‘पुष्पा’ हिट भएपछि अभिनेत्री रश्मिकाको पारिश्रमिक ३ करोड भारु

‘पुष्पा’ हिट भएपछि अभिनेत्री रश्मिकाको पारिश्रमिक ३ करोड भारु

एजेन्सी  |  लोकरञ्जन  |  पुष २६, २०७८

अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म साबित भइसकेको छ । यस फिल्मले बक्स अफिसमा पैसा संकलनको काम जारी राखेको छ । पेन इन्डियाको यस फिल्मलाई भारतभर रुचाइएको छ ।

दर्शकहरू अल्लुको अभिनयबाट जति फिदा भएका छन्, अभिनेत्री रश्मिकाको प्रस्तुतिबाट उत्तिकै मोहित छन् । सुकुमार निर्देशित फिल्मको दोस्रो संस्करणका निर्माणका लागि निर्माताहरू जुटिसकेका छन् ।

निर्माताहरूले फिल्मको सिक्वेलको रूपमा ‘पुष्पाः द रुल’ बनाउँदै छन् । 

समाचारअनुसार फिल्मको सिक्वेलका लागि रश्मिकाले आफ्नो पारिश्रमिक बढाएकी छन् । उनले ‘पुष्पाः द राइज’मा २ करोड भारु पारिश्रमिक लिएकी थिइन् । अब उनी यो पारिश्रमिकमा एक करोड बढाएर ३ करोड भारु लिँदै छन् । निर्माताहरू पनि उनको निर्णयमा सहमत छन् । रश्मिकाको फिल्मी करियरमा यो पारिश्रमिक अहिलेसम्मकै बढी हो ।

सिक्वेलको आगामी फेब्रुअरीमा सुटिङ सुरु हुँदै छ । फिल्म सन् २०२२ को अन्त्यसम्ममा रिलिज हुनेछ । कामको कुरा गर्दा रश्मिका चाँडै नै बलिउडमा डेब्यु गर्दै छन् । उनी सिद्धार्थ मल्होत्राका साथ फिल्म ‘मिसन मजनू’मा देखिँदै छन् । यसबाहेक उनी बलिउड फिल्म ‘गुडबाय’को हिस्सा पनि हुँदै छन् ।