शहीद स्मारक लिग : पुलिस र बीबीसीले अंक बाँडे

शहीद स्मारक लिग : पुलिस र बीबीसीले अंक बाँडे

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २६, २०७८

नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले शहीद स्मारक ए डिभिजन लिगमा १-१ को बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न आठौँ चरणको अन्तिम खेलमा अंक बाँडेसँगै दुवै टोलीको तालिकामा स्थान सुधार गर्ने लक्ष्यले पूर्णता पाएन । 

खेलको दोस्रो मिनेटमै रोशन रानामगरको गोलमा ब्रिगेड ब्वाइजले अग्रता लिएको थियो । शिशिर लेखीको प्रहार पुलिसका गोलकिपर शत्रुघनकुमार चौधरीले पञ्च गर्दा रिबाउन्डमा प्राप्त बललाई रोशनले जाली चुमाएका थिए । तर, ब्रिगेड ब्वाइजले आफ्नो अग्रता लामो समय टिकाउन सकेन । त्यसको २ मिनेटपछि नै पुलिस खेलमा फर्कियो । रक्षक बुद्ध तामाङको फ्री किक गोलमा पुलिस खेलमा फर्किएको थियो ।

पुलिस ८ खेलमा ७ अंकसहित ११औँ स्थानमा छ भने ब्रिगेड ब्वाइज क्लब समान खेलमा ६ अंक बटुल्दै १२औँ स्थानमा छ । बाँकी समय दुवै टोलीले केही गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । 

१३औँ मिनेटमा रुडी जोनाथन एमबाकोपको फ्रिकक बाहिरिँदा ब्रिगेड ब्वाइजले अग्रता दिने अवसर गुमायो । २५औँ मिनेटमा नीरकुमार राईको कर्नरमा सन्तोष हेमरनले गरेको हेडर गोल पोस्टभन्दा माथिबाट बाहिरदाँ पुलिसले अग्रता दिने अवसर खेर फाल्यो । त्यसको ५ मिनेटपछि नीरकुमारको प्रहार क्रसबारमा लागेर फर्कदा पुलिसले गोलको सनौलो अवसर गुमायो । 

५२औँ मिनेटमा पुलिसका रवि पासवानले गरेको प्रहार गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो । ५५औँ मिनेटमा ब्रिगेड ब्वाइजका विपीन बस्नेतले गरेको प्रहार बाहिरियो । ७६औँ मिनेटमा रुडी जोनाथनको प्रहार क्रसबारमा लागेर फर्किँदा ब्रिगेड ब्वाइजले अग्रता लिने अवसर गुमायो ।

यससँगै आठौँ चरणको समाप्ति भएको छ । मछिन्द्र शीर्ष स्थानमा छ  ।