पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस: पुस्तक तथा चित्रकला प्रदर्शनी सुरु

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस: पुस्तक तथा चित्रकला प्रदर्शनी सुरु

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष २६, २०७८

काठमाडौँ । ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्तरूपमा पुस्तक तथा चित्रकला प्रदर्शनी सुरु गरिएको छ । प्रज्ञा–प्रतिष्ठानको संयोजनमा पुस्तक प्रदर्शनी र ललितकला प्रज्ञा–प्रतिष्ठानको संयोजनमा चित्रकला प्रदर्शनीको आयोजना गरिएको हो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार बिहान प्रज्ञा भवन, कमलादीको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको शुभारम्भ गर्नुभयो । पुस्तक प्रदर्शनीको शुभारम्भ पश्चात बोल्दै कुलपति उप्रेतीले पाठकहरूको मागलाई सम्बोधन गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पुस्तक प्रदर्शनीको आयोजना गरिएको र यसबाट आमपाठकले पर्याप्त लाभ लिन सक्ने बताउनुभयो ।

प्रज्ञा भवनको भानुभक्त कक्षमा सुरु भएको पुस्तक प्रदर्शनीमा तीनओटै प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न विधाका महत्त्वपूर्ण पुस्तकहरू उपलब्ध छन् । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । पुस्तक प्रदर्शनी १५ दिनसम्म चल्नेछ । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्यहरूका साथै सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी र महाप्रवन्धक अशोकप्यासी राईको उपस्थिति रहेको थियो । 

यसै गरी आइतबार नै अपरान्ह नक्सालको बालमन्दिरस्थित अरनिको प्रदर्शनी स्थलमा कुलपति उप्रेती र ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (के.के.) कर्माचार्यले संयुक्तरूपमा चित्रकला प्रदर्शनीको शुभारम्भ गर्नुभएको थियो । चित्रकला प्रदर्शनीमा १३४ जना कलाकारका विभिन्न कलाकृतिहरू राखिएका छन् । चित्रकला प्रदर्शनी माघ १ गतेसम्म चल्नेछ । चित्रकला प्रदर्शनीको संयोजन ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य सुष्मा राजभण्डारीले गर्नुभएको हो । 

ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार (के.के.) कर्माचार्यको सभापतित्वमा सम्पन्न चित्रकला शुभारम्भ कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले धन्यवाद व्यक्त गर्नुभएको थियो भने सदस्य सचिव विपिनकुमार घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । प्राज्ञ परिषद् सदस्य रमेश खनालले प्रदर्शनीमा राखिएका चित्रकलाका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. उपाध्याय, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू प्रा.डा. हेमनाथ पौडेल, लक्ष्मी माली, डा. देवी नेपाल,  सङ्गीत नाट्यका सदस्य सचिव श्यामप्रकाश तमोट, ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरूका साथै सांस्कृतिक संस्थानका अध्यक्ष तथा महाप्रवन्धकको उपस्थिति रहेको थियो ।