बेलायतमा एक हप्तामा ४३ लाख मानिसमा कोरोना संक्रमण भएको अनुमान

बेलायतमा एक हप्तामा ४३ लाख मानिसमा कोरोना संक्रमण भएको अनुमान

एजेन्सी  |  विदेश  |  पुष २९, २०७८

बेलायतमा गत हप्तासम्म ४३ लाख मानिसलाई कोभिड- १९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना संक्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) बुधबार जानकारी दिएको छ ।

इङ्गल्याण्डमा कोरोना भाइरसको फैलावट उच्च रहेको जनाइएको छ । यहाँको तथ्यांकअनुसार ६ जनवरीसम्मको हप्तामा १५ जनामध्ये एक जनामा कोरोना भाइरस संक्रमण भएको जनाइएको छ । वेल्समा गत हप्ता २० मध्ये एक जनामा अर्थात् गत हप्तामा एक लाख ५७ हजार ९०० जना यस रोगबाट संक्रमित भएको अनुमान गरिएको छ ।

स्कटल्याण्डमा २० मा एक वा दुई अर्थात् ९७ हजार ४०० जनाभन्दा बढी व्यक्ति संक्रमित भएका बताइएको छ । उत्तरी आयरल्याण्डमा एक हप्तामा २ लाख ३८ हजार मानिसहरू संक्रमित भएका अनुमान गरिएको छ । कोभिड- १९ को संक्रमण इङ्गल्याण्डको पूर्वी भाग र लन्डनबाहेक इङ्गल्याण्डका सबै क्षेत्रहरूमा बढ्दै गएको ओएनएसले  जानकारी दिएको छ ।  

बेलायतमा पछिल्लो २४ घण्टाको अवधिमा एक लाख २९ हजार ५८७ जनामा कोभिड- १९ संक्रमण भएको छ । हाल बेलायतमा कुल कोरोना संक्रमितको संख्या एक करोड ४८ लाख ६२ हजार १३८ जना पुगेको बुधबार सार्वजनिक भएको आधिकारिक तथ्यांकले जानकारी दिएको छ ।

गत २४ घण्टामा बेलायतमा थप ३९८ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यससँगै कोरोनाका कारण मृत्यु भएको कुल मृतकको संख्या एक लाख ५१ हजारभन्दा बढी पुगेको ओएनएसले जनाएको छ । बेलायतमा १२ वर्ष र सोभन्दा माथिका ९० प्रतिशतभन्दा बढीले खोपको पहिलो डोज पाएका छन् र ८३ प्रतिशतभन्दा बढीले दुवै डोज खोप लगाएका छन् ।  पछिल्लो तथ्यांकअनुसार ६२ प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्ध खोपको तेस्रो डोज प्राप्त गरेका छन् ।