सरकारलाई निदाइरहन देऊ !
पुष २९, २०७८

सरकार थाकेको छ । सरकार गलेको छ । सरकार तनावमा छ । उसलाई नचलाइदेऊ । नचिमोटिदेऊ । अझ झकझक्याएर नसताइदेऊ ।

नकराइदेऊ बेलाबेलै । कचकच गरेर उसको निद्रा नबिथोलिदेऊ ।

मलाई अहिले मेरोभन्दा बढी चिन्ता सरकारको छ । बिचरो ! कसरी चलिरहेको होला यस्तो संकटमा ? कसरी टिकिरहेको होला यस्तो दुर्दान्त अवस्थामा ? सबै सरकारलाई गाली गर्ने, सराप्ने, तथानाम भन्ने मात्र छन् । सरकारको पीर गरिदिने, उसको संकट बुझिदिने मबाहेक कोही देख्दिनँ ।

अहिले सरकारलाई धेरै अप्ठ्यारो छ । हो नि त- सरकारको नेतृत्वकर्ता अर्थात् नेपाली कांग्रेस अर्थात् सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भर्खरै पार्टी सभापतिमा जितेर पार्टीको आन्तरिक व्यवस्थापन मिलाउनु छ, सरकारको दैनिक कार्य नियमित र प्रभावकारी ढंगले संचालन गर्नु छ । आफ्ना व्यक्तिगत राम-रउसदेखि व्यवहारसम्म पनि व्यवस्थापन गर्नु छ । बढ्दो कोरोनाको कहरबाट आफू पनि जोगिनु छ, दुनियाँलाई पनि जोगाउनु छ ।

यसअघिका आफ्नै रेकर्ड ‘पजेरो काण्ड’, ‘सांसद किनबेच काण्ड’, ‘सुत्केरी भत्ताकाण्ड’, ‘लोकतन्त्र दरबारमा बुझाएका काण्ड’ आदिलाई पनि निस्तेज पार्नु छ । आमजनका मस्तिष्कमा रहेको ‘देउवा लोकतन्त्रका कलंक हुन्’ भन्ने धारणालाई पूर्णतः मेटाउनु छ ।

केपी शर्मा ओली जस्ता ‘खतरनाक’ प्रतिपक्ष छन्, जो आफ्नै खुट्टा काट्दै छ भने पनि उठाइसकेको ब१चरोले प्रहार नगरी छाड्दैनन् । यो तथ्य त करिब दुई तिहाइको सरकार र इतिहासकै ठूलो कम्युनिस्ट पार्टीलाई भित्तामा पुर्‍याएबाटै पुष्टि हुन्छ ।

यतिका बीचमा दुनियाँका गाली, गलोज, श्राप आदि पनि सुन्नु छ, बेहोर्नु छ ।

त्यही भएर त मलाई मेरोभन्दा बढी चिन्ता सरकारको छ, सरकारको अर्थात् शेरबहादुर देउवाको । देउवाको अर्थात् प्रधानमन्त्रीको ।

यस पटक भने म अन्य बेलाभन्दा बढी नै आशावादी छु सरकारसँग अर्थात् शेरबहादुर दाइसँग । आशावादी किन छु भने, देउवा दाजुले पहिला जस्तो ‘तिकडम’ र ‘काण्ड’ अहिले भने मच्चाउनुभएको छैन । तर, ‘मुड’मा चल्ने देउवा दाजुले कति बेला सनकमा के निर्णय गरिदिनुहुन्छ भनेर देउवा दाजुका भविष्यवेत्ता सुरेशचन्द्र रिजाललाई पनि थाहा नहोला । यस कारण पनि बडो धैर्य र सचेततासाथ देउवा दाजुलाई पर्खिनुको विकल्प पनि छैन ।

अँ, म सरकारकै चिन्ता गरिरहेको थिएँ- सरकार अर्थात् देउवा दाजु ।

देउवा दाजुलाई अनेक पिरलो छन्, जस्तो कि माथि पनि भनियो । तीबाहेक पार्टीभित्रै ‘फुच्चा केटाहरू’ले आधिपत्य जमाउने अवस्था छ । आफ्ना भनिएकाहरूलाई छानीछानी मतदाता कार्यकर्ताले सोत्तर बनाइदिए । साँच्चै भन्दा आफूबाहेक पदाधिकारी र सदस्यमा आलाकाँचा ठिटाहरू नै बढी आए । कार्यकर्ताले उनैलाई जिताए त के गर्नु ?

अब ती ठिटाहरूको कचकचले देउवा दाजुलई ऐठन पार्ने लगभग निश्चित नै छ । एकातिर धनराज गुरुङ, अर्कातिर विश्वप्रकाश शर्मा र गगन थापाले देउवा दाजुको ‘९० सालको’ दिमाग र सोचमा घन ठोकेर दिक्दार लगाई नै हाल्छन् । कति जुध्नु ठिटाहरूसँग !

उता, केपी शर्मा ओली जस्ता ‘खतरनाक’ प्रतिपक्ष छन्, जो आफ्नै खुट्टा काट्दै छ भने पनि उठाइसकेको ब१चरोले प्रहार नगरी छाड्दैनन् । यो तथ्य त करिब दुई तिहाइको सरकार र इतिहासकै ठूलो कम्युनिस्ट पार्टीलाई भित्तामा पुर्‍याएबाटै पुष्टि हुन्छ ।

अनि, यस्तो बेलामा सरकारलाई तनाव र दबाब दिनु उपयुक्त होला त ? अवश्य हुँदैन । बरु, सरकार अर्थात् देउवा दाजुका पीर र तनाव शान्त गर्न सरकार अर्थात् देउवा दाजुलाई आनन्दले सुस्ताउन, थकाइ मार्न, निदाउन दिऔँ । देश जाबो त सधैँ चलेकै छ, रोगव्याधी आएकै छन्, मान्छे जन्मिने र मर्ने क्रम सृष्टिको सुरुदेखि आजसम्म चलेकै छ ।

तर, अन्त्यमा यतिचाहिँ कामना पनि गरिहालौँ- देश र जनता नै नरहे सरकार अथवा देउवा दाजुको पनि अर्थ र औचित्यचाहिँ हुँदैन ।


शर्मा साहित्य र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।