अंकितबाबुको ‘कफी क्रस’ सार्वजनिक

अंकितबाबुको ‘कफी क्रस’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ २, २०७८

गायक तथा संगीतकार अंकितबाबु अधिकारीको सांगीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र संगीत समावेश छ । गीतलाई भारतको पश्चिम बंगालका उत्कृष्ट संगीतकार सुमित विश्वकर्माले संयोजन गरेका हुन् । कुनै क्याफेमा कफी पिउँदै गर्दा अर्को टेबलमा बसेको कसैले तपाईंको ध्यान खिचेको छ ? कफीजत्तिकै सुन्दर, मीठो अनि मायालाग्दो ! साँच्चिकै यस्तो अनुभव गर्नुभएको छ भने यो भिडियो पूरा हेर्नुपर्ने अधिकारीको भनाइ छ ।

भिडियोमा एक युवकलाई कफी पिउँदै गर्दा अर्को टेबलमा बसेकी सुन्दरीले आकर्षित गरेको विषय देखाइएको छ । तिनै युवतीको क्रियाकलाप र हाउभाउ देखेर युवक दंग पर्छन् । उनीहरूबीचको आँखा जुधाइ, हेराहेर र अन्य भाव-संवादलाई क्याफेको एक वेटरले नजिकैबाट नियालिरहेको हुन्छ । वेटर गीतमा कहिले हाँस्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमाञ्चक बनेको छ । भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय छ ।

क्याफेको वेटरको भूमिका अंकितबाबु आफैँले पूरा गरेका छन् । 'यो गीत एक प्रयोग हो, मैले गर्दै आएका अन्य गीतभन्दा यो भिन्न छ, यसमा प्रयोग भएका शब्द तथा संगीतले युवा वर्गका कथा भनेजस्तो लाग्छ', उनले भने । अंकितबाबुका चर्चित गीतमा ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’लगायत छन् ।

‘ए-सिरिज’ नामक च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन नवीन भट्टले तथा छायांकन अनिश स्याङ्देनले गरेका हुन् । नवीनले यसअघि ‘मुना’, ‘वसन्त शिशिर’लगायतका जोडदार भिडियो बनाएका थिए ।