अनुकूल कर्म गरिरहे भाग्य पनि बदलिन्छ

अनुकूल कर्म गरिरहे भाग्य पनि बदलिन्छ

लक्ष्मण ओझा  |  दृष्टिकोण  |  बैशाख ३१, २०७६

कर्म ठूलो कि भाग्य ? यसबारे हरेकका आ–आफ्नै मत छन् । कोही कर्मलाई श्रेष्ठ मान्छन् भने कोही भाग्यलाई बलवान । 

यसबारे एक कथा छ । कुनै समयमा जंगलको बीचभागमा रहेको नदीको स्वामित्वबारे दुई राज्यबीच विवाद उत्पन्न भयो । अन्ततः त्यो विवाद युद्ध हुने अवस्थामा पुग्यो । दुवै राज्यले युद्धको घोषणा गरे । 

भाग्य फलामजस्तै समान हुन्छ, जहाँ कर्मको चुम्बक छ, भाग्य त्यही आकर्षित     हुन्छ । भाग्य हाम्रो कर्मको परिणाम हो । अनुकूल कर्म गरेर भाग्य बदलिन सकिन्छ । तर, भाग्यको भरोसामा रहेर कर्म नगर्नु पराजय, तनाव र दुःख निम्त्याउनु हो ।

युद्ध सुरु हुनुअघि दुवै राजा एक सन्तकहाँ युद्धको भविष्यवाणी बुझ्न गए । 

पहिलो राजासँग भेटेपछि सन्तले भने, ‘तपाईंको भाग्यमा जित देखिँदैन । बाँकी भगवानको इच्छा...!’

सन्तको कुराले राजा चिन्तित भए । तर, उनले धैर्यता गुमाएनन् । उनले निश्कर्ष निकाले– भाग्यमा हार भए पनि कर्म छाड्नुहुँदैन । त्यसकारण युद्धमा पूरै ताकत लगाउनुपर्छ । 

केही समयपछि दोस्रो राजा पनि त्यही सन्तकहाँ पुगे । सन्तले उनी आउनुको कारण थाहा पाए । र, भने, ‘अहिले भाग्य तपाईंको पक्षमा छ । । बाँकी भगवानको इच्छा...!’

सन्तको कुराले राजा खुसी हुँदै आफ्नो राज्य फर्किए । र, युद्ध जितेझैं गरी उत्सव मनाउन थाले । युद्ध रणनीति बनाउने जिम्मा पनि सेनापतिलाई नै दिए । 

केही समयपछि युद्ध सुरु भयो । युद्ध सुरु भएको केही दिनमै पहिलो राजाले दोस्रो राजालाई नियन्त्रणमा लिए । 

युद्ध सकियो । सन्त पनि युद्धभूमि पुगे । सन्तलाई देख्नेबित्तिकै दुवै राजाले प्रश्न गरे– गुरु, आखिर भाग्यमा लेखेको कसरी बदलियो ? 

सन्तले मुस्कुराउँदै भने, ‘हे राजन, भाग्य बदलिएको होइन, तपाईंहरू बदलिनुभएको हो । भाग्य त स्थिर छ ।’

सन्तले पहिलो राजाप्रति इसारा गर्दै भने, ‘तपाईंले सम्भावित हारबारे जानेर पनि युद्धका लागि दिनरात मेहनत गर्नुभयो । युद्धको तयारीमा आफै अग्रसर हुनुभयो । र, सफलता पाउनुभयो ।’

सन्तले हार्ने राजाप्रति इसारा गर्दै भने, ‘हे राजन, तपाईंले युद्ध जित्नुअघि नै जितको उत्सव मनाउन थाल्नुभयो । युद्धको रणनीतिबारे पनि ख्याल गर्नुभएन । त्यसैले तपाईंहरूको भाग्य बदलिएको होइन, कर्म बदलिएको हो । अब यो परिस्थितिमा भाग्यले मात्रै के गरोस् ?’

कथाले भनेजस्तै भाग्य फलामजस्तै समान हुन्छ, जहाँ कर्मको चुम्बक छ, भाग्य त्यही आकर्षित हुन्छ । भाग्य हाम्रो कर्मको परिणाम हो । अनुकूल कर्म गरेर भाग्य बदलिन सकिन्छ । तर, भाग्यको भरोसामा रहेर कर्म नगर्नु पराजय, तनाव र दुःख निम्त्याउनु हो । 

गीतामा पनि कर्मबारे सन्देश दिइएको छ । गीताको दोस्रो अध्यायको ४७ औं भागमा भगवान श्रीकृष्णले भनेका छन्–

कर्मण्येवाधिकारस्ते मा फलेसु कदाचन ।
मा कर्मफलेहेतुसमा ते सङ्गोस्तवकर्मणे ।।

अर्थात्, कर्ममा तिम्रो अधिकार त छ । तर, कर्मको फलमा तिम्रो अधिकार छैन । यसैले फलप्रति आशक्त भएबिना आफ्नो कर्म गरिरहनुपर्छ ।