ओमिक्रोन संकट: मन्त्रीहरूले लकडाउनका विषयमा जथाभावी नबोलेकै राम्रो

ओमिक्रोन संकट: मन्त्रीहरूले लकडाउनका विषयमा जथाभावी नबोलेकै राम्रो

ज्ञानमित्र  |  दृष्टिकोण  |  पुष २७, २०७८

अन्ततः नेपाल सरकार कोरोना भेरिएन्ट ओमिक्रोनविरुद्ध अलिक सचेत, अलिक जागरुक, अलिक गम्भीर बनेको छ । संक्रमण प्रसार रोक्न केही घोषणा गरेर सरकारले आफ्नो उपस्थिति दर्ज गराएको छ ।

विगत एक महिनादेखि अमेरिका, अधिकांश युरोपेली देशलगायत अन्य धेरै देशले भोगिरहेको अवस्था भोग्ने चक्रीय प्रणालीमा अब पालो भारत र नेपालको आएको छ । हो, यो सत्य हो कि दक्षिण अफ्रिकाबाट प्रारम्भ भएको ओमिक्रोनलाई देशमा प्रवेश गर्न नदिने कुनै उपाय थिएन तर संक्रमण जुन रफ्तारले प्रसार भयो र आउने १२-१५ दिनमा संक्रमणको ग्राफ जुन बिन्दुमा पुग्छ, त्यसलाई मत्थर राख्ने उपाय थिए, जसलाई सरकारले गुमाइसक्यो । अब जतिसुकै बन्देज लगाए पनि ओमिक्रोन  संक्रमणलाई 'पिक'मा पुग्नबाट रोक्न संभव छैन ।

ओमिक्रोनको 'पिक' के हुन्छ ? दैनिक कति जना संक्रमित देखापर्छन् ? त्यसको एउटा मात्र जबाफ छ- डेल्टाको लहरताका नेपालमा पोजिटिभिटी रेट ३० नाघेर दिनमा ७ हजारभन्दा बढी संक्रमित आएका थिए । अब सरकार होइन, आमनेपाली आफैँ सचेत एवं जागरुक नबने ओमिक्रोनले आएको तेस्रो लहरले डेल्टाको दोस्रो लहरको रेकर्ड भंग गर्नेछ ।

ओमिक्रोनले अमेरिकामा दैनिक संक्रमित संख्या ८ लाख नाघ्यो । फ्रान्स, जर्मनी, इटाली, स्पेन, यूकेलगायतका युरोपेली देशमा दैनिक संक्रमित संख्या २ लाख नाघ्यो । ७०-८० प्रतिशतसम्म  पूर्ण भ्याक्सिनेसन भएका देशमा, ६०-६५ प्रतिशत नागरिकलाई भ्याक्सिनको बुस्टर डोज लगाएका देशमा ओमिक्रोनको संक्रमण नियन्त्रित गर्न सकिएन । भारतका विभिन्न विज्ञ तथा डाटा एनालाइसिस एजेन्सीले भारतमा ओमिक्रोनका कारण दैनिक १० लाखभन्दा बढी संक्रमित आउन सक्ने चेतावनी दिएका छन् । भारतमा दैनिक संक्रमित संख्या २ लाखको हाराहारीमा पुगिसकेको छ ।

ओमिक्रोनलाई लिएर एउटा सूचना के प्रसार गरिएको छ भने, यो विगतको डेल्टा भेरिएन्टभन्दा कम घातक छ । नेपाली पत्रपत्रिकाले पनि 'कपी-पेस्ट' गरेर यस्तो सूचना प्रवाह गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनका विभिन्न व्यक्तिले पटक पटक ओमिक्रोनलाई हल्का रूपमा नलिन चेतावनी दिए पनि ओमिक्रोन भेरिएन्टबारे मनगणन्ते कुरा चलिरहेका छन् ।

अमेरिकामा दैनिक २ हजारभन्दा बढी, रूसमा दैनिक एक हजारभन्दा बढी, युरोपेली देशमा दैनिक ३०० भन्दा बढी मृत्यु भएको अवस्थामा ओमिक्रोनलाई कम घातक भएको कसरी भन्ने ? अमेरिका, यूकेलगायतका देशले कोरोना संक्रमित व्यक्तिका लागि फाइजर कम्पनीले बनाएको प्याक्सलोभिड तथा मर्क कम्पनीले बनाएको मोल्नुपिराविर नामक एन्टिभाइरल औषधि प्रयोग गरेका छन् । गम्भीर संक्रमितमा यी औषधिको प्रभावकारिता ९० प्रतिशतसम्म रहेको तथ्यांक छ । हुनत मर्क कम्पनीको मोल्नुपिराविरको उत्पादन भारतका धेरै औषधि कम्पनीले थालेका छन् तर नेपालमा यो सहजै आइपुग्न तत्कालै संभव नहोला ।

दक्षिण अफ्रिकाको तथ्यांक हेरौँ

ओमिक्रोनको अवतार भूमि दक्षिण अफ्रिकामा १ जनवरीमा ५३, २ जनवरीमा ३०, ३ जनवरीमा ८५, ४ जनवरीमा १४०, ५ जनवरीमा १११, ६ जनवरीमा ४५, ७ जनवरीमा १४०, ८ जनवरीमा ११९, ९ जनवरीमा ८२ र १० जनवरीमा ७७ जनाको मृत्यु भयो ।

अबको ३५-४० दिन अर्थात् २० फेब्रुअरीसम्म भारत र नेपालमा कोरोना संक्रमण उत्कर्ष उन्मुख भइरहन्छ तत्‌पश्चात् अर्को एक महिना झण्डै २० मार्चसम्म यो ओरालो लाग्नेछ । लगभग आउने २ महिनाको समय नेपाली तथा भारतीय नागरिकका लागि चुनौतीपूर्ण छ

९० प्रतिशत जनसंख्यालाई पहिलो डोज भ्याक्सिन, ८३ प्रतिशत जनसंख्यालाई २ डोज भ्याक्सिन र ६२ प्रतिशत जनसंख्यालाई भ्याक्सिनको तेस्रो डोज प्राप्त भइसकेको यूकेको अवस्था पनि विचारणीय छ । यूकेमा १ जनवरीमा १५४ जना, २ जनवरीमा ७३ जना, ३ मा ४२ जना, ४ मा ४८ जना, ५ मा ३४३ जना, ६ मा २३१ जना, ७ मा २२९ जना, ८ मा ३१३ जना, ९ मा ९६ जना र १० जनवरीमा ७७ जनाको मृत्यु भयो ।

यी २ तथ्यांकले ओमिक्रोन के हो, कस्तो हो र यसको घातकताबारे बुझ्न गाह्रो हुँदैन । यसलाई कम घातक मान्नु प्रतिपादक हुन सक्छ ।

नेपालमा पनि संक्रमणको अवस्था उकालो लाग्दै गइरहेको छ । २२ पुसमा ५४० जना, २३ पुसमा ९६८, २४ पुसमा ९४४, २५ पुसमा एक हजार १६७ र २६ पुसमा संक्रमित संख्या एक हजार ४४६ पुगेको छ । 'पोजिटिभिटी रेट' भने झण्डै १३ प्रतिशत पुगेको छ । नेपालमा ओमिक्रोन कतिको घातक हुन्छ भन्ने कुरा संक्रमणको ग्राफले निर्धारण गर्छ । कुरा संक्रमितले आवश्यक पर्दा चाहिने चिकित्स्कीय सुविधा उपलब्ध हुने नहुने अवस्थामाथि भर पर्छ ।

संक्रमण ह्वात्तै बढेर गयो भने हाम्रो सीमित संशाधनले थेग्न सक्दैन । परिणाम अकल्पनीय हुन सक्छ । सरकारले के मानेर हिँड्नुपर्छ भने, संक्रमितमध्ये ५ प्रतिशतलाई चिकित्सा सुविधा आवश्यक पर्न सक्छ । अब रातारात सरकारले 'मेडिकल फेसिलिटी' बिस्तार गर्न सक्दैन । आईसीयू कक्ष बढाउन सक्दैन, भेन्टिलेटर सुविधा बिस्तार गर्न सक्दैन । उपाय एउटै छ- जसरी भए पनि संक्रमणको ग्राफ नियन्त्रण गरेर स्थितिलाई सहज बनाउने ।

नेपालमा अबको १५-२० दिनमा संक्रमण 'पिक'मा पुग्छ । छिमेकी भारतीय राज्य उत्तर प्रदेश तथा उत्तराखण्डको प्रान्तीय निर्वाचनले यसमा आगोमा घीउ थप्ने काम गर्छ ।  त्यसो त नेपालको राष्ट्रियसभाको चुनावले पनि स्थितिलाई उग्र बनाउने नै छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीलगायत मन्त्री  र अनेक 'भीआईपी' संक्रमित भएका समाचार आइसकेका छन् ।  स्मरणीय छ- यी सबै महानुभावले कोरोना भ्याक्सिनका पूर्ण डोज लिएका थिए । उता, भारतमा पनि धेरै 'भीभीआईपी' कोरोना संक्रमित भइसकेका छन् । स्पष्ट छ- भ्याक्सिनले संक्रमित हुनबाट सुरक्षा दिएको छैन तसर्थ भ्याक्सिन लगाएका व्यक्ति हुन् अथवा भ्याक्सिन नलगाएका, संक्रमणबाट सबैले समान रूपले जोगिने प्रयास गर्नु नै पर्छ ।

अबको ३५-४० दिन अर्थात् २० फेब्रुअरीसम्म भारत र नेपालमा कोरोना संक्रमण उत्कर्ष उन्मुख भइरहन्छ तत्‌पश्चात् अर्को एक महिना झण्डै २० मार्चसम्म यो ओरालो लाग्नेछ । लगभग आउने २ महिनाको समय नेपाली तथा भारतीय नागरिकका लागि चुनौतीपूर्ण छ ।

ओमिक्रोन घातक छ कि छैन भन्ने चर्चा परिचर्चामा नलागेर आफूलाई संक्रमित हुनबाट जोगाउनु बुद्धिमानी हुन्छ । सबै नेपालीले एक पटक पुनः स्मरण गरे हुन्छ- देशका अस्पतालमा रहेका कोरोना संक्रमितका लागि छुट्याइएका शय्या सीमित छन् र यी ५० प्रतिशत ओगटिनासाथ सरकारसँग कडा निषेधाज्ञा लगाउनुबाहेक अन्य कुनै विकल्प बाँकी रहँदैन ।

सरकारका मन्त्रीहरूले लकडाउनका विषयमा जथाभावी नबोलेकै राम्रो हुनेछ । लकडाउन हुने/नहुने संक्रमणको स्थितिमा भर पर्छ । अहिलेसम्मको संक्रमण वृद्धिको ग्राफ हेर्दा र यो वृद्धि कायम रहेको खण्डमा आउने १०-१२ दिनमा स्थितिले कुन कोल्टे फेर्ने हो, कसैले दाबी गर्न सक्दैन । सरकारी रवैया र आमनागरिकको निस्फिक्री गतिविधि हेर्दा राष्ट्रियसभा निर्वाचनभन्दा अघि नै निषेधाज्ञा लागेको खण्डमा कुनै आश्चर्य भने हुनेछैन ।