प्यालेस्टिनी भूमिको स्पर्श : मृत सागरमा तैरिँदा ब्युँतिएका सपना
पुष ३०, २०७८

गोलान हाइट्स र सी अफ ग्यालिलीको यात्रा गरेर फर्किंदा हाम्रा प्रशिक्षक योहोसुवाले अर्को यात्रामा मृत सागर (डेड सी) लैजाने कुरा बताएपछि मेरो मनको मझेरीमा उत्साहको तरंग फैलिएको थियो । झन् उनले डेड सी जाँदा ‘प्यालेस्टिनी भूभागमा समेत प्रवेश गरिने’ प्रसंग निकालेपछि त ‘उडूँ कि गुडूँ म’ भनेजस्तो भएको थियो मलाई ।

हुनत तालिमको प्याकेजमै गोलान हाइट्स, सी अफ ग्यालिली, जेरुसलेम, जिसस क्राइस्टलाई क्रुसिफाइड गरिएको चर्च, गोल्डेन टेम्पल, हेब्रु विश्वविद्यालय, इजरायलको विदेश मन्त्रालय, तेल अबिब, मसादा, जेरिको तथा डेड सीको भ्रमण पनि समावेश गरिएको जानकारी पहिला नै पाएको थिएँ । तथापि गोलान हाइट्सको यात्रा अत्यन्तै रमाइलो भएकाले अर्को झन् रोमान्चकारी यात्राको कल्पना गर्दा उमंगले धुरी चढेको हो ।

८ फागुन २०५५ शनिबारको दिन इजरायलको हाइफा शहरबाट बसमा यात्रा सुरु गरियो । संसारको सर्वोच्च शिखर सगरमाथाको देशबाट आएको मान्छे म । समुद्रको सतहबाट ४३०.५ मिटर तल रहेको डेड सीमा पौडी खेल्न ज्यादै नै आतुर थिएँ ।  

प्यालेस्टिनी स्वायत्त शासन भएको सानो शहर जेरिकोमा गाडी रोकियो । जोर्डन उपत्यकाको पश्चिम किनारमा अवस्थित यस शहरको पूर्वमा जोर्डन नदी र पश्चिममा जेरुसलेम पर्ने रहेछ । समुद्र सतहभन्दा २८५ मिटरमुनिको उचाइमा रहेको यस शहरको जनसंख्या झन्डै १५ हजार रहेछ । स्थायी रूपमा बसोबास भएको विश्वकै सबैभन्दा होचो स्थानमा रहेको शहर रहेछ जेरिको । यसलाई सन् १९४९ देखि १९६७ सम्म जोर्डनले हडपेको रहेछ भने सन् १९६८ देखि १९९३ सम्म इजरायलले आफ्नो भूभागमा गाभेको रहेछ । सन् १९९४ देखि मात्र जेरिको प्यालेस्टिनले फिर्ता पाएको रहेछ ।   

प्यालेस्टिनको यस्तो ऐतिहासिक भूभागमा टेकेर मैले यासेर अराफातलाई एक पटक सम्झिएँ अनि झन्डै सर्पको काँचुली जस्तै देखिने उनको पगरी वा शिरमा सजिने पोसाकलाई पनि सम्झिएँ ।

२०३६ सालको विद्यार्थी आन्दोलनमा हामी होमिएका बेला प्यालेस्टिनी जनताको स्वतन्त्रताको आन्दोलन तथा यासेर अराफातको नेतृत्वको कुरा खुबै हुने गथ्र्यो । त्यति बेला उनी झन्डै ५० वर्षका थिएँ । त्यसको एक दशकअघि अर्थात् सन् १९६९ देखि प्यालेस्टिनी मुक्ति संगठनको अध्यक्षको हैसियतमा आन्दोलन हाँकिरहेका थिए उनी । अराफात सन् १९९४ मा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणको राष्ट्रपतिको कार्यभार सम्हाल्न सफल भएका थिए ।   

इजरायलका शहरहरू र प्यालेस्टिनी शहरको बीचमा तुलना नै गर्न नसकिने भिन्नता देखियो । घरहरूको बनोट, शहरको सफाइ, सडकमा पैदल यात्रा गरिरहेका मानिसहरूको अवस्थामा आनको तान फरक देख्न सकिन्थ्यो । इजरायल एकदम धनी जस्तो देखिन्थ्यो भने प्यालेस्टिन एकदम गरिब ।  

जेरिकोबाट हिँडेको १५ मिनेटमै डेड सीको उत्तरपूर्वी किनारमा पुगियो । डेड सी र पारिपट्टि जोर्डनका पहाडी भूभाग हेर्दै हामी डेड सीको दक्षिणी किनारमा पुग्यौँ । बीचमा अल्मोंग, क्वालया, एन गेडी र मसादा रहेछन् । बाटामा थुप्रै किबुत्जहरू (सामुदायिक फार्म तथा बस्ती) पनि रहेछन् । डेड सी पुग्नुअघि बाटोमा इजरायल र जोर्डनको सिमानामा एक किलोमिटर छाडेर काँडेतार लगाइएको रहेछ । सिमाना छुट्टयाउने जोर्डन नदी सानो भएकाले राम्रोसँग देख्न सकिएन । किनारा मात्र देखियो ।  

सन् १९९४ मा जोर्डनका राजा हुसेन र इजरायलका प्रधानमन्त्री इज्याक रविनबीच शान्ति सम्झौता भएपछि २ देशबीचको सम्बन्ध राम्रो नै रहेछ । उक्त सम्झौता भएको एक वर्षपछि नै प्रधानमन्त्री भएकै समयमा रविनको तेल अभिवमा हत्या भएको थियो भने एक महिनाअघि मात्र सन् १९९९ फेब्रुअरीमा राजा हुसेनको देहावसान भएको थियो ।  

डेड सी इजरायल, जोर्डन र प्यालेस्टिनको भूभागमा पर्ने रहेछ ।  मसादा नजिकै पुगेपछि उत्तरी डेड सी समाप्त हुँदो रहेछ । केवल एउटा नहर जस्तोबाट पानी दक्षिणी डेड सीमा जाँदो रहेछ । १२ वर्षअघि सागर भएको ठाउँमा अहिले जमिन देखिँदो रहेछ ।  

बाटोमा जाँदै गर्दा एकान्त ठाउँमा कार रोकेर जोडीहरू डेड सीमा फ्लोटिङ गरिरहेको दृश्य देखेपछि आफूलाई पनि ‘कति बेला त्यसैगरी सागरमा तैरिने कार्य गरूँ’ जस्तो भइरहेको थियो ।  

एक्कासी गाडी एन बोकेक भन्ने स्थानमा रोकियो । यो भूभाग इजरायलमा पर्ने रहेछ । त्यहाँ ‘संसारको  सबभन्दा होचो भूभागमा स्वागत छ’ भन्ने होर्डिङ बोर्ड देख्दा मैले झल्झली नेपालको विश्वको ताज सगरमाथालाई सम्झिएँ ।  

योहोसुवाले माइकबाट सबैलाई सूचना प्रवाह गर्दै लन्चको कुपन दिएर ‘१ बजे गाडीमा आइपुग्न’ सबैलाई आग्रह गरे । हामीसँग २ घण्टा १० मिनेटको समय थियो डेड सीमा लन्चसहित मनोरन्जन लिनका लागि । डेड सीको किनारमा हायात क्राउन प्लाजालगायत अन्य केही ठूला होटलहरू रहेछन् ।  

महिला साथीहरू लन्च नखाईकन पौडी खेल्न गए । मेरो रुम पार्टनर दक्षिण अफ्रिकाका सिम्पेवे, पपुवा न्युगिनीका लुथर र मचाहिँ लन्चपछि मात्र पौडी खेल्ने निर्णयमा पुग्यौँ । मलाई त सुरुमै जान मन लागेको थियो तर सिम्पेवेले ‘धेरै नै भोक लाग्यो’ भनेकाले यो निर्णयमा पुगिएको थियो ।

किनारमा चप्पल राखेर म डेड सीमा पसेँ । तुरुन्तै खुट्टा चहर्‍याउन थाल्यो । घाँटीसम्म पानी आउन्जेल बिस्तारै अगाडि बढेँ अनि अलिक वर फर्किएँ । नुनिलो पानी आँखामा पर्दा समस्या हुने तथ्यलाई मध्यनजर गरी आँखा नै खोलेर पानीमा डुब्ने वा चप्ल्याङ आवाज आउने गरी ज्यान छाडेर पानीमा हाम्फाल्ने अवस्था थिएन

रेस्टुरेन्टकै मेल ड्रेस चेन्जिङ रूममा स्विमिङ कस्टम र चप्पल लगाएर ३ जना सँगै डेड सीतिर हानियौँ । किनारमा थुप्रै महिला, पुरुष तथा बालबालिकाहरू शरीरमा माटो दल्दै लडिबुडी गरिरहेका थिए । कोही बालुवामा सुतिरहेका, कोही किनारमै प्लास्टिकको कुर्सी लगी त्यसैमा बसेर अवलोकन गरिरहेका तथा कोही सागरको पानीमा तैरिइरहेका थिए । ससाना बालबालिकाहरू चाहिँ खोरबाट भर्खर बाहिर निस्किन पाएका पाठाहरूले आँगनमा बुर्कुसी मारेझैँ यत्रतत्र कुदिरहेका थिए । माहोल गज्जब रमाइलो थियो ।

मलाई आफ्नो बाल्यकालमा घर नजिकै मलेखु खोलाको हिर्मिरेको रहमा ढुंगाबाट हामफालेको सम्झना आयो । मलेखु किनारको बालुवामा तिनै बालबालिका जस्तै कुदेको, लडिबुडी गरेको तथा खेलेको स्मरण भयो । २ जना साथीहरूलाई छाडेर म त कुदेरै किनारमा पुगेँ ।  

कुद्नुअघि एउटा एउटा सानो होर्डिङ बोर्डमा ‘डेड सीमा टाउको नडुबाउनू, डाइभ नगर्नू, हाम्फाल्ने काम नगर्नू, पानी ननिल्नू, आफूलाई वा अरूलाई पानी नछ्याप्नू, बिस्तारै पस्नू अनि त्यसरी नै बाहिर निस्कनू, धेरै खानेपानी पिउनू’ आदि जस्ता कुराहरू पढेको थिएँ । सबैभन्दा डरलाग्दो कुरो त ‘यदि पानी निलिहालेमा तुरुन्तै लाइफ गार्ड वा प्राथमिक उपचारका सामग्री प्रदान गर्ने व्यक्तिलाई खबर गर्नू’ भनेर लेखिएको थियो ।  

किनारमा चप्पल राखेर म डेड सीमा पसेँ । तुरुन्तै खुट्टा चहर्‍याउन थाल्यो । घाँटीसम्म पानी आउन्जेल बिस्तारै अगाडि बढेँ अनि अलिक वर फर्किएँ । नुनिलो पानी आँखामा पर्दा समस्या हुने तथ्यलाई मध्यनजर गरी आँखा नै खोलेर पानीमा डुब्ने वा चप्ल्याङ आवाज आउने गरी ज्यान छाडेर पानीमा हाम्फाल्ने अवस्था थिएन । तथापि, ‘डुब्दा कस्तो होला त ?’ भन्ने कौतूहलले मन-मस्तिष्कमा अड्डा जमाउन थाल्यो ।  

एक मनले भन्यो, ‘छाड्दे केटा, डुब्न बल नगर ।’ अर्को मनले भन्यो, ‘हैट ! बच्चैदेखि मलेखु खोला र त्रिशूली नदीमा पौडी खेलेर हुर्केको मान्छे, किन डराउने ?’

दोस्रो मनको पल्ला भारी भएपछि आँखा चिम्म गरेर डेड सीमा डुबेँ म । दुवै कानको चस्मा अड्याउने  ठाउँमा चहर्‍यायो । तत्काल टाउको बाहिर निकालेँ । आँखा पोल्न थाल्यो । आँखा नखोलीकन नै किनारमा गएर हातले टाउको र अनुहारबाट पानी तर्काउने काम गरेँ । आँखा रमरम गर्न थाल्यो । झट्ट एउटा आइडिया फुर्‍यो । तातो बनाएर पानी सुकाउन दुवै आँखामाथि हत्केलाले एकछिनसम्म रगेड्ने काम गरेँ । त्यो रगडाइले पोलेको आँखालाई केही सजिलो बनाइदियो ।  

नुनिलो पानी ननिल्ने कुरामा प्रतिबद्ध भए तापनि ‘पानीको स्वाद कस्तो छ त ?’ भनेर चाख्ने इच्छाले मलाई हैरान बनायो । डेड सीमा चोर औँला मात्र चोपेर बिस्तारै अर्को हत्केलामा पानी खसालेँ । कति चोप्दा कति थोपा पानी झर्छ भन्ने कुराको अभ्यास गरेँ । २ पटक त्यसो गरेपछि तेस्रो पटक औँला चोपेर जिब्रोमा पानी खसाल्न लाग्दा सिम्पेवेले ‘हे सदान्, स्टप इट’ भन्दै सचेत गराए । ठूलो आवाजमा उनको बोली सुनेर झसंग भएछु म ।

३ थोपा पो खसेछ । एकदम नुनिलो भयो । निकै नै चहर्‍यायो । भान्साकोठाको भुइँमा सफा गर्दा पोछा लगाएजस्तै गरेर मैले हत्केलाले जिब्रोमा ४-५ पटक सफाइ गरेँ । यस्तो अनुभव गर्दा चहर्‍याए पनि उल्कै सन्तुष्टि मिलेको अनुभूति गरेँ मैले ।   

डेड सीमा सबैभन्दा उच्चतम आनन्द लिने काइदा नै फ्लोटिङ यानिकि, पानीमा तैरिने कार्य भएकाले फेरि सागरमा पसेँ । उत्तानो परेर सुतेँ । माथिमाथि तैरिँदा बिछट्टै मज्जा आयो । डेड सीमै उत्तानो परेर तैरिएर पत्रिका नै पढिरहेको अरू कसैको फोटो देखेको थिएँ । तर, मैले पत्रिका नलगेकाले त्यसको आनन्द लिन भने पाइनँ ।    

डेड सीमा पानीमा तैरिइरहेका बेला मैले हाम्रो बाल्यकालमा ४-५ भोटो बढी फटाएका रिचोकटारका महसुर पौडीबाज वसन्त सिलवाललाई सम्झेँ । दुवै हात जोडेर नमस्ते गरी गरी खुट्टाले मात्र खियाएर त्रिशूली तर्ने उनको चर्चा खुब हुने गथ्र्यो त्यतिबेला । त्यस्तो अभ्यास मलेखुको रहमा निकै गरे पनि पौडी खेल्दै त्रिशूली तर्दा मैलेचाहिँ बाँकटे हान्नै परेको थियो ।    

मैले लुथरलाई खोटो खिचिदिन आग्रह गरेँ । म डेड सीमा उत्तानो परेर तैरिँदै दुवै हातले भिक्ट्रीको ‘भी’ आकार देखाएको फोटो खिचिदिए लुथरले । खेती किसानीमा पर्म लगाएजस्तै गरी मैले उनको तैरिँदै गरेको फोटो खिचिदिएँ । अत्यन्तै रमाइलो भयो ।   

डेड सीमा तैरिँदाको आनन्दानुभूतिलाई संस्मरणको रूपमा लिपिबद्ध गर्ने विचार मेरो मनमा आयो । यसरी आफ्नो सानैदेखिको लेखक बन्ने सपना ब्युँतिएको महसुस भयो मलाई । डेड सीको पानीमा ३२ प्रतिशत नुन भएकाले पानीमा घनत्व बढी हुने कारणले गर्दा नै त्यहाँ जाने मानिसहरू नडुब्ने र माथि सतहमा तैरिने रहेछन् । अन्य समुद्र वा महासागरको भन्दा डेड सीको पानी ९.६ गुना बढी नुनिलो रहेछ । अत्यधिक नुनिलो पानी भएको कारण त्यहाँ माछा, अन्य कुनै जलचर, वनस्पति वा घाँस केही पनि जीवित रहन नसक्ने रहेछ । जोर्डन नदीबाट खेल्दै आएका माछा मृत सागरमा प्रवेश गर्नेबित्तिकै मर्ने रहेछन् । यो सागरमा कुनै जीवजन्तु बाँच्न नसक्ने भएकाले नै यसलाई मृत सागर भनिएको रहेछ ।

डेड सीको पानी बाहिर जाने ठाउँ छैन । पानी वाष्पीकरण भएर सागर आफैँ गन्तव्यहीन बन्छ । यसको लम्बाइ ५० किलोमिटर र चौडाइ बढीमा १५ किलोमिटरसम्म रहेको छ । यसको मुख्य पानीको स्रोत भनेको नै जोर्डन नदी र ससाना नालाहरू हुन् । यसको गहिराइ सालाखाला ३०४ मिटर रहेको छ

हाम्रो टोलीकै महिला साथीहरूले पौडी खेलिरहेको ठाउँभन्दा अलिक पर गएका थियौँ हामी ३ जना । हामीलाई ‘आधा घण्टाभन्दा बढी पौडी नखेल्नू’ भनिएकाले जति रोमान्चित वातावरणमा मज्जा लिने क्रियाकलाप हुँदै गरेको भए पनि त्यसलाई बिट मार्न विवश थियौँ हामी । बालुवामा सुत्ने, लडिबुडी गर्ने तथा शरीरमा माटो दलेर कुद्ने काम बन्द गर्नुपर्दा अलिक नमिठो पनि लाग्यो ।  

ओपन सावरमा नुहाएर ड्रेस चेन्जिङ रुममा गई कपडा फेरेर एउटा खुला टेबलमा आफ्नो डायरी झिकेर लेख्न थालेँ । संसारको छानो सगरमाथाको देशबाट आएर समुद्री सतहबाट ४३०.५ मिटर तल रहेको संसारकै सबैभन्दा होचो सुख्खा जमिन भएको ठाउँ मृत सागरको किनारमा बसेर डायरी लेख्न थाल्दा मलाई गर्वको महसुस भयो । जमिनमुनि भएको खानीमा जान बनाइएको सडकलाई छाडेर भन्दा संसारको सबैभन्दा होचो स्थानमा भएको सडक पनि यही नै रहेछ ।

डेड सीको पानी बाहिर जाने ठाउँ छैन । पानी वाष्पीकरण भएर सागर आफैँ गन्तव्यहीन बन्छ । यसको लम्बाइ ५० किलोमिटर र चौडाइ बढीमा १५ किलोमिटरसम्म रहेको छ । यसको मुख्य पानीको स्रोत भनेको नै जोर्डन नदी र ससाना नालाहरू हुन् । यसको गहिराइ सालाखाला ३०४ मिटर रहेको छ ।    

नुनिलो पानीमा विभिन्न तत्त्वहरू हुने भएकाले त्यहाँ पौडी खेलेपछि छालाका कतिपय रोग निको हुन्छ भन्ने भनाइ पनि रहेछ । किनारको माटो दलेमा छालाको रोग निको हुन्छ भनेर नै धेरै मान्छेहरूले किनारको बालुवामा सुतेर शरीरमा माटो लेपन गरेका रहेछन् । माटोलाई ससाना प्याकेटमा हालेर बेच्न राखिएको पनि रहेछ । एउटा सानो प्याकेटको ९ सेकेल (इजरायली मुद्रा) पर्ने रहेछ ।  

जिन्दगीमा एउटा मीठो अनुभव सँगालेर उर्दीअनुसारको समयभित्रै गाडीमा बस्न पुगेँ म । प्रशिक्षक योहोसुवाले ‘कोही छुटेको छ कि ?’ भन्दै गन्ती गरे । समयमै सबै उपस्थित भएकामा उनले दिएको ‘धन्यवाद’सँगै गाडी रफ्तारमा गुड्न थाल्यो । मेरो मनचाहिँ मृत सागरमा तैरिँदै ब्युँतिएको लेखक बन्ने सपनामा तरंगित भइरहेको थियो ।


डा. कडेल शैक्षिक अनुसन्धाता तथा नीति विश्लेषक हुनुहुन्छ ।