९४औँ ओस्कार अवार्डले पाउने भयो होस्ट

९४औँ ओस्कार अवार्डले पाउने भयो होस्ट

एजेन्सी  |  लोकरञ्जन  |  पुष २८, २०७८

आगामी २७ मार्चमा आयोजना हुने ९४औँ संस्करणको ‘ओस्कार एकेडेमी अवार्ड’ले पुनः होस्ट पाउने भएको छ । सन् २०१८ पछि यो विश्व प्रतिष्ठित अवार्डले होस्ट पाउन लागेको हो । 

सन् २०१९ यता ओस्कार होस्टविहीन हुँदै आएको थियो । हुलु ओरिजिनल्स र एबीसी इन्टरटेनेमन्टका प्रमुख क्रेग एविर्चले यस पटकको ओस्कार होस्टसहित आउने बताए पनि अवार्ड कसले होस्ट गर्ने भन्ने केही खुलाएका छैनन् ।

सन् २०१७ र २०१८ को ओस्कार अवार्डको होस्ट जिमी किमेलले गरेका थिए । सन् २०१९ मा केविन हार्टले होस्ट गर्ने भने पनि उनले वर्षौ पुरानो समलैंगिक ट्विटका लागि माफी नमागेपछि अवार्ड आयोजकले बिनाहोस्ट कार्यक्रम गर्ने निर्णय लिएको थियो ।

पछिल्लो एक दशकमा अवार्डमा क्रिस रक (२०१६), नील पेट्रिक हेरिस (२०१५), एलेन डीजेनरेस (२०१४), सेठ मेकफर्लेन (२०१३), बिली क्रिस्टल (२०१२) र जेम्स फ्रेंको तथा ऐनी हेथवे (२०११)ले होस्ट गरेका थिए ।

सन् २०१९ को जस्तै एबीसीले सन् २०२० मा पनि होस्टबिना नै अवार्ड गर्ने निर्णय लिएको थियो । तर, त्यो अवार्डमा दर्शकले चासो देखाएनन् । सन् २०२१ मा कोरोनाका कारण ढिलो भएको अवार्ड युनियन स्टेसनबाट प्रसारण भएको थियो, जस कारण आयोजकले आधाभन्दा बढी दर्शक गुमाउनुपरेको थियो । यही कारण ९४ औँ संस्करणको अवार्डका लागि होस्टलाई पुनः ल्याउने निर्णय गरिएको हो ।

यस पटक अवार्ड हलिउड एन्ड हाइल्यान्ड सेन्टरको डल्बी थिएटरकै पुरानो स्थानमा गरिँदै छ । गत वर्ष यो कार्यक्रम लस एन्जल्सको युनियन स्टेसनबाट प्रसारण गरिएको थियो । ओस्कार मनोनयनको घोषणा ८ फेब्रुअरीमा गरिनेछ । यो अवार्डलाई विश्वका २०० भन्दा बढी स्थानमा देखाइनेछ । आयोजकका अनुसार ग्लेन विस लगातार सातौँ पटक अवार्डको निर्देशक हुनेछन् । विल पेंकर यस वर्षको एकेडेमी अवार्डको कार्यकारी निर्माता रहनेछन् ।