लुम्बिनीका सात जिल्ला : एमालेको सर्वसम्मत नेतृत्व

लुम्बिनीका सात जिल्ला : एमालेको सर्वसम्मत नेतृत्व

न्युज कारखाना  |  समाचार  |  पुष २५, २०७८

 

रुपन्देही । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ । प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुंगिएको हो । दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनावमार्फत नेतृत्व चयन गरिएको छ भने प्यूठानमा आइतबार नेतृत्व चयन हुने छ ।

एमाले रुपन्देहीको नवौं जिल्ला अधिबेशनबाट तेजेन्द्र केसी अध्यक्ष पदमा निर्विरोध निर्वाचित  भएका छन् । यसअघि क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक रहेका केसी नेकपा हुँदा जिल्ला सहसंयोजक थिए । अध्यक्षमा दावी गरेका पुरुषोत्तम घिमिरेले शनिबार राति अवेर केसीकै नाममा सहमति जनाएपछि नेतृत्व सर्वसम्मत टुंगिएको हो । त्यस्तै उपाध्यक्षमा जगेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैह्रे र उपसचिवद्वयमा चित्र बहादुर कार्की र हितराज पन्थी पनि सर्वसम्मत चुनिएका छन् । 

नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन् । शनिबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुन चयन भएका छन् । यसअघि उपाध्यक्ष रहेका बस्नेत सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।  

त्यस्तै एमाले पाल्पाको जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा तथा सुनिता शर्मा चयन भएका छन् । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन् । नवौँ जिल्ला अधिबेशनमा सहमति नजुटे पछि भएको निर्वाचनमा शर्मा २३८ मत सहित विजयी भएका हुन् ।