फ्रेन्चाइज बास्केट बलः ८ टोलीले प्रतिस्पर्धा गर्ने, २ विदेशी खेलाडी रहने

फ्रेन्चाइज बास्केट बलः ८ टोलीले प्रतिस्पर्धा गर्ने, २ विदेशी खेलाडी रहने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २९, २०७८

नेपालमा पहिलो पटक हुने पुरुष फ्रेन्चाइज बास्केटबल लिगमा ८ वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । 

नेपाल बास्केटबल संघ (नेबा) र टर्नपाइक इभेन्ट प्रालिको संयुक्त समझदारीमा हुने प्रतियोगितामा विभिन्न ८ वटा शहरले सहभागिता जनाउनेछन् । सहभागी टोलीले २ जना विदेशी खेलाडी राख्न पाउनेछन् । 

हरेक टोलीले १२ जना खेलाडी राख्न पाउनेछन् । यस्तै, आयोजकले मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र म्यानेजर अनिवार्य गरेको  छ । 

प्रतियोगिताका लागि मोफसलबाट ३० प्रतिशत खेलाडी हुनेछन् । ७० प्रतिशत खेलाडी भने काठमाडौंभित्रका हुने जानकारी गराइएको छ । 

प्रतियोगिता आगामी वैशाखमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुन नेबाका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले बताए । प्रतियोगितालाई आधार मानी राष्ट्रिय खेलाडी छनोट हुने बताउँदै आगामी दिनमा महिला तथा जुनियर लिग हुने जानकारी दिए । 

प्रतियोगिताको ४० प्रतिशत आम्दानी नेपाल बास्केटबल संघलाई जाने टर्नपाइकका कार्यकारी निर्देशक उमेश लोहनीले बताए ।