पर्या प्रदूषणमाथि चिन्ता र चासो: ‘ब्लु प्लानेट’माथि समीक्षकका धारणा

२ जनवरी २०२२ का दिन विजय हितानको नयाँ कथाकृति ‘ब्लु प्लानेट’ भर्चुअल माध्यमबाट सार्वजनिक भएको छ । विमोचन कार्यक्रममा कृतिभित्रका १५ वटा कथामाथि विभिन्न समीक्षकहरूले आफ्ना पाठकीय राय राखेका थिए, जुन यस प्रकार छ ।

विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले कृतिउपर समष्टिमा बोलेका थिए । प्रा.डा. भट्टराईले आफ्नो पुस्तक 'उत्तरआधुनिक विमर्श'मा पर्या साहित्य समालोचनाको एक अध्याय लेखेका छन् । उनलाई यस विषयका सिद्दान्तकार मानिन्छ ।

उनले 'ब्लु प्लानेट'बारे बोल्दै पृथ्वीको अवस्था, जवलवायु परिवर्तन र वातावरण संरक्षणका विषयहरूलाई हितानले आफ्ना कथाहरूमा उनेको टिप्पणी गरे । उनले सन् १९७२ पछि ३ चरणमा पर्यावरणका विषय र विधामा केन्द्रित भएर साहित्य लेखन र समालोचकीय बहसले स्थान लिएको बताए । उनले प्रकृतिकेन्द्रित, मानवकेन्द्रित हुँदै विश्वकै परिस्थितिका विषयहरूमा लेख्न सुरु भएको जनाए । ‘इको लेखनको विश्व तरंग बुझेर प्रयोगमा व्यापकता ल्याउने प्रथम नेपाली विजय नै हुन्’, प्रा.डा. भट्टराईले अगाडि थपे, ‘वातावरणलाई भौतिकदेखि साहित्यिक अभियानका रूपमा अघि बढाएर अरू लेखकसम्म लैजाने श्रेय पनि उनलाई नै जान्छ ।’

डा. सरिता शर्माले ‘पँधेरीले लुकाएको अँध्यारो’ कथामाथि आफ्नो पाठकीय टिप्पणी पेस गरिन् । डा. शर्माले अंग्रेजी साहित्यमा विद्यावारिधि गरेकी छन् । उनी मोटिभेसनल स्पिकर पनि हुन् । यसै कथाको ‘मधेसकी छोरी म, पहाडकी बुहारी बन्न चाहन्छुु वाक्यलाई उद्धृत गर्दै यो कथा पर्या-नारीवादी भएको बताइन् । जलवायु परिवर्तनका कारणले पँधेरा र इनार जस्ता पानीका मूल सुक्दै गरेका र यस्ता समस्याले पानी बोक्ने बुहारी र घरकी सासूबीच पैदा गरेको कलह कथाको मूल सार रहेको बताउँदै हितानले पर्यावरण संरक्षण अभियानलाई कलात्मक तरिकाले साहित्यमार्फत व्यक्त गर्न सकेको धारणा राखिन् ।

डा. गीता त्रिपाठीले ‘शहरले पन्छाएकी बुहारी’ कथामाथि टिप्पणी गरिन् । डा. त्रिपाठीले वातावरण साहित्यमा विद्यावारिधि गरेकी छन् । कथाले काठमाडौं र बाग्मतीको प्रदूषित अवस्थाले मानिसको स्वास्थ्यमा पारेको नकारात्मक असरलाई उजागर गर्न खोजेको बताउँदै त्रिपाठीले कथामा पति-पत्नीबीचको मानवीय संवेदनालाई बडो साहित्यिक रससँग पस्केको बताइन् ।

काठमाडौं शहरमा भइरहेको वायु तथा नदी प्रदूषण जस्ता वातावरणीय समस्याका बारेमा मानिसलाई सचेत गराउन खोजिएको भन्दै कोठाभित्र बसेर पढ्नुभन्दा यस कथालाई माइकिङ गर्दै सडकमा हिँड्ने इच्छा जागेको डा. त्रिपाठीले सुनाइन् । पर्यावरणमैत्री भाषाले भरिएको उक्त कथा अन्य कथाभन्दा अलिक लामो लागेको र कथाको शीर्षकमा बुहारीभन्दा पत्नी अथवा आमा राखेको भए सान्दर्भिक हुने सुझाव पनि दिइन् ।

डा. देवचन्द्र सुब्बाले ‘कार्बन फुटप्रिन्ट र उत्सर्जित आशंका’ कथामाथि आफ्नो समीक्षात्मक टिप्पणी पेस गरे । डा. सुब्बाले पर्यावरण साहित्यमा विद्यावारिधि गरेका छन् भने ‘नेपाली कवितामा परिवेश’ समालोचनात्मक ग्रन्थ प्रकाशन गरेका छन् ।

पृथ्वीमा भौतिक प्रदूषण त भई नै रहेको तथापि यस कथाले श्रीमान् र श्रीमतीबीचको मनमा पनि प्रदूषणको जालो बुनेको कुराउपर बडो कौतूहल जगाउने तरिकाले उल्लेख गरिएको बताए । उनले मानिसलगायत अन्य जीव तथा वनस्पतिका लागि कार्बन अतिआवश्यक ग्यास भए पनि त्यही कार्बन अधिक मात्रामा हुन गए हानि पुर्‍याउँछ भन्दै कथा डायस्पोरिक अनि प्रतिकारात्मक रहेको ठहर गरे ।

यसरी नै डा. देवेन सापकोटाले ‘गहिरो पहिरो’ कथामाथि टिप्पणी गरे । कथाभित्र विकासका पूर्वाधार निर्माण गर्नुपूर्व पूर्ण रूपमा वातावरण प्रभाव मूल्यांकन गरिनुपर्ने उल्लेख गरिएको उनले बताए । देशको संरचना निर्माणमा राजनैतिक पाटोबाट वातावरण अमैत्री निर्णय लिइयो भने बाढी(पहिरो जस्ता विपत्ति निम्तिन्छन् भन्ने सचेतना यस कथाले दिन खोजेको पनि डा. सापकोटाले उल्लेख गरे ।

कवि प्रज्ज्वल अधिकारीले ‘भुइँचालोले भत्काएको भट्टी’ शीर्षकको कथामाथि आफ्नो पाठकीय टिप्पणी राखेका थिए । अधिकारी राष्ट्रिय स्तरका एक चर्चित युवा कवि हुन् र उनले कविता लेखनमा दर्जनौ पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।

मानिसका कुकार्यले आफूमाथि पारेको असह्य पीडालाई प्रकृतिले आफूलाई सुरक्षित राख्न भुइँचालोको रूप धारण गरेर आणविक भट्टी जस्ता मानव निर्मित संरचना ध्वस्त पारेको यस कथा पढेर आफूले बुझेको बताए । क्लाई-फाई ढाँचामा लेखिएको यस कथाको सारांश जलवायु परिवर्तनले नेपालको हिउँ पग्लेर नदीनाला सुक्न जान्छन् फल स्वरुप नदीमा पानी नहुँदा जलविद्युत् उत्पादन गर्न नसकिने हुन्छ तर यस २१औँ शताब्दीको अन्त्यतिर हाम्रो देश भारत र चीन जसरी आर्थिक विकासमा छलाङ मार्ने र आणविक भट्टी निर्माण गरेर ऊर्जा उत्पादन गरिरेहेको हुने छ भन्ने संभावनालाई कथाकारले प्रस्ट्याउन खोजेको पनि अधिकारीले बताए ।

पुस्तकमाथि अमित थेवे, भावेस भुमरी, नीलिमा आचार्य, छत्रमान सुब्बा, रन्जु पान्डे, ज्ञानहादुर क्षेत्रीलगायतले टिप्पणी गरेका थिए ।