खोटाङ प्रशासनको आदेश : २५ जना भन्दा बढी भेला हुन नपाइने

खोटाङ प्रशासनको आदेश : २५ जना भन्दा बढी भेला हुन नपाइने

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ३०, २०७८

खोटाङ ।  कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउनका लागि भन्दै प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले बिहीबार राति १२ बजेदेखि अर्को सूचना नभएसम्म लागू हुने गरी स्वास्थ्य सुरक्षा सावधानी सम्बन्धी ७ बुँदे आदेश जारी गरेका हुन् । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिस एवं गृह–मन्त्रालयको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै प्रजिअ दाहालले स्वास्थ्य सुरक्षा सम्बन्धी आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रशासनले कोभिड–१९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक लगायतका गतिविधिहरू सञ्चालन गर्दा तथा घर बाहिर वा सार्वजनिक स्थलमा निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, समय–समयमा साबुन पानीले हात धुन वा सेनीटाइजरको प्रयोग गर्न लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न/गराउन आग्रह गरेको छ । यस्तै, २५ जना भन्दा बढी मानिसको उपस्थितिमा हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सव एवं सामाजिक लगायतका कार्यहरू नगर्न/नगराउन आदेश जारी गरिएको छ । 

यस्तै, धेरै मानिस उपस्थित हुने गरी राजनीतिक, प्रशासनिक, सामाजिक एवं भिडभाड हुने प्रकृतिका कार्यक्रम नगर्न/नगराउन, अत्यावश्यक र नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन आदेशमा भनिएको छ । आगामी ७ माघदेखि कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क लगायतका सार्वजनिक निकाय तथा स्थलमा प्रवेशका क्रममा अनिवार्य खोप कार्ड देखाउनु पर्ने आदेश जारी गरिएको छ । साथमा खोप कार्ड नभएको अवस्थामा मोबाइलमा खिचेको खोप कार्डको तस्बिर देखाएर पनि सार्वजनिक स्थानमा प्रवेशको अनुमति दिइने प्रशासनले जनाएको छ ।

यस्तै, सम्वन्धित स्थानीय तहले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा २६ पुसमा जारी विज्ञप्तिअनुसार कार्य गराउन, सेवाग्राहीको बढी चाप हुने कार्यालयमा भिडभाड नहुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्ने भनिएको छ । 

यस्तै, सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न, सबै यात्रुले अनिवार्य मास्क लगाउन, मास्क नलगाउने यात्रुलाई सवारी साधन प्रवेश गर्न नदिन, सवारी साधनको ढोकामा सेनीटाइजरको व्यवस्था गर्न, चालक र सह–चालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनलाई दैनिक सेनिटाइज गर्न प्रशासनको आदेश छ ।