बंगलादेशविरुद्ध न्युजिल्याण्डलाई इनिङसहितको जीत

बंगलादेशविरुद्ध न्युजिल्याण्डलाई इनिङसहितको जीत

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २७, २०७८

रस टेयलरको सुखद् बिदाई भएको दोस्रो टेस्टमा बंगलादेशविरुद्ध न्युजिल्यान्डले इनिङसहित ११७ रनको जीत हासिल गरेको छ । काइष्ट चर्चमा सुरुवाती दिनबाटै आफ्नो पकड बनाएको न्युजिल्यान्डले ३ दिनमै खेल जितेको हो । यससँगै न्युजिल्यान्डले १-१ को बराबरी गरेको छ । अघिल्लो टेस्ट बंगलोदशले ८ विकेटले जितेको थियो ।

मंगलबार फलोअनमा परेको बंगलादेश २७८ रनमा अलआउट भएको थियो । बंगलादेशका लिटन दासले १०२ रन बनाए । यस्तै, कप्तान मोमिनुल हकले ३७, नुरुल हसनले ३६, नाज्मुल हसन सान्तोले २९, मोहम्मद नाइमले २४ तथा सादमान इस्लामले २१ रनको योगदान गरे । 

न्युजिल्याण्डका बलर काइल जेमिसनले सर्वाधिक ४ विकेट लिए । नेइल बेग्नेरले ३ विकेट लिँदा टिम साउदी, ड्यारेल मिचेल र रस टेलरले समान १ विकेट लिए । 

यसअघि टम लाथनले २५२ रन बनाएपछि पहिलो इनिङमा न्युजिल्याण्डले ६ विकेट गुमाएर ५२१ को विशाल योगफल खडा गरेको थियो । टमले २५२ रन बनाउँदा डेभोन कनवेले १०९ रन बनाए । यस्तै, विल योङले ५४ रन जोड्दा टम ब्लुडेलले ५७ रन जोडेका थिए । 

५२१ रनको लक्ष्यपछि जबाफी ब्याटिङमा आएको बंगलादेश १२६ रनमै समेटिएको थियो । यासिर अलीले सर्वाधिक ५५ र नुरुल हसनले ४१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । न्युजिल्याण्डका टेन्ट बोल्टले सर्वाधिक ५, टिम साउथीले ३ र केली जेमिएसनले २ विकेट लिएपछि बंगलादेश सस्तैमा समेटिएको थियो ।