागीहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि केन्द्रीय समिति बैठकसहित पार्टीका गतिविधि ठप्प बनेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय सिल गरेको भोलिपल्टै अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लसहित प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिन गएका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष सरल सहयात्रीसहितलाई कोरोना पुष्टि भइसकेको छ ।

महाधिवेशनमा सहभागी भएका नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्याय, अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह पनि कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमित हुने माओवादी केन्द्रका नेताहरुको संख्या अझै बढिरहेको छ । माओवादीका महाधिवेशनमा सहभागी धेरैजसोमा समान समस्या देखिनुले त्यहीबाट कोरोना फैलिएको देखिएको छ । 

देउवा आइसोलेसनमा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग केही दिनअघि मात्रै भेट गरेका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि कोभिड–१९ को कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । उनी शनिबारदेखि आइसोलेशनमा बसेका छन् । दुई दिनअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्ड भेट भएका थिए । सो बैठकमा सत्तारुढ गठबन्धनका नेताहरु सहभागी थिए । उनीहरु सबैजना कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । तर संक्रमणको लक्षण नदेखिएका नेताहरु शनिबारसम्मै विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । शनिबार बिहानमात्रै प्रधानमन्त्री देउवाले विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा पुगेर एक घन्टा वार्ता गरेका थिए । देउवा र ओली भेटघाटका साथै बाहिर पनि सँगै देखिएका थिए । 

एमालेका सम्मेलनमा छैन सतर्कता

संसदको सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले महामारीप्रति सबैभन्दा बढी असंवेदनशील देखिएको छ । कोरोना संक्रमणको लहर तीव्र बनिरहेका बेला एमाले भने जिल्ला अधिवेशनमा केन्द्रित छ । एमालेले यस्ता कार्यक्रममा हजारौंलाई उतार्ने गरेको छ । यसरी सार्वजनिक कार्यक्रममा जानेमध्ये धेरैले मास्क नलगाएको, स्यानीटाइजर प्रयोग नगरेको, भौतिक दुरी जस्ता स्वास्थ्यका मापदण्ड पालना नगरेको देखिन्छ । एमालेले सार्वजनिक रुपमा नै विभिन्न जिल्लाका अधिवेशनमा घोषणा गरेरै मान्छेहरु सडकमा उतारेको थियो ।

अघिल्लो लहरमा पनि तत्कालीन नेकपाका दुवै समूहका गतिविधि कोरोना फैलाउन जिम्मेवार थिए । यसपटक पनि राजनीतिक दलका यस्ता क्रियाकलापले फेरि संक्रमणको त्रास बढाएको छ । एमाले लगाएताका दलहरु जिल्ला सम्मेलनहरुमात्रै होइन देशका विभिन्न स्थानमा  पार्टीहरुका ठूलाठूला कार्यक्रमहरु रोकिएका छैनन् । यस्ता कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीसहित शीर्ष नेता र केन्द्रीय समितिका नेताहरु सहभागी हुने गरेका छन् । 

महामारीको समयमा यस्ता कार्यक्रम गर्न रोक्नेतर्फ दलहरुको ध्यान गएको देखिदैन । एमालेमात्रै होइन कांग्रेस पनि जिल्ला अधिवेशनहरु गर्न तम्सिइरहेको छ भने अन्य दलहरुले पनि आफ्ना सार्वजनिक कार्यक्रमहरुमा कुनै बन्देज लगाएका छैनन् । भीडभाड हुने ठाउँमा आवश्यक सतर्कता अपनाउने स्वास्थ्य मन्त्रालयले तयारी गरिरहेको छ । तर सरकारले सुरुमै यस्ता फजुल कार्यक्रममाथि रोक नलगाउँदा कोरोनाको अर्को सुनामी आउने खतरा मडारिएको छ । 

यसअघि भएका दुई वटा लकडाउनले देशको अर्थतन्त्र र जनजीवनमा ठूलो क्षति गरेको छ । हजारौंले रोजगारी गुमाउँदा उनीहरुको हातमुख जोर्ने जोहो हुन सकेन । स्वदेश फर्किन सीमानामा कामका लागि भारत गएकाहरुको लर्को, गाउँ फर्किन सहर पसेकाहरुको हतारो, लकडाउनका कारण भोको पेट हप्तौसम्म पैदल यात्रा गरेर थातथलो फर्किनेको लस्करले न यि राजनीतिक दलहरुलाई छोयो न त सरकारलाई नै । यसपटक पनि पुरानै दुर्दशा खेप्नुपर्ने भय जनतामा भने सुरु भइसकेको छ । सरकार र राजनीतिक दलहरुका यस्ता क्रियाकलाप गरिब र मजदुरी गरेर छाक टार्ने जनताका लागि भारी पर्ने खतराबारे अहिल्यै सोच्ने बेला भएको छ ।