सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा

सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २, २०७८

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी- २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई ७ विकेटले पराजित गरेको छ । यस हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने संभावना समाप्त भएको छ ।

प्रदेश १ को हारसँगै समूह ‘ए’बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ । सेमिफाइनल संभावना कायम राख्न प्रदेश १ लाई आज जित्नै पर्ने दबाब थियो । समूहबाट नेपाल पुलिस क्लबले विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरिसकेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍याे ।

सुदूरपश्चिमको जीतमा राजु रिजालले सर्वाधिक ६८ रन बनाए । उनले ५२ बलमा ९ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, कप्तान सन्तोष भट्टले ४८ रन जोडे । अर्जुन साउदले अविजित २६ रन जोडे । प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५८ रनको योगफल तयार गरेको थियो ।

प्रदेश १ का मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, सोनु अन्सारीले ३१ रन जोड्दा मनीष थापा र कप्तान अंकित थापाले समान २३ रन थपे ।

सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले समान २ विकेट दिए । यस्तै, कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य मेहताले १/१ विकेट हात पारे ।