प्रदेश १ :  प्रदेशस्तरीय पुस्तकालय सम्मेलन गाईघाटमा सुरु

प्रदेश १ :  प्रदेशस्तरीय पुस्तकालय सम्मेलन गाईघाटमा सुरु

लोकसंवाद संवाददाता  |  शिक्षा  |  पुष २९, २०७८

उदयपुर ।  प्रदेश १ का सामाजिक बिकास मन्त्री जयराम यादवले सार्वजनिक तथा सामुदायिक पुस्तकालहरुको संस्थागत विकासका निम्ति मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

विकसित मुलुकमा पुस्तकालयको अवस्थालाई हेरेर त्यहाँको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक अवस्थाको मापन गर्न सकिने उनले बताए । समाज रुपान्तरणको अभियानमा पुस्तकालयको अहम भूमिका हुने भएकाले जनताको विश्वविद्यालयको रुपमा हेरिएको सामुदायिक तथा सार्वजनिक पुस्तकालयलाई दिगो बिकास गर्ने सोचमा मन्त्रालय रहेको स्पष्ट पारे ।

पुस्तकालयबाट ज्ञान, सिप, संस्कृति र सभ्यता दिने भएकाले यसको दिगो रुपमा विकास गर्नु पर्नेमा उनले जोड दिए । पुस्तकालयलाई प्रविधिमैत्री बनाउँदै लैजान मन्त्रालयले नीति बनाउन लागेका उनले जानकारी दिए । 

'सबल समाजको आधार पुस्तकालयको विकास र विस्तार जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमुना पुस्तकालय हाम्रो अभियान' भन्ने नारासहित उदयपुरमा प्रदेश  १ स्तरीय सामुदायिक तथा सार्वजनिक पुस्तकालय सम्मेलनको बुधवार उद्घाटन गर्दै यादवले यस्तो बताएका हुन् । उनले गुणस्तरीय शिक्षामा पुस्तकालयको महत्वर्पूण भूमिका हुने भएकाले यसलाई चलाएमान बनाउन सबै पक्षसँग आग्रह गरे । उनले जिल्ला अस्पताल गाईघाटबाट सर्वसाधारणलाई गुणस्तरीय सेवा दिन आवश्यक पर्ने उपकरण तथा एम्बुलेन्स, शब वाहन मन्त्रालयले उपलब्ध गराउने जानकारी दिए ।

संगम सामुदायिक पुस्तकालयको आयोजनामा सुरु भएको सम्मेलनमा प्रदेश १ का सबै पालिकाहरुमा पुस्तकालय स्थापना गर्ने र पठन सस्कृतिको विकास गर्ने लक्ष्यका साथ पुस्तकालय सम्मेलन आयोजना गरिएको हो ।  

 सम्मेलनमा सहभागी पुस्तकालयहरुको सहकार्यमा सुरु भएको कार्यक्रमलाई उदयपुरका आठ वटै स्थानीय तहहरुले सहयोग गरेको संगम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्काले बताए । कार्यक्रमको बारेमा जानकारी दिँदै खड्काले पढ्न संस्कृतिको विकास गर्न सम्मेलनको आयोजना गरेको बताए । 

दुई दिनसम्म संचालन हुने सम्मेलनमा प्रदेश १ को ताप्लेजुङ, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, संखुवासभा, खोटाङ, उदयपुरका प्रतिनिधिहरुको सहभागीता रहेको संगम सामुदायिक पुस्तकालयका उपाध्यक्ष टंकप्रसाद गुरागाईले जानकारी दिए । सम्मेलनले उदयपुर घोषणा पत्र जारी गर्दै प्रदेश १ स्तरीय समिति गठन गरिने जनाइएको छ ।