पीएम कपमा कर्णाली प्रदेशको पहिलो जीत

पीएम कपमा कर्णाली प्रदेशको पहिलो जीत

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २७, २०७८

प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जीत निकालेको छ ।

मंगलबार मूलपानीमा भएको पहिलो खेलमा १२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले १७ ओभर ५ बलमा ८९ रनमा अल आउट भएपछि कर्णालीले दोस्रो खेलमा पहिलो जीत पाएको हो । यसअघि पहिलो दिन कर्णाली आर्मीसँग पराजित भएको थियो । 

कर्णालीविरुद्ध प्रदेश एकका फिरदोस अन्सारीले सर्वाधिक २३ रन बनाए । यस्तै दीपेश कँडेल र श्रवण यादवले समान १४ रन बनाउँदा कप्तान सिद्धान्त लोहनीले १४ रनको योगदान गरे । 

प्रदेश १ लाई सस्तैमा समेट्न कर्णालीका अनुज चुनराले सर्वाधिक ४ विकेट लिए । यस्तै, दिवान पुनले २ विकेट लिँदा दिनेश अधिकारी, प्रकाश जैशी र अनुप कुँवरले समान एक विकेट लिए । यसअघि माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो । 

कर्णालीका लागि कप्तान तथा ओपनर ब्याटर रवीन्द्र शाहीले सर्वाधिक ३६ रन बनाए । यस्तै, प्रकाश जौशीले २५ रन बनाउँदा राज शाहले १५ र विपीन रावलले ११ रनको योगदान दिए । 

यता, प्रदेश एकका मुकुन्द यादवले ३ विकेट लिँदा फिरदोश अन्सारीले २ तथा कमल खत्री र सिद्धान्त लोहनीले समान १ विकेट लिए । यस जीतसँगै समूह 'ए'बाट कर्णालीले २ खेलबाट २ अंक जोडेको छ । कर्णाली तेस्रो स्थानमा छ । २ खेलबाट २ जीतसहित ४ अंक बनाएको पुलिस पहिलो र आर्मी दोस्रो स्थानमा छ ।