दाङका स्थानीय सरकार : द्वन्द्वपीडित परिवारमा निःशुल्क स्वास्थ्य बिमा

दाङका स्थानीय सरकार : द्वन्द्वपीडित परिवारमा निःशुल्क स्वास्थ्य बिमा

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २८, २०७८

दाङ ।जनयुद्ध, जनआन्दोलनका सहिद तथा बेपत्ता परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा गर्ने सुरु गरिएको छ ।  दाङका स्थानीय सरकारहरूले नि:शुल्क बिमाको नीति लिएर काम सुरु गरेका हुन् । 

पहिलो चरणमा घोराही उपमहानगरपालिको वडा नम्बर १४ र १७ मा स्वास्थ्य बिमाको काम सुरु भएको छ । आर्थिक वर्ष २०७८-०८९ मा यी वडाहरूले बजेट व्यवस्थापन गरी उनीहरूको स्वास्थ्य बिमा सुरु गरेको घोराही उपमहानगरपालिका-१४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । 

वडामा रहेका द्वन्द्वपीडितहरूको तथ्यांक संकलन गरी बिमा गराउने काम भइरहेको छ । वडा नम्बर १४ मा रहेका १८ घरपरिवारका करिब एक सयजनाको बिमा गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष डाँगीले बताए । 

वडा नम्बर १७ मा ३० घर परिवारका एक सय ५० जनाको विमा भइसकेको वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरीले बताए । अन्य बाँकी भएका द्वन्द्वपीडितको तथ्यांक संकलन गर्ने कार्य दुवै वडाले जारी राखेका छन् । 

बिमा बनाउँदा पाँच परिवार बराबर तीन हजार पाँच सयका दरले रकम बुझाउनुपर्ने व्यवस्था छ । पाँचजना भन्दा माथि प्रतिव्यक्ति थपिए सात सयका दरले बिमा रकम थप्दै जानुपर्ने हुन्छ । बिमा गरेबापत बिमितहरूले वार्षिक एक लाख रुपैयाँ उपचार खर्च पाउने छन् ।