सहिद स्मारक लिग : आज एपीएफसँग शेर्पा र मनाङसँग सातदोबाटोमा भिड्दै

सहिद स्मारक लिग : आज एपीएफसँग शेर्पा र मनाङसँग सातदोबाटोमा भिड्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ३०, २०७८

काठमाडौं ।  सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज शुक्रवारबाट नवौँ चरणका खेल हुँदै छन् । पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई खेल हुनेछन् । 

१ बजे हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेशन जोनबाट उम्कने कोसिस गरिरहेको एपीएफ नवीन लामाको कप्तानीमा हुनेछ भने तालिकाका मध्य क्रममा रहेका शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । 

एपीएफ ८ खेलमा ७ अंक जोडेर दसौँ स्थानमा छ । उसलाई आजको खेलमा जित निकाल्दै कम्तीमा रेलिगेशनको भय हटाउनु छ । शेर्पा भने मध्य क्रममा रहने प्रयासमा हुनेछ । रेलिगेशनको डर टारेको शेर्पाले आफूलाई शीर्ष ६ मा राख्न आजको खेल जित्ने योजना तयार पारेको छ ।

८ खेलमा ११ अंक जोडेको शेर्पा छैटौँ स्थानमा छ । छ । 

आज अपराह्न पौने ५ बजे हुने खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबलाई नवप्रवेश सातदोबाटो यूथ क्लबले चुनौती पेस गर्नेछ । 

अन्जन विष्टको कप्तानीमा रहेको मनाङ लय गुमाएको सातदोबाटोलाई हराउँदै कम्तीमा २४ घण्टाको लागि शीर्ष स्थानको दाउमा हुनेछ । सातौँ चरणमा शीर्ष स्थानमा रहँदै एएफसी कप छनोट हुने मौका गुमाएको मनाङ लिग उपाधि भने आफ्नो नाममा लेखाउने दाउमा छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । 

मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोसमेत मनाङविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने दाउमा छ ।  सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरेको सातदोबाटोले पछिल्ला खेलहरूमा भने लय बिर्सिएको छ । उसले मनाङविरुद्ध पुरानै प्रदर्शनलाई दोहोराउने योजना बनाएको छ । हाल सातदोबाटो ९ अंक जोडेर आठौँ स्थानमा रहेको छ ।