आत्महत्या गरेका कर्णबहादुर मुग्रातीको परिवारलाई आर्थिक सहयोग

आत्महत्या गरेका कर्णबहादुर मुग्रातीको परिवारलाई आर्थिक सहयोग

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २७, २०७८

खोटाङ । आत्महत्या गरेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाका कर्णबहादुर मुग्रातीको परिवारलाई आर्थिक सहयोग जुटाइएको छ । कर्णबहादुर गत १४ मंसिरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि विचल्नीमा परेका उनका वृद्ध आमा बुबा, श्रीमती र चार छोराछोरीको सहयोगार्थ अभियान्ता सञ्जयकुमार राईको पहलमा ४१ हजार ७३१ रुपैयाँ जुटाइएको हो । 

कर्णबहादुरको काजक्रिया गर्न तथा बालबच्चाको लालनपालनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ १० जना दाताबाट संकलन गरिएको रकम शुक्रबार नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल र नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशीले मृतक परिवारलाई हस्तान्तरण गरेका छन् । मुग्राती परिवारको आर्थिक अवस्था नाजुक भएकाले सहयोगी दाताबाट संकलन गरेर आर्थिक सहयोग प्रदान गरिएको अभियान्ता राईले बताए । 

अभियान्ता राईको पहलमा मुग्राती परिवारलाई सहयोग जुटाइएको यो दोश्रो चरण हो । आवश्यकताअनुसार मुग्राती परिवारको सहयोगमा सहयोग अभियान सञ्चालन गरिने राईले बताए । मुग्राती दम्पत्तीका तीन छोरा र दुई छोरीमध्ये १८ वर्ष पुगेकी जेठी छोरीको विवाह भइसकेको छ । उनका वृद्ध बुबा प्रेसरको समस्याबाट पीडित छन् भने आमा आँखा नदेख्ने अवस्थामा छन् ।