मलाइकासँग दूरी बढाउँदै अर्जुन कपुर

मलाइकासँग दूरी बढाउँदै अर्जुन कपुर

एजेन्सी  |  लोकरञ्जन  |  पुष २८, २०७८

बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका बारेमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडीबीच दूरी बढ्दै गएको छ । उनीहरू निकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् ।

मलाइका ६ दिनयता घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रूपमा आइसोलेसनमा छन् । उनी दुःखी छन् र केही समयका लागि बाहिरी दुनियाँबाट टाढा रहन चाहन्छिन् । अर्जुन पनि मलाइकालाई भेट्न उनको घर गएका छैनन् ।

अर्जुन ३ दिनअघि मात्र बहिनी रिहा कपुरको घर डिनरका लागि पुगेका थिए, जबकि रिहा मलाइकाकी छिमेकी हुन् । डिनरपछि पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । अक्सर डिनर भेटमा मलाइका रिहासँग भेट्न जाने गर्थिन् । ‘उनीहरूले कफी डेट र डिनर डेटलाई अहिले रोकेका छन् । त्यस कारण पनि उनीहरूबीच केही खटपट छ भन्ने प्रष्ट हुन्छ’, उनीहरू निकट स्रोतको दाबी छ ।