काठमाडौँ कोरोनाको हटस्पट: जनता भन्दा सिंहदरबार जोगाउने चिन्ता !

काठमाडौँ कोरोनाको हटस्पट: जनता भन्दा सिंहदरबार जोगाउने चिन्ता !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष २९, २०७८

ओमिक्रोन भेरियन्टको प्रवेशसँगै काठमाडौँ कोरोना सङ्क्रमणको हटस्पट बनेको छ । बुधवार एकै दिन ३ हजार ७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा काठमाडौँ उपत्यकाकामात्रै १ हजार ४९८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो एक सातामा संक्रमणदर करिब ६ गुणाले बनेको छ । तर कोरोना नियन्त्रणका लागि सरकारको तयारी भने एकदमै फितलो देखिएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रण र उत्पन्न हुनसक्ने स्वास्थ्य संकटको सामना गर्न सरकारले जुन तयारी गर्नुपर्ने थियो, त्यतातर्फ ध्यान गएको देखिँदैन । सार्वजनिक स्थानहरूमा अनावश्यक भीड नियन्त्रण, ठुला ठुला भेला, सभा, सम्मेलन र जुलुसमा रोक लगाइएको छैन । जसका कारण पछिल्लो १० दिनमा दैनिक सङ्क्रमित २१६ बाट बढेर ३ हजार ७५ पुगेको छ । कोरोना सङ्क्रमितको सङ्ख्यामा उच्च वृद्धि भए पनि अझै पनि कोरोनाको तेस्रो लहर आएको सरकारले स्वीकार गरेको छैन । अमेरिका र युरोप तथा छिमेकी मुलुक भारतमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण आँधीको बेगमा फैलिरहेको छ ।

भारतसँगको सीमा क्षेत्रमा अझै पनि आवतजावतमा रोक लगाइएको छैन । भारतबाट नेपाल फर्किनेहरूको सङ्ख्या बढेको छ । तर सीमा क्षेत्रमा होल्डिङ सेन्टर नहुँदा सिधै गाउँसम्म पुग्ने गरेका छन् । भारतमा कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि सङ्क्रमणको डरका कारण नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । यसरी फर्किनेहरू कोरोना परीक्षण नगराई सिधै गाउँसम्म पुग्छन् । जसका कारण सहरी क्षेत्र मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि सङ्क्रमण फैलिने खतरा बढेको छ ।

३५–४० प्रतिशतमा हुनसक्छ सङ्क्रमण

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण नेपालमा करिब ३५ देखि ४० प्रतिशत जनसङ्ख्या सङ्क्रमित हुनसक्कने अनुमान रहेको स्वास्थ्य मन्त्रालयको गोप्य स्रोत बताउँछ । जनसङ्ख्याको ठुलो हिस्सा कोरोनाको चपेटामा पर्न सक्ने अनुमान भए पनि सोही अनुसार सरकारले पूर्ण तयारी गरेको भने देखिँदैन । नेपालमा हालसम्म २७ जनामा ओमिक्रोन भाइरस पुष्टि भएको छ ।

नेपालमा अझै पनि डेल्टा भेरियन्टका सङ्क्रमित ठुलो सङ्ख्यामा छन् । कोरोनाको सङ्क्रमण समयमा नै रोक्न नसकेमा निकै चुनौतीपूर्ण हुने जनस्वास्थ्यविद्हरू बताउँछन् । सङ्क्रमितको सङ्ख्या बढेसँगै पछिल्लो समयमा नेपालका अस्पतालहरूमा समेत बिरामीको चाप बढेको छ । नेपालमा हालसम्म ७६.५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने ५६.९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । यसै कारण धेरै सङ्क्रमित भए पनि करिब ५ प्रतिशतलाई मात्रै स्वास्थ्यमा जटिल समस्या हुनसक्ने अनुमान छ । 

फितलो तयारी

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारको तयारी यस पटक पनि निकै फितलो देखिएको छ । पहिलो र दोस्रो लहरमा सरकार कोरोनाबाट उत्पन्न अवस्था नियन्त्रण गर्न असफल बनेको थियो । कोरोना संक्रमणदर ह्वात्तै बढेपछि बुधवारदेखि काठमाडौँ उपत्यकामा सामान्य प्रतिबन्धात्मक नियमहरू लागू गरिएको छ । सरकारले कोरोना सङ्क्रमण पहिचान, उपचार र नियन्त्रणका ‘र्‍यापिट एक्सन प्लान’ लागू गरेको छ ।

जसअनुसार सीमा नाकामा कडाइका साथै अस्पताल र अक्सिजनको व्यवस्थापन लगायतका योजना छन् । सरकारले यो अवधिमा स्थानीय तहमा होल्डिङ सेन्टर निर्माण गर्न, आइसोलेसन सेन्टर बनाउने तथा कोरोनाविरुद्धको खोप दिने योजना छ । तर यी कार्यहरू यति बेला करिब करिब ठप्प अवस्थामा छन् । आइसोलेसन, बेड, एचडियू, आइसियु, भेन्टिलेटर, अक्सिजन, सिलिन्डर, अक्सिजन प्लान्ट लगायतका पूर्वाधार पर्याप्त मात्रामा थप गरिएको छैन । काठमाडौँ कोरोनाको हटस्पट बनिरहेको छ । तर आइसोलेसन बेड, एचडियू, आइसियु, भेन्टिलेटरको पर्याप्त व्यवस्था अझै भएको छैन । 

सिंहदरबार प्रवेशमा कडाइ

कोरोनाको सङ्क्रमण बढेसँगै गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्र पत्र समेत खारेज गरेको छ । कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिचयपत्र गृह मन्त्रालयको सहमतिमा मात्रै जारी गर्न पाउनेछन् । सरसफाइसँग सम्बन्धित व्यक्तिहरूले यसअघि जारी भएको पासका आधारमा र पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउनेछन् । देशैभर कोरोना सङ्क्रमणले नयाँ त्रास बढाइरहँदा रोकथाममा सरकारका प्रयास कमजोर देखिएका छन् ।

दुई महिनामा युरोपको आधा जनसङ्ख्या सङ्क्रमित हुन्छ: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आगामी डेढदेखि दुई महिनामा युरोपको आधा जनसङ्ख्या कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित हुने चेतावनी दिएको छ । डब्लुएचओका डा. हान्स क्लगले ओमिक्रोन पश्चिमदेखि पूर्वसम्म छालका रूपमा युरोपमा फैलिरहेको र ओमिक्रोन सङ्क्रमणको गति डेल्टा भेरियन्टको भन्दा उच्च रहेको बताएका छन् ।

युरोपमा सन् २०२२ को पहिलो एक सातामा मात्रै ६० लाखमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई सातामा नै युरोपमा सङ्क्रमितको सङ्ख्या दोब्बर भएको हो । सन् २०२१ को अन्त्यसम्म डेल्टा भेरियन्टको लहरमा थपिएको ओमिक्रोनको आँधीले आगामी ६ देखि ८ हप्ताभित्र युरोपको ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या सङ्क्रमित हुने डा.क्लगको चेतावनी छ । उनले भाइरस पश्चिमी देशहरूबाट फैलिएकाले युरोपेली र मध्य एसियाली देशहरू सङ्क्रमणको तीव्र दबाबमा रहने पनि उल्लेख गरे । 

उनका अनुसार कुन देशले यस परिस्थितिमा के गर्ने भन्ने कुरा त्यहाँको महामारीको अवस्था, उपलब्ध स्रोतहरू, खोप वितरणको स्थिति र सामाजिक–आर्थिक सन्दर्भका आधारमा निर्धारण गर्नुपर्छ । अध्ययनअनुसार ओमिक्रोनले मानिसहरूलाई कोभिडका पुराना भेरियन्टहरूको तुलनामा गम्भीर बिरामी पार्ने सम्भावना कम छ । तर यो अत्यधिक सङ्क्रामक पाइएको छ ।