पीएम कप राष्ट्रिय टी- २०: एपीएफको विजयी सुरूवात

पीएम कप राष्ट्रिय टी- २०: एपीएफको विजयी सुरूवात

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २६, २०७८

ओपनर ब्याटर प्रदीप ऐरी र आशिफ शेखले १२० रनको साझेदारी गरेको खेलमा विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय टी- २० प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

सोमबार सुरु भएको प्रतियोगिताको तेस्रो खेलमा जीतका लागि १६४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमा समेटिएपछि एपीएफले २४ रनको जीत पाएको हो । 

प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ३६ रन बनाए । यस्तै, मोहम्मद आदिल अलामले ३५ रन बनाउँदा सुरज पटेलले १५ तथा विवेक यादवले १३ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

एपीएफका कमलसिंह ऐरी, अभिनास बोहरा र भुवन कार्कीले २-२ विकेट लिँदा किशोर महतो र शरद भेषवाकरले समान एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफका लागि प्रदीप ऐरी र आशिफले १२० रनको साझेदारी गरेपछि एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनायो । आशिफले ६३ रन र प्रदीपले ६० रन बनाए । सन्दीप जोराले १७ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

प्रदेश २ का रूपेश सिंहले सर्वाधिक ४ विकेट लिँदा विवेक यादवले १ विकेट लिए । जीतसँगै समूह 'बी'मा एपीएफले महत्त्वपूर्ण २ अंक जोडेको छ ।