हिटर चलाउँदै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस्, खतरा हुन सक्छ

हिटर चलाउँदै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस्, खतरा हुन सक्छ

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  पुष २८, २०७८

अहिले जाडोको मौसम छ । चिसोका कारण रुघा, खोकीलगायतका समस्या त प्रायः हुने नै भए, विश्वव्यापी मामारीका रूपमा फैलिएको कोरोनाको त्रास पनि उत्तिकै छ ।

सामान्यतयाः बिजुलीको उपलब्धता भएका स्थानमा बिजुलीबाट चल्ने हिटरको प्रयोग गरेर जाडोबाट बच्ने उपाय गर्ने गरिन्छ । गाउँघरमा त दाउरा बालेर आगो ताप्नुको मजा नै भिन्नै !

जाडोमा बिजुलीबाट चल्ने हिटरको प्रयोग गर्नु जोखिममुक्त भने छैन । यस्तो हिटरले राम्रो गुणस्तरको छ भने आधा घण्टामै कोठा न्यानो बनाइदिन्छ । बढी क्षमताको हिटरले त गर्मी नै उत्पन्न गराइदिन्छ । जे होस्, हिटरले जाडोबाट त अवश्य बचाउँछ तर सही ढंगले प्रयोग नभएमा ज्यान पनि लिन सक्छ । यसर्थ हिटर प्रयोग गर्दा केही सावधानीहरू अपनाउनु उत्तम हुन्छ । ती सावधानीबारे यहाँ चर्चा गरिएको छ ।

विद्युत्‌बाट छुटाएर सार्नुहोस्

धेरैजसो कोठामा बालिने हिटरहरू धातुबाट बनेका हुन्छन् । धातु विद्युतको सुचालक हो । यसर्थ हिटरलाई एक ठाउँबाट अर्को ठाउँमा सार्नुपरेमा सधैँ बिजुलीबाट छुटाउनुहोस्, जसले गर्दा करेन्टको जोखिमबाट बच्न सकिन्छ ।

बालबालिकाको पहुँचबाट टाढा राख्नुहोस्

यदि तपाईंका घरमा साना बालबालिका छन् भने हिटरलाई बालबाबालिकाको पहुँचबाट टाढा राख्नुहोस् । यदि बालबालिकाले हिटरलाई चलाएमा करेन्ट लाग्ने वा तातोले जल्ने, पोल्ने खतरा बढी हुन्छ ।

बन्द कोठामा हिटर नबाल्नुहोस्

केही मानिसहरू कोठा सबै बन्द गरेर हिटर बाल्ने गर्छन् । यो अत्यन्त गलत कार्य हो । कतिपयले भने हिटर बालेर कोठा तताउन भन्दै धेरै बेर छाडिदिन्छन् । यो झनै खराब काम हो । यदि धेरै बेरसम्म कोठा बन्द गरेर हिटर लगाएमा कोठाभित्रको अक्सिजन जलेर सकिन्छ, बाहिरबाट अक्सिजन भित्र छिर्न पाउँदैन । यसका कारण मानिसको निस्सासिएर वा अक्सिजनको कमी भएर मृत्यु हुन सक्छ ।

कोठामा भाँडोमा पानी राख्नुहोस्

हिटरको धेरै र नियमित प्रयोग गर्नुहुन्छ भने कोठाको एउटा कुनामा भाडोमा पानी भरेर राख्नुहोस् । यसले कोठाको आद्र्रतालाई सन्तुलित गर्छ र वातावरण अनुकूल बनाउन मद्दत गर्छ ।