कसले भन्छ ओमिक्रोन कम घातक छ ? यतातिर ध्यान दिनुहोस् त

कसले भन्छ ओमिक्रोन कम घातक छ ? यतातिर ध्यान दिनुहोस् त

ज्ञानमित्र  |  दृष्टिकोण  |  माघ २, २०७८

धेरै जना विज्ञले ओमिक्रोन भेरिएन्ट घातक नभएको टिप्पणी गरिरहेका छन । तर, विश्वव्यापी तथ्यांक हेर्दा यो भन्न अथवा मान्न सकिँदैन । विश्वमा प्रत्येक साता झन्डै २ करोड मानिस कोरोना संक्रमित भइरहेका छन् । गत साता विश्वमा ४८ हजार ६६० जनाको संक्रमणका कारण मृत्यु भयो । यसभन्दा अघिल्लो साता यो संख्या ४४ हजार १४६ रहेको थियो । 'अन एभरेज' प्रत्येक दिन ७ हजारभन्दा बढी मानिसको मृत्यु भइरहेको परिप्रेक्ष्यमा ओमिक्रोन कम घातक छ भन्नु कतिको उचित होला ?

अमेरिकामा प्रत्येक दिन औसतमा २ हजार मानिसको ज्यान गइरहेको छ । युरोपेली देशमा प्रत्येक दिन औसतमा २००-३०० मानिसको मृत्यु भइरहेको छ । अस्पताल भर्नाको स्थिति पनि विकराल छ । १३ जनवरीको तथ्यांकअनुसार अमेरिकामा एक लाख ५० हजार ५४६ जना अस्पतालका शय्यामा छन् । यसमध्ये २५ हजार ५२६ जना गम्भीर अवस्थाका संक्रमित आईसीयूमा रहेका छन् । यूकेमा १९ हजार ५३९ जना संक्रमित अस्पताल भर्ना छन् । यसमध्ये ७७७ जना गम्भीर अवस्थाका संक्रमित आईसीयूमा रहेका छन् ।

नेपालभन्दा अलिक बढी जनसंख्या भएको क्यानाडाका अस्पतालमा ९ हजार ४४४ संक्रमित भर्ना छन् । यसमध्ये ७५२ जना गम्भीर अवस्थाका आईसीयूमा छन् ।

फ्रान्समा २४ हजार ५११ संक्रमित अस्पतालमा उपचारार्थ भर्ना छन् । यसमध्ये ३ हजार ८९५ जनाको अवस्था गम्भीर छ ।

विश्वभर झन्डै एक लाख जना गम्भीर अवस्थाका संक्रमितको 'इन्टेन्सिभ केयर'मा उपचार भइरहेको छ । छिमेकी भारतमा ८ हजार ९४४ जना संक्रमित जीवन र मरणको दोसाँधमा संघर्षरत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ११९ जना संक्रमित आईसीयू कक्षमा भर्ना छन् । भेन्टिलेटर सपोर्टमा रहेका बिरामीको संख्या २६ रहेको छ । देशमा (नेपालमा) आईसीयू बेड संख्या जम्मा २ हजार ७९७ र भेन्टिलेटर संख्या एक हजार ८ रहेको छ ।

कृपया ओमिक्रोन कम घातक छ भन्ने भ्रममा नबस्नुहोस् । विज्ञहरूले पनि यस्तो सन्देश प्रवाह नगर्नुहोस् । सर्वसाधारणलाई अनुशासन पालना गर्न भय आवश्यक हुन्छ ।

नेपालमा दैनिक संक्रमित संख्या ५ हजार आउने क्रम सुरु भइसकेको छ । यो कहाँसम्म पुग्ने हो, अनुमान गर्न सकिँदैन । यसबारे विश्व स्वास्थ्य संगठनको एउटा चेतावनीलाई 'बेन्च मार्क'का रूपमा लिन सकिन्छ । युरोपेली देशमा व्याप्त संक्रमणको अवस्था आँकलन गर्दै विश्व स्वास्थ्य संगठनले ओमिक्रोन  भेरिएन्टबाट युरोपको ४० प्रतिशत जनसंख्या संक्रमित हुन सक्ने प्रक्षेपण गरेको छ । नेपाल सरकार तथा नेपालका विज्ञहरूले यो चेतावनी आफ्नालागि पनि भएको बुझे राम्रो हुन्छ ।

भीडभाड भएको ठाउँमा मास्कले सुरक्षा दिँदैन । मास्कको औचित्य तपाईं कुनै एक जना व्यक्तिसँग २ मिटर टाढा रहेर मास्क लगाएर ४-५ मिनेटसम्म गफ गर्नुहुन्छ तबसम्म मात्र छ । हुलमुलमा मास्कले सुरक्षा दिँदैन । तसर्थ सबै जनाले कुनै पनि प्रकारको हुलमुल/भीडभाडबाट जोगिनुपर्ने हुन्छ

विश्वभर नै अहिले घरमै अरडीटी परीक्षण गराउने प्रचलन आएको छ । यसले व्यक्तिलाई सुविधा त दिएको छ तर थप जटिलता पनि ल्याएको छ । अस्ट्रेलियाको कुरा गरौँ- भर्खरै एक जना अस्ट्रेलियामा रहेका आफन्त संक्रमित भए । घरमै उपलब्ध कोरोना टेस्टिङ किटबाट संक्रमित भएको थाहा पाएर आइसोलेसन बसे । तर, उनले आफू संक्रमित भई घरमा आइसोलेसन बसेको जानकारी देशको केन्द्रीय तथ्यांक विभागलाई दिए । कारण: उनले काम गरिरहेको ठाउँबाट संक्रमित हुँदा आइसोलेसन अवधिभरको पारिश्रमिक काम नगरी पनि पाउने  भए ।  यसका अतिरिक्त आस्ट्रेलिया ली सरकारबाट झण्डै ७०० डलर क्षतिपूर्ति पनि पाउने नियमले गर्दा उनले तत्काल नै सरकारलाई आफू संक्रमित भएको सूचना दिए ।

नेपाल सरकारले यस विषयमा संज्ञान लिनु आवश्यक छ । आफैँ परीक्षण गरी संक्रमित भएको सूचना व्यक्तिले कुन ठाउँ, कुन निकायमा दर्ता गराउनुपर्ने हो, त्यसबारे सूचना सार्वजनिक गरिदिनुपर्छ । अरडीटी परीक्षणबाट आफू संक्रमित भएको थाहा पाउनेहरूले सकेसम्म पीसीआर परीक्षण गराउनु उचित हुनेछ ।  कारण: आरडीटी टेस्टबाट भाइरस 'लोड' एवं भेरिएन्टबारे थाहा हुँदैन ।

नेपालमा कोरोना पोजिटिभिटी रेट झण्डै ३० प्रतिशत पुगिसकेको छ । १ माघको तथ्यांकअनुसार देशमा १४ हजार ५५६ परीक्षण हुँदा ४ हजार ६३६ जना संक्रमित देखिए । १०० जनाको परीक्षण गर्दा ३० जना संक्रमित देखिन थाले । नेपालमा संक्रमण डरलाग्दो चरणमा पुगिसकेको छ । सर्वसाधारणले अनुशासन र कोभिड प्रोटोकलको पूर्ण रूपेण पालना नगरे यो क्रम अझै उकालो लाग्न सक्छ ।

अहिलेकै औसतले आउने १०-१२ दिनमा सक्रिय संक्रमितको संख्या एक लाख नाघ्ने अनुमान गर्न सकिन्छ । त्यसै अनुपातमा अस्पताल भर्ना हुनेको संख्या वृद्धि हुन्छ । अस्पतालका ५० प्रतिशत शय्या संक्रमितले ओगटिनासाथ देश अर्कै मनोविज्ञानमा पुग्छ । यसबारे सरकार र विज्ञहरूले मनन गर्नु आवश्यक छ ।

सर्वसाधारणले एउटा कुरा बुझे हुन्छ- मास्कले तपाईंलाई  प्रोटेक्सन दिन्छ, यसमा कुनै शंका लिनुपर्दैन ।  तर, कुन अवस्थामा मास्कले प्रोटेक्सन दिन्छ ? के १० जना भेला भएको ठाउँमा सबैले मास्क लगाए पनि तीमध्ये कोही एक जना संक्रमित छ भने मास्क लगाएका व्यक्ति सुरक्षित हुन्छन् ? भीडभाड भएको ठाउँमा मास्कले सुरक्षा दिँदैन । मास्कको औचित्य तपाईं कुनै एक जना व्यक्तिसँग २ मिटर टाढा रहेर मास्क लगाएर ४-५ मिनेटसम्म गफ गर्नुहुन्छ तबसम्म मात्र छ । हुलमुलमा मास्कले सुरक्षा दिँदैन । तसर्थ सबै जनाले कुनै पनि प्रकारको हुलमुल/भीडभाडबाट जोगिनुपर्ने हुन्छ ।

मास्कको 'लिमिटेसन' बुझौँ । मास्क लगाएर जथाभावी गतिविधि गर्दै हिँड्नु कदापि उपयुक्त होइन । संक्रमणबाट जोगिन घरमै सुरक्षित बस्नुबाहेक अन्य कुनै विकल्प छैन । अतिआवश्यक काम हुनेहरूका अतिरिक्त सबै जनाले घरमै बसेर सहयोग गरौँ । ओमिक्रोन  घातक छ कि छैन भन्ने चर्चा छाडी संक्रमण प्रसार कसरी रोक्नेमा सबै जनाले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ ।