इग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि भित्र्याउला ?

इग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि भित्र्याउला ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १, २०७६

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता मे ३० देखि इग्ल्याण्डमा सुरु हुँदैछ । राउन्ड रोविनका आधारमा खेलाइने प्रतियोगिताको लिग चरणमा सहभागी टिमले हरेक टिमसँग एक–एक खेल गरी लिग चरणमा ९ खेल खेल्नुपर्नेछ । त्यसकारण यो प्रतियोगिता अलि कठिन मानिएको छ ।

इग्ल्याण्डको सम्भावना कति ?

प्रतियोगितामा इग्ल्याण्डसँगै भारत, अस्ट्रेलिया र दक्षिण अफ्रिकालाई दाबेदार मानिएको छ । तर, इग्ल्याण्डलाई घरेलु ‘कन्डिसन’को फाइदा छ । त्यसकारण इग्ल्याण्डको उपाधि जित्ने सम्भावना बढी छ । यसअलावा इग्ल्याण्डलाई प्रतियोगितामा अन्य विभिन्न फाइदा पनि छन् ।

घरमा पलडा भारी

सन् १९९९ को विश्वकपमा बाहेक घरमा आयोजना गरिएका हरेक प्रतियोगितामा इग्ल्याण्डले राम्रो प्रदर्शन गरेको छ । यद्यपि, अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
इग्ल्याण्डले सन् १९७९ को विश्वकपमा फाइनल तथा सन् १९७५ र १९८३ मा सेमिफाइनलसम्म पुगेको थियो ।

घरेलु परिस्थिति

इग्ल्याण्डमा पलपलमा मौसम बदलिरहन्छ । घाम लागेका बेला ब्याट्सम्यानका लागि परिस्थिति अनुकूल हुन्छ साथै स्पिनरलाई मद्दत मिल्छ । बादल लाग्दा तथा तीव्र हावा चल्दा भने फास्ट बलरलाई खेल्न मुस्किल हुन्छ । इग्ल्याण्डमा यस्ता बलर छन्, जो आफ्नो स्विङबाट विश्वभरका ब्याट्म्यानलाई चक्मा दिन सक्छन् ।

फर्ममा टिम

इग्ल्याण्ड आइसिसी वनडे र्याङ्किङमा पहिलो स्थानमा छ । पछिल्लो केही समययता इग्ल्याण्डको प्रदर्शन दमदार देखिएको छ । भारतसँगको पछिल्लो सिरिज पनि इग्ल्याण्डले २–१ले जितेको थियो । यस्तै, पाकिस्तानसँग चलिरहेको सिरिजमा पनि इग्ल्याण्डले राम्रो प्रदर्शन गरिरहेको छ ।

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अहिलेसम्म उपाधिविहीन इग्ल्याण्डले यसपटक उपाधि भित्र्याउन सक्ला कि नसक्ला ? यसबारे ठोकुवा गर्न नसके पनि इग्ल्याण्डलाई उपाधि जित्ने अवसर छ ।