मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २६, २०७८

काठमाडौँ । मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलो पटक धरानमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ । 

भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको निजी सार्वजनिक साझेदारी अवधारणा अनुरूप निजी क्षेत्रबाट स्थापित यस आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको छ । उद्घाटन समारोहमा मेगा बैंकका तर्फबाट अध्यक्ष भोजबहादुर शाह र सिइओ अनुपमा खुञ्जेली अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । फोहोरलाई ऊर्जामा परिणत गर्ने राष्ट्रिय महत्त्वको यस आयोजनामा वित्तीय साझेदारी गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको मेगा बैंकका अध्यक्ष शाहले बताउनुभयो ।

यसैगरी, सिइओ खुञ्जेलीले फोहोरबाट ग्यास तथा मल उत्पादन हुँदा फोहोर व्यवस्थापन मात्र नभई थोरै मात्रामा भए पनि देशलाई ऊर्जाको आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत मद्दत मिल्ने बताउनुभयो । दीर्घकालीन महत्त्वका यस्ता आयोजनामा साझेदारी गर्न मेगा बैंक सधैँ तत्पर रहेको उहाँले बताउनुभयो । दैनिक ३० टन क्षमताको यस फोहोर प्रशोधन केन्द्रबाट दैनिक रुपमा करिब एक हजार किलोग्राम जैविक मल ग्यास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुनेछ । साथै, यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए करिब ८० जनाले रोजगारी पाउने बताइएको छ । 

यस फोहोर प्रशोधन केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार, यहाँबाट उत्पादित जैविक ग्यासलाई शुद्धीकरण गरी सिएनजी ग्यास उत्पादन हुनेछ । जसबाट धरानमा रहेका तीन पाङ्ग्रे सवारी साधन (ट्याम्पो)मा प्रयोग गरिनेछ । धरानमा रहेका करिब ३ सय वटा ट्याम्पोहरुमा सिलिन्डरसहितको एक किटको जडान गरी सञ्चालन गर्न सकिनेछ । यहाँबाट उत्पादित सिएनजी ग्यासको प्रयोगले दैनिक करिब १५ सय देखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुनेछ । जसबाट हालको बजार मूल्यमा करिब १० करोड रुपैंयाको आयात कम हुने विश्वास लिइएको छ । विश्वका प्रायजसो मुलुकमा ठुलो मात्रामा प्रयोग भइरहेको सिएनजी ग्यास पेट्रोल भन्दा सस्तो हुने पेट्रोलभन्दा बढी माइलेज दिनुका साथै वातावरणमैत्री समेत रहेको छ । 

मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० वटा तीन पाङ्ग्रे ट्याम्पोलाई सिएनजी ग्यासमा लाग्ने कन्भर्सन किट निःशुल्क सहयोग गर्ने तयारी गरेको छ ।