कोरोनासँगको लडाइँ: आत्मविश्वास, सकारात्मक विचार, खानपान र जीवनशैली महत्त्वपूर्ण अस्त्र

कोरोनासँगको लडाइँ: आत्मविश्वास, सकारात्मक विचार, खानपान र जीवनशैली महत्त्वपूर्ण अस्त्र

ज्ञानमित्र  |  दृष्टिकोण  |  पुष २९, २०७८

बुधबार २८ पुसको तथ्यांकअनुसार देशमा कोरोना 'पोजिटिभिटी  रेट' २३ प्रतिशत नाघेको छ । कुल १३ हजार ३६ कोरोना परीक्षण हुँदा ३ हजार ७५ संक्रमित देखापरे । एक साता पहिला २१ पुसमा १० हजार २६७ परीक्षण हुँदा ४३५ संक्रमित आएका थिए । एक साताकै अन्तरालमा संक्रमित संख्या ४३५ बाट ३ हजार ७५ पुगेको छ । एक सातामा संक्रमण वृद्धि दर ७ गुणा भएको छ ।

स्वास्थ्य मंत्रालयका अनुसार देशमा सक्रिय संक्रमित संख्या ११ हजार ६९० रहेको छ । यसमध्ये ८८० जना संस्थागत आइसोलेसनमा, ८७ जना आईसीयूमा र २२ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । बाग्मती प्रदेशमा ५५ जना संक्रमित आईसीयू र १६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य मंत्रालयका अनुसार देशमा संस्थागत आइसोलेसन बेड संख्या  ८ हजार २०२, एचडीयू बेड ३ हजार ८४६, आईसीयू बेड संख्या २ हजार ७९७ र भेन्टिलेटर संख्या एक जार ८ रहेको छ ।

कोरोना 'पोजिटिभिटी  रेट' २३ प्रतिशतभन्दामाथि पुग्दा देशमा जम्मा १३ हजार दैनिक परीक्षण हुनु दुर्भाग्य हो । विश्व स्वास्थ्य संगठनले भर्खरै चेतावनी दिँदै भनेको छ- युरोपमा ओमिक्रोन भेरिएन्टका कारण ४० प्रतिशत जनसंख्या कोरोना संक्रमित हुन सक्छ । युरोपका ४५-४७ देशमा गत साता ७७ लाख १२ हजार ३५ जना संक्रमित भए । यसभन्दा अघिल्लो साता संक्रमित संख्या ६३ लाख ५८ हजार ९९२ रहेको थियो । गत १५ दिनमा युरोपमा १४ करोड ७ लाख एक हजार २७ जना संक्रमित भए । युरोपेली देशको  कुल जनसंख्या झण्डै ७४ करोड ८३ लाख ३१ हजार रहेको छ । १५ दिनमै झण्डै २० प्रतिशत युरोपेली जनसंख्या संक्रमित भयो ।

अतिसंक्रामक रहेको ओमिक्रोन भेरिएन्ट पसेको देशमा ४० प्रतिशत जनसंख्यालाई संक्रमित बनाउन सक्ने अनुमान सही साबित हुँदै गइरहेको छ ।

नेपालझैँ भारतमा पनि ओमिक्रोनको कहर शीर्ष उन्मुख छ । २८ पुसका दिन (१२ जनवरी) भारतमा दैनिक संक्रमित संख्या २ लाख ४१ हजार ९७६ पुगेको छ । भारतका तमाम राज्यमा कोरोना पोजिटिभिटी रेट २५ प्रतिशत नाघिसकेको छ । आउने १५ दिनमा त्यहाँ दैनिक संक्रमित संख्या ५ लाखको हाराहारीमा पुग्ने संकेत देखा परिसकेका छन् ।

संक्रमण हुँदैमा आतिनुपर्दैन । सबैभन्दा ठूलो एन्टिबडी आत्मविश्वास हो । सकारात्मक विचारका साथै सकारात्मक खानपान, जीवनशैली कोरोना संक्रमणसँग लड्ने सबैभन्दा महत्त्वपूर्ण अस्त्र हुन् । केही नगण्य प्रतिशत संक्रमितलाई भने पहिलाझैँ यस पटक पनि संक्रमण खतरा हुन्छ ।

अब जुनसुकै देशले जतिसुकै प्रतिबन्ध लाए पनि, जतिसुकै कठोर सुरक्षात्मक अनुशासन पालना गरे पनि आफ्नो ४० प्रतिशत जनसंख्यालाई संक्रमित हुनबाट जोगाउन सक्दैन ।

नेपाल जस्तो देशले पनि कोरोनाको बुस्टर डोज लाएर संक्रमण रोक्ने चेष्टा गर्न गइरहेको छ । यस विषयमा धेरै नभनी यूकेको रेकर्ड हेरे पुग्छ । यूकेको कुल जनसंख्यामध्ये ९०.४ प्रतिशत जनसंख्यालाई (१२ वर्षभन्दा माथि) भ्याक्सिनको पहिलो डोज, (कुल खपत ५ करोड २० लाख ११ हजार ८३५) ८३.१ प्रतिशत जनसंख्यालाई भ्याक्सिनका दुवै डोज (४ करोड ७७ लाख ७४ हजार २४८ थान) र ६२.५  प्रतिशतलाई तेस्रो खुराकका रूपमा बुस्टर डोज (कुल ३ करोड ५९ लाख ५३ हजार २४३ थान) लगाइसकिएको छ । यसका बाबजुद यूकेमा दैनिक डेढ लाखको हाराहारीमा संक्रमित आइरहेका छन् । दैनिक ४०० संक्रमितको मृत्यु भइरहेको छ ।

नेपालमा घोषित रूपमा बुस्टर डोज लाउन प्रारम्भ नभए पनि धेरै जना मानिसले कुनै विशेष पद्धति अथवा जुगाड लाएर बुस्टर डोज ग्रहण गरिसकेका छन् । तर, यसरी बुस्टर डोज लगाएका मानिस पनि संक्रमित भइसकेको सूचना आइसकेको छ । व्यक्तिगत रूपमा बुस्टर डोज लगाएका ३ जना संक्रमित म स्वयंले भेटेको छु । नेपालले २-३ दिनभित्र बुस्टर भ्याक्सिन खुराक वितरण गर्न सक्छ । तर, बुस्टर डोजले फेसन अथवा मेडिकल माफियाको दबाबबाहेक केही उपयोगिता राख्दैन ।

सामान्य नेपालीले आफू संक्रमणबाट जोगिनुबाहेक कुनै उपाय छैन । विश्व स्वास्थ्य संगठनकै चेतावनीअनुसार (युरोपका लागि) नेपालमा पनि  ४० प्रतिशत जनसंख्या संक्रमित हुन सक्छ ओमिक्रोन भेरिएन्टबाट । भ्याक्सिन लगाएका अथवा कोरोना संक्रमित भइसकेकाहरूलाई पनि संक्रमणको उत्तिकै खतरा छ । ओमिक्रोन भेरिएन्टको 'हाई ट्रान्समिसिबिलिटी' क्षमताका कारण तपाईं  हामी सबैको संक्रमित हुने प्रबल संभावना छ ।

कोरोनाको दोस्रो लहरताका धेरै जनाले जथाभावी औषधिको प्रयोग गरेर नभएको संकट पनि निम्त्याएका थिए । खोकी, ज्वरो, रुघाको सामान्य औषधिबाहेक अन्य कुनै औषधि चिकित्सकको परामर्शबिना लिनु उपयुक्त हुँदैन । आफूखुसी एन्टिबायोटिकको प्रयोग, ऐस्टेरायडको प्रयोग कदापि उचित हुँदैन ।

नेपालमा दैनिक ३ हजार संक्रमित आउने सुरुवात भइसक्यो । यो क्रम बढ्दै जान सक्छ । संक्रमित बढ्दै गएकै संख्यामा अस्पताल भर्ना हुनेको संख्या बढ्दै जान्छ । दैनिक ५ हजार संक्रमित संख्या पुगेपछि, अस्पतालमा रहेको बेड संख्याको ५० प्रतिशतभन्दा बढी बेड 'अकुपाइड' भएपछि सरकारसँग कडा लकडाउन गर्नुबाहेक कुनै विकल्प रहँदैन ।

कोरोन संक्रमण प्रसार रोक्ने पहिलो र प्राथमिक उपाय व्यापक परीक्षण हुनु हो । भएका परीक्षणमध्ये २३ प्रतिशत संक्रमित देखिनु पनि खतराको निशानभन्दा माथि पुग्नु हो । अवस्था यस्तो विकराल भइसक्दा पनि देशमा कुल १३ हजार परीक्षण हुनु नेपालीको दुर्भाग्य नभएर सरकारको चरम निकम्मापन हो । सरकारले अविलम्ब परीक्षण संख्या दैनिक ५० हजारभन्दा बढी पुर्‍यायाउनुपर्छ । आउने दिनमा यो संख्या एक लाख पुर्‍याउने पनि आवश्यकता हुन सक्छ । सरकारी ल्याबले परीक्षण नि:शुल्क नगरे परीक्षण संख्या बढ्न सक्दैन ।

साथै, सरकारले प्राइभेट ल्याबहरूको परीक्षण शुल्क ८०० देखि एक हजार रुपैयाँ निर्धारण गरेर आमनागरिकलाई शंका लाग्नसाथ परीक्षण गराउने हेतु प्रेरित गर्नु नितान्त आवश्यक भएको छ । अबको २ महिना प्रत्येक नेपालीले अनावश्यक गतिविधिमा संलग्न नहुने प्रतिबद्धता गरेर कोभिड प्रोटोकलको पालना गर्नु नै बुद्धिमानी हुनेछ ।

लक्षण देखिएर परीक्षण गर्न आलटाल गर्नु जो कोहीका लागि पनि खतरा हुन्छ । ओमिक्रोन  भेरिएन्टको 'रिइन्फेक्सन रेट' एकदमै बढी भएको, एक जना संक्रमितले २०-२२ जना संक्रमित बनाउन सक्ने क्षमता भएकाले लक्षण देखिनासाथ समयमै कोरोना परीक्षण नगराई ढिलो गरेमा परिवारका सबै सदस्य संक्रमित हुने खतरा हुन्छ । साथै, परीक्षणको रिपोर्ट पोजिटिभ आएमा सकेसम्म संस्थागत आइसोलेसनमा बस्नु नै बुद्धिमता हुनेछ ।

घरमै आइसोलेसन बस्दा परिवारका अन्य सदस्यलाई संक्रमण सर्ने उच्चजोखिम हुन्छ । घरमै आइसोलेसन बस्ने बाध्यता भएमा अत्यन्त सजगता तथा सतर्कतासाथ बस्नु आवश्यक हुन्छ । ८५-९० प्रतिशत संक्रमितलाई खासै जोखिम हुँदैन । यिनीहरू सामान्य अवस्थामै संक्रमणमुक्त हुन्छन् । तसर्थ संक्रमण हुँदैमा आतिनुपर्दैन । सबैभन्दा ठूलो एन्टिबडी आत्मविश्वास हो । सकारात्मक विचारका साथै सकारात्मक खानपान, जीवनशैली कोरोना संक्रमणसँग लड्ने सबैभन्दा महत्त्वपूर्ण अस्त्र हुन् । केही नगण्य प्रतिशत संक्रमितलाई भने पहिलाझैँ यस पटक पनि संक्रमण खतरा हुन्छ ।