आफ्नै पार्टीको सरकारलाई कांग्रेसको ८ बुँदे ध्यानाकर्षण

आफ्नै पार्टीको सरकारलाई कांग्रेसको ८ बुँदे ध्यानाकर्षण

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २९, २०७८

आफ्नै पार्टीको सरकारलाई नेपाली कांग्रेसले सबै नागरिकलाई कोरोना भाइरसको खोप पुर्‍याउनसहित ८ बुँदे माग राखेर ध्यानाकर्षणपत्र बुझाएको छ । 

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर नेतृत्वको वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले बिहीबार ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएकी हुन् । 

यस्तो छ ८ बुँदे ध्यानाकर्षणपत्र 

१. परीक्षणको दायरा बढाई समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्नुपर्ने । 

२. वृद्ववृद्वा/दीर्घरोगीहरू र बालबालिकाहरू बढी जोखिममा पर्ने हुँदा उच्चप्राथमिकतामा राख्ने । 

३. नेपालमा तत्काल सबै नागरिक सामु खोप/बुष्टर पुर्‍याउनुपर्ने दायित्व र प्राथमिकता नेपाल सरकारको भएको हुँदा पर्याप्त खोप/बुष्टरमा सर्वसाधारणको सहज र सरल पहुँच पुर्‍याउन सम्बन्धित सबै संयन्त्रलाई परिचालन गर्नका लागि निर्देशन दिने । 

४. नयाँ भेरिएन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दै देशभरका स्वास्थ्य केन्द्र, अस्पतालहरूमा पर्याप्त तयारीका लागि सरकारबाट सक्दो सहयोग प्रदान गर्ने । 

५. स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सुरक्षाकर्मी एवं कोरोना रोकथामका लागि खटिरहनुभएका ‘फ्रन्टलाइनर’लाई प्रोत्साहन स्वरूप कोरोना सुविधा/राहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोरोना बीमाको व्यवस्था गर्ने । 

६. नयाँ भेरिएन्ट फैलिन नदिन सीमामा हेल्थ डेस्क, होल्डिङ सेन्टर/आइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्ने । 

७. कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारको तर्फबाट तुरुन्त योजना बनाई कार्यान्वयन गर्ने/गराउने ।  

८. कोरोना भाइरसलाई फैलिन नदिनका लागि आफू र अरूको जीवन रक्षाका लागि जनचेतना कार्यक्रम गरी न्यूनतम मापदण्ड पालना गर्न/गराउन, कडाइका साथ पहल गर्ने/गराउने ।