पीएम कपः अपराजित एपीएफ सेमिफाइनलमा

पीएम कपः अपराजित एपीएफ सेमिफाइनलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ३०, २०७८

लुम्बिनी प्रदेशमाथि ७ विकेटको जीत निकाल्दै अपराजित एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी- २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । 

शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा लुम्बिनीले दिएको १०५ रनको लक्ष्य एपीएफले ११ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍याे । 

एपीएफको जीतमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । २६ बल खेलेका आसिफले ४ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, प्रदीप ऐरीले ३६ रनमा बनाउँदा लोकेश बम ७ र सन्दीप जोरा ९ रनमा अविजित रहे ।

लुम्बिनीका बसिर अहमेदले २ र सिद्धान्त साहीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा अल आउट हुँदै १०४ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका देव खनालले सर्वाधिक ४३ रन बनाएका थिए । त्यस्तै, सुशान्त थापाले १८ र कप्तान कृष्ण कार्कीले १३ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंक बनाएनन् । 

एपीएफका कमलसिंह ऐरी, किशोर महतो, अविनाश बोहरा र दीपक बोहराले समान २ विकेट लिएका थिए । त्यस्तै, कप्तान शरद भेषवाकरको नाममा १ विकेट रह्यो ।

एपीएफले समूह 'बी'का ४ खेलबाट ८ अंक जोड्यो । ३ खेलमध्ये एकमा जीत र २ मा हारको नतिजा आत्मसात गरेकाे लुम्बिनी भने तालिकाको चौथो स्थानमा छ ।