प्रदेश १ का धार्मिक एवं पर्यटकीय स्थल, वराहपोखरीदेखि हतुवागढीसम्म

प्रदेश १ का धार्मिक एवं पर्यटकीय स्थल, वराहपोखरीदेखि हतुवागढीसम्म

प्रा.डा. सोमप्रसाद खतिवडा  |  पर्यटन  |  जेठ १, २०७६

भुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस, विराटनगरको  संस्कृति विभाग प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडा तयार पार्नु भएको कोशीप्रस्रवणक्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थलहरू विषयक आलेखको पहिलो खण्ड विकासको पखाईमा कोसी प्रस्रवण क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थल, कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल: पाथीभरादेखि अर्जुनधारासम्मकोटीहोमदेखि राधाकृष्ण रथजात्रासम्म, धार्मिक तथा पर्यटकीय स्थल: लक्ष्मीनारायणदेखि बूढासुब्बासम्मपूर्वका गन्तव्यः पञ्चकन्यादेखि हलेसी महादेवसम्म शीर्षकको आलेख प्रकाशन भइसकेको छ । 

खोटाङको एउटा महत्वपूर्ण पर्यटकीय क्षेत्र वराहपोखरी हो । यो पोखरी वराहपोखरी गाउँमा पर्छ । समुद्र सतहदेखि १००० मिटर उचाइमा रहेको यो पोखरी ८०० मिटर लामो र ५०० मिटर चौडा छ । यस पोखरीको पानीको रंग विभिन्न सिजनमा परिवर्तन हुन्छ भन्ने मान्यता छ । यो पोखरीमा वराहविष्णुले स्नान गरेको पौराणिक मान्यता छ । यहाँ विभिन्न प्रजातिका माछा पाइन्छन् । यिनलाई उदयपुरकी रौताकी दिदी पनि भनिन्छ । किंवदन्ती अनुसार रौता र बराहपोखरी दिदीबहिनीले एक पटक झगडा गरेछन् । झगडामा रौताले माछाले वराहपोखरीलाई हान्ने र वराहपोखरीले भ्यागुताले रौतालाई हान्ने गरेछन् । यसैको परिणामस्वरूप रौतामा भ्यागुतामात्र र वराहपोखरीमा माछामात्र छन् भनिन्छ । त्यसअघि यस स्थानमा १२ घर राईहरूको बस्ती रहेको तथा ती घरहरू पानीमा डुबेर पोखरी बनेको हुनाले यसलाई बराह पोखरी भनिएको पनि बताइन्छ । यसैगरी रौता लगायतका १२ दिदीबहिनीका नाममा वराहपोखरी भनिएको कुरा पनि स्थानीय बताउँछन् । यसमा बराह विष्णुले स्नान गरेको पोखरी भएकाले वराह पोखरी भनिएको हो भन्ने कुरा ज्यादा सान्दर्भिक देखिन्छ । यो पोखरी निकै सुन्दर स्थानमा पनि छ । यसको छेउमा शंखेश्वर महादेव मन्दिर र विजुवा विजुवानी थान पनि छन् । तसर्थ खोटाङको पर्यटन विकासमा यसको निकै ठूलो महत्व रहेको छ । 

कालिका देवी

खोटाङमा रहेको कालिकादेवीको मन्दिर यस भेगमा निकै प्रख्यात छ । यहाँ कालीको पूजाआजा हुने गर्छ । कालिकादेवीलाई खोटांगमा निकै शक्तिशाली देवी मानिन्छ । यिनलाई मानिसको मनका कुरा पुर्‍याउने देवीका रूपमा पनि लिने गरिएको छ । यस स्थानमा एउटा सानो गुफा पनि छ । यस गुफामा भने शिवलिंगको आकृति रहेको छ । पर्यटकीय दृष्टिले कालिकादेवी पनि निकै प्रख्यात छ । 

धोद्रेश्वर महादेवगुफा
खोटांङको रतनछाप गाउँमा धोद्रेश्वर महादेवको गुफा छ । यस गुफामा करिव ७०० मानिस अट्न सक्छन् । यस गुफाको मुखका अर्कातिर एउटा प्वाल भएकाले त्यसबाट गुफाभित्र सजिलै प्रकास छिर्छ र मानिसहरू गुफाभित्र जान सक्छन् । यस गुफाका भित्तामा अनेकन् देवीदेवताका आकृतिका साथमा शिवलिंगका स्वरूप पनि देख्न सकिन्छ । यसरी धोद्रेश्वर महादेव स्थान धार्मिक र सुन्दरताका दृष्टिले पनि महत्वपूर्ण छ । 

रौतापोखरी

रौतापोखरी खोटांङको रौता गाउँमा पर्छ । यस पोखरीमा स्वच्छ पानी रहेको छ । यो पोखरी जंगलको बीचमा रहेको भए पनि यसमा रूखका पात भने रहँदैनन् । यहाँ झरेका पातहरू चराले टिपेर बाहिर लैजाने गर्छ भन्ने जनविश्वास रहेको पाइन्छ । यस पोखरीलाई मानिसहरू देवीका रूपमा पूजाआजा गर्छन्  । रौतापोखरी नामको एउटा पोखरी उदयपुरमा पनि छ । 

रौतापोखरी

उदयपुरका थामडाँडा पहाडमा पर्ने धार्मिक दृष्टिले निकै महत्वपूर्ण तथा प्राकृतिक सुन्दरताले भरपुर रौताहा एउटा पोखरीको नाम हो । यिनलाई भक्तहरूको इच्छा पूरा गर्ने देवीका रूपमा पनि पूजाआजा गर्ने गरिन्छ । चिसो हावापानी, सुन्दर वनस्पति र लालिगुराँसका साथमा हरिया डाँडाकाँडाका कारण रौता पोखरी क्षेत्र उदयपुर भेगको अत्यधिक सुन्दर क्षेत्र मानिन्छ । पोखरीको क्षेत्रफल करिव ५ रोपनी जति भए पनि यसको वरिपरि भने हजारौं रोपनी जंगलक्षेत्र रहेको पाइन्छ । यो स्थान समुद्र सतहदेखि करिव १७०० मिटरको उचाइमा अवस्थित छ । यो पोखरी रौता, आँपटार, खाँबु र जालपा चिलाउने गाउँकोे सिमानामा पर्छ । यहाँकी रौता पोखरी र खोटाङकी वराहपोखरीलाई दिदीबहिनी मान्ने परम्परा पाइन्छ ।  

उदयपुरको रौतापोखरी र त्यहाँ छेउकी रौतादेवीलाई साक्षात्, मनोकांक्षा पूरा गराउने र पापीलाई दण्ड दिने देवीका रूपमा पूजाआजा गर्ने चलन पाइन्छ । यिनी दयावान देवीका रूपमा पनि रौताका नामले परिचित भएकी हुन् । आप्mना भक्तहरूको रक्षा गर्ने हुनाले यिनलाई दया, माया र प्रेमकी देवीका रूपमा रौता भन्ने गरिएको विश्वास गरिन्छ । रौतादेवीको थान या रौतापोखरी छेउछाउमा खनजोत गर्न, खेती गर्न, जंगल र बोटविरूवा मास्न, पानी चलाउन तथा फोहरमैला गर्न नहुने तथा त्यसो गरिएमा यी देवीको कुदृष्टि परेर त्यसो गर्ने मानिसको मृत्युसम्म हुने जनविश्वास छ । साथै यी देवी खुसी भएको खण्डमा यिनले भक्तहरूको मनोकांक्षा पूरा गर्ने विश्वास पनि गरिन्छ । तसर्थ यस पोखरीको छेउछाउमा मानिसहरू फोहरमैला गर्दैनन् भने यस वरपर जंगल फँडानी पनि त्यति भएको छैन । यस पोखरीको पानी खेती र अन्य प्रयोजनका लागि प्रयोग गर्न स्थानीय डराउँछन् । यसै विश्वासका कारणले गर्दा यहाँको वातावरण स्वच्छ छ र वन फँडानी भएको देखिँदैन । तसर्थ, पर्यावरण संरक्षणका लागि समेत यस स्थानसँग सम्बन्धित जनविश्वासले सहयोग गरेको छ । 

रौतामाईलाई कन्या माई मानिन्छ । त्यसकारण त्यस स्थानमा गएर विवाहवारी गर्न, प्रेमालाप गर्न तथा विवाहवारीको प्रस्ताव राख्न पनि नहुने जनविश्वास छ । यदि कसैले त्यहाँ त्यस्तो गतिविधि गरेमा तिनीहरू बिरामी तथा अन्य प्रकारका क्षति हुने विश्वास छ । यसैगरी विवाहका अवसरमा चढाइने सामग्री पनि यी देवीलाई चढाइँदैन । यस भेगमा विवाहपश्चात् नव दुलहा र दुलहीलाई घुमाउन लैजाने चलन पनि रहेको पाइँदैन । 

उदयपुरको रौतापोखरी क्षेत्रमा मकर संक्रान्ति, नयाँ वर्ष र रामनवमीका अवसरमा मेला लाग्ने गर्छ । यसबाहेक अन्यत्रबाट आउने यात्रीहरू उक्त स्थानमा जुनसुकै अवसरमा पुग्ने भए पनि तीज, बालाचतुर्दशी, शिवरात्रिलगायत पर्वमा श्रद्धालुको भीड लाग्ने गर्छ । 

मैनामैनी 

उदयपुरको मैनामैनी गाउँमा मैनामैनी स्थान पर्छ, जहाँ मैनामैनीको सामान्य मन्दिर रहेको देखिन्छ । वर्तमानको मन्दिरको स्वरूप भर्खरै मात्र बनेको भए पनि मध्यकालतिर त्यहाँ एउटा भब्य मन्दिर थियो, जुन कालक्रमले जीर्ण भई भत्किएर गयो भन्ने कुरा त्यस स्थानका भग्नावशेषहरूबाट स्पष्ट हुन्छ । त्यहाँका थुप्रै पुराना देवप्रतिमा हराए र नासिए भने बँचेखुँचेका मूर्ति एउटा मन्दिर निर्माण गरी त्यसैमा राखिएका छन् । विगतमा मैनामैनी स्थानमा पक्की इँटाबाट निर्मित एउटा भब्य मन्दिर रहेको कुरा त्यस स्थानमा यत्रतत्र छरिएका विभिन्न आकारप्रकारका इँटाले स्पष्ट पार्छ । त्यहाँ विभिन्न आकार र प्रकारका इँटा तथा पर्खालमा लगाइने पूmलबुट्टायुक्त इँटा यत्रतत्र छरिएर रहेका देखिन्छन् । तसर्थ, अघि त्यहाँ झिंगटीको छाना भएको तलेशैलीको मन्दिर भएको अनुमान गर्न सकिन्छ । 

मैनामैनीमा पाइएका सग्ला मूर्तिमा एउटा मैनारानी र अर्को शिवलिंग हुन् । ती दुई मूर्तिमध्ये पनि त्यहाँको प्रमुख मूर्ति मैना रानीको हो । तिनलाई मैनारानी र मैनामैनी पनि भन्ने गरिन्छ  । त्यसलाई  कुन आधारमा मैनारानी भनिएको हो भन्ने कुरा स्पष्ट छैन । तर पनि स्थानीय मानिसहरूले मैनारानीलाई पार्वती मानेर पूजाआजा गर्ने गर्छन् । मैनारानी छेउमा एउटा सादा शिवलिंग राखिएको छ । तसर्थ मैनारानीको मूर्तिलाई पार्वतीको मूर्ति मान्ने गरिएको हो । मैनारानीको मूर्ति एउटा कालो प्रस्तरमा निर्मित छ, जसको उचाई ४७ इञ्च रहेको देखिन्छ । दुई हातयुक्त उक्त प्रतिमामा हातका हत्केला टुटेर गएका हुनाले हातमा के आयुध लिएको थियो भन्ने कुरा स्पष्ट छैन । शैलीगत हिसावमा मैनारानीको प्रस्तर मूर्तिलाई ईसाको चौधौं÷पन्ध्रौं शताब्दीतिर निर्माण भएको मान्न सकिन्छ । यसरी मैनामैनीलाई मैनाराजा मैनारानी पनि भन्ने गरिएको छ । यसका साथमा तिनलाई शिवजी र पार्वतीको प्रतिरूप मानिन्छ । मैनामैनी गाउँमा तागाधारी राईहरूको बसोवास छ । तिनीहरू आफ्हरूलाई कुनै ऋषिको सन्तान बताउने गर्छन् । उनीहरूको सम्बन्ध वराहक्षेत्रसँग पनि रहेको बताइन्छ । यसरी मैनामैनीको सांस्कृतिक सम्बन्ध वराहक्षेत्रसँग पनि रहेको देखिन्छ ।   

बेलका

बेलका उदयपुर जिल्लाको पूर्वी भागमा पर्छ । यहाँ अघि बेलका राजाको दरबार थियो भनिन्छ । हाल बेलका नपाभित्र पर्ने बेलका एउटा सानो ढिस्काको नाम हो । हाल त्यस स्थानमा पुराना इँटाका अवशेष पाइन्छन् भने मुगा, गरगहना र अन्य बहुमुल्य वस्तुहरू पनि बेलकाबाट पाइने गरेका छन् । यस स्थानका बारेमा स्थानीय मानिसहरूमा अनेक प्रकारका लोकोक्ति र किंवदन्तीहरू पाइने गरेका छन् । यस स्थानको ऐतिहासिकता खोजी गरी प्रचारप्रसार गरिएको खण्डमा यसले पनि उदयपुर भेगको पर्यटन विकासमा सहयोग गर्ने देखिन्छ । 

त्रिवेणी

तीनवटा जलधारा मिसिएको स्थानलाई त्रिवेणी भनिन्छ । तीनवटा ठूला नदीहरू मिसिएको स्थान धार्मिक रूपले पनि महत्वपूर्ण मानिन्छ । कतिपय स्थानमा भने दुईवटा ठूला र पवित्र नदी मिसिएका स्थानलाई पनि त्रिवेणीका नामले जान्ने गरिन्छ । त्यहाँ अदृश्य अर्को नदी पनि मिसिएको हुने मान्यतामा त्यस्ता स्थानलाई त्रिवेणी मान्ने गरिएको हो । विशेषगरी त्रिवेणीहरू स्नानका लागि प्रख्यात छन् । तिनीहरू धार्मिक रूपमा पनि पवित्र मानिन्छन् । ठूला नदीहरू मिसिएका स्थानलाई महात्रिवेणी भनिन्छ, जहाँ माघमा स्नान गर्नु पुण्यदायी मानिन्छ । त्यस्ता स्थानमा ठुल्ठूला मेला पनि लाग्छन् । कुम्भ मेलाका लागि पनि महात्रिवेणी उपयुक्त स्थान मानिन्छन् । 

नेपाल र भारतका विभिन्न स्थानमा त्रिवेणीका नामले प्रख्यात तीर्थहरूको संख्या निकै ठूलो छ । तिनीहरूमध्ये कोशी नदीको त्रिवेणी तथा उदयपुरको कटारीस्थित कमला नदी स्थानको त्रिवेणी स्नानका लागि अति उत्तम स्थान मानिन्छन् । किंवदन्ती अनुसार अघि स्वर्गबाट देवता र अप्सराहरूसमेत यस स्थानमा स्नानका लागि आउँथे भन्ने गरिन्छ । विशेषगरी मकरसंक्रान्ति, कार्तिकपूर्णिमा, व्यासपूर्णिमा, होली, रामनवमी, कृष्णजन्माष्टमी, छैठ लगायतका उत्सव तथा पर्वहरूमा यस स्थानमा मानिसहरूको भीडभाड लाग्दछ र ठुल्ठूला मेला लाग्ने गर्छन् । कोशी नदीमा पनि त्रिवेणी छ, जहाँ सुनकोशी, अरूण र तमोर मिसिएका छन् । धार्मिक रूपमा यस स्थानको पनि ठूलो महिमा रहेको पाइन्छ । तर, भौगोलिक विकटताले यस स्थानमा मानिसहरू स्नानका लागि कमै पुग्छन् । त्यसको नजिकै रहेको कोकामुख वराहक्षेत्रमा स्नान गर्ने परम्परा रहेकाले पनि कोशीको त्रिवेणीमा स्नानको प्रचार नभएको हो । यता कमला नदीको त्रिवणी पनि स्नानका लागि प्रख्यात छ । विशेष गरी मकरसंक्रान्तिका दिन त्यस स्थानमा स्नान गर्ने मानिसहरूको ठूलो भीड लाग्ने गर्छ । त्रिवेणीको स्नान पवित्र र पुण्यदायी हुने मान्यता राखिन्छ र त्यस्ता स्थानहरूमा मेला पनि लाग्ने गर्छन् । तसर्थ, उदयपुर कटारीको र सप्तकोशीको त्रिवेणी पर्यटन विकासका लागि पनि महत्वपूर्ण हुने देखिन्छन् ।  

हतुवागढी

हतुवागढी भोजपुरको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । भोजपुरकोे दक्षिण पूर्वमा अवस्थित हतुवागढी घोडेटार भेगमा पर्दछ । यो भेग भोजपुरदेखि दक्षिण पूर्वमा पर्छ । यो किल्ला माझ किराँतका लडाकूहरूले बनाएको मान्यता छ । यो गढी मध्यकालताका बनेको मान्यता छ । यहाँ गढीका अवशेषहरू यत्रतत्र छरिएर रहेका छन् । हतुवागढी ऐतिहासिक र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिन्छ । किराँत संस्कृतिको अध्ययन गर्ने मुख्य क्षेत्र यही हो । 

दिङ्ला

भोजपुरको उत्तरपूर्वमा अवस्थित दिङ्ला ऐतिहासिक र सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण स्थान हो । यस स्थानलाई हिन्दूहरूको आध्यात्मिक केन्द्र मानिएको छ । हाल त्यहाँ जनस्तरबाट खोलिएको नेपालकै पहिलो षडानन्द संस्कृत पाठशाला छ । उक्त विद्यालय १९३२ सालमा अबाल ब्रह्मचारी षडानन्दले खोलेका हुन् । तसर्थ दिङ्ला धेरै पहिलेदेखि नै संस्कृत पठनपाठनको केन्द्रका रूपमा परिचित थियो । षडानन्दले त्यसै स्थानमा तप गरी सिद्धि प्राप्त गरेको विश्वास गरिन्छ । यता महामाया योगमायाको कर्मथलो पनि दिंग्लाभेग नै थियो । अरूणको रमणीय फाँट र कुम्भकर्ण हिमालको दृश्य देखिने उक्त स्थान प्राकृतिक आकर्षणका लागि पनि प्रख्यात छ । दिङ्ला नेपालको रूद्राक्ष प्राप्ति हुने प्रमुख स्थानका रूपमा पनि परिचित छ । षडानन्द र योगमायाको कर्मथलो दिङ्ला धार्मिक र आध्यात्मिक दृष्टिले उल्लेख्य स्थान हो । त्यहाँ रामनवमी र बालाचतुर्दशीका दिन ठूलठूला मेला लाग्ने गर्छ ।  

निष्कर्ष 

कोशीप्रस्रवण क्षेत्रमा अनेक प्रकारका धार्मिक स्थल, नदी संगम, धार्मिक तथा पवित्र कुण्ड, पोरखी र नदी छन् । यहाँका प्रायः सबै नदी धार्मिक र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिन्छन् । यहाँको सप्तकोशी नदी आफैं पवित्र मानिन्छ भने कोशीमा कोकाखोला मिसिएको स्थान विष्णुको प्रिय स्थान मानिएको छ । यहाँ हिन्दू, बौद्ध र किराँत धर्मका विभिन्न सांस्कृतिक र धार्मिक केन्द्र छन् । विशेषगरी हिन्दूमार्गीका वराहक्षेत्र, चतरा, सिद्धकाली, रामधुनी, हलेसी, पाथिभरा, सभापोखरी, मनकामना र अन्य विभिन्न तीर्थ यस स्थानमा छन् भने किराँतका धार्मिक केन्द्रमा लारूम्बा र अन्य क्षेत्र पर्छन् । हिन्दूका थुप्रै चिन्तक, ऋषिमुनि तथा सिद्धहरू यसै स्थानसँग सम्बन्धित रहेको कुरा संस्कृत साहित्वमा पाउन सकिन्छ । त्यस्तै बौद्धमार्गीका लागि पनि यो क्षेत्र पवित्र मानिन्छ । अघि शाक्यमुनि बुद्धले यस भेगको भ्रमण गरेको, थुप्रै स्थानमा धर्म देशना गरेको तथा बुद्ध पनि पद्धि कैयन् सिद्धले यस क्षेत्रमा बसेको र भ्रमण गरेको विवरण पाइन्छ । तसर्थ यस भेगमा थुप्रै प्रकारका धार्मिक र सांस्कृतिक केन्द्र रहनु स्वाभाविक पनि हो । यस्ता स्थानको शोध, खोज र अनुसन्धान गरी पर्यटन विकासमा समेत लगाएको अवस्थामा यसले देशको आर्थिक उन्नयनमा समेत सहयोग पुग्ने निश्चित छ । 

याे पनि

विकासको पखाईमा कोसी प्रस्रवण क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थल

कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल: पाथीभरादेखि अर्जुनधारासम्म

कोटीहोमदेखि राधाकृष्ण रथजात्रासम्म

धार्मिक तथा पर्यटकीय स्थल: लक्ष्मीनारायणदेखि बूढासुब्बासम्म 

पूर्वका गन्तव्यः पञ्चकन्यादेखि हलेसी महादेवसम्म