ए डिभिजन लिग: दोस्रो जीतसँगै एपीएफलाई केही राहत

ए डिभिजन लिग: दोस्रो जीतसँगै एपीएफलाई केही राहत

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ३०, २०७८

एपीएफ  फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पालाई १-० गाेल अन्तरले पराजित गर्दै रेलिगेसन संकटबाट माथि उठ्ने संभावना जीवितै राखेको छ ।

आभाष लामिछानेको निर्णायक गोलमा एपीएफले दोस्रो जीत निकाल्यो । पहिलो हाफको इन्जुरी समयमा नवीन लामाको कर्नरमा आभाषले उत्कृष्ट हेड गोल गरे । 

बाँकी समय दुवै टोलीले गोलका केही अवसर बनाए पिन सदुपयोग गर्न सकेनन् । शेर्पाविरुद्ध एपीएफले ३ जना विदेशी खेलाडी उतारेको थियो । पहिलो हाफको इन्जुरी समयमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन ।

एपीएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार अकासिएको थियो ।

६३औँ मिनेटमा मिलनको कर्नरमा उलरिच सिइबीले गरेको हेड बाहिरिँदा हिमालयनले खेलमा फर्कने अवसर गुमायो ।

७०औँ मिनेटमा अर्मान्डले गरेको प्रहार हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले रोक्दा एपीएफले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।

जारी लिगमा एपीएफको यो दोस्रो जीत हो । यसअघि एपीएफले फ्रेन्डस क्लबमाथि जीत हात पारेको थियो ।

हिमालयनको भने यो लगातार दोस्रो हार हो । हिमालयन पछिल्लो खेलमा थ्री स्टार क्लबसँग पराजित भएको थियो ।

जीतपछि एपीएफले ९ खेलमा १० अंकसहित आठौँ स्थानमा उक्लिएको छ । समान खेलमा ११ अंकसहित हिमालयन शेर्पा छैटौँ स्थानमा छ ।