प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट आजबाट, पहिलो दिन चार खेल

प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट आजबाट, पहिलो दिन चार खेल

न्युज कारखाना  |  खेलकुद  |  पुष २६, २०७८

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आज सोमबारबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित टियु मैदान र मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एकै दिन ४ खेल आयोजना हुनेछन् । 

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी-२० फर्म्याटमा आयोजना गरेको हो । नेपाली टोलीले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल्ने भएसँगै प्रतियोगिता टी–२० आयाेजना गरिएको हो । 

टियु मैदानमा बिहान साढे ९ बजे हुने उद्घाटन खेलमा  त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । टियुमै सवा १ बजे हुने दोस्रो खेलमा एपीएफ र प्रदेश २ खेल्नेछन् । 

मुलपानीमा बिहान साढे ९ बजे हुने खेलमा नेपाल पुलिस र सुदूरपश्चिम तथा दिउँसो सवा १ बजे सुरु हुने खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 

माघ ५ सम्म चल्ने प्रतियोगितामा  १० टोलीले सहभागीता रहनेछ । जसलाई २ समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए ’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर एक छन् । समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश नम्बर दुई, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।

दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश पाउनेछन् ।