पेटमा ११५ किला भेटिएपछि

पेटमा ११५ किला भेटिएपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १, २०७६

तपाईँको पेटभित्र सानो फलामको टुक्रा भयो भने तपाईलाई के होला, कल्पना गर्न सक्नुहुन्छ । तर भारतको राजस्थानका एकजना व्यक्तिको पेटमा ११५ वटा किला भेटिएका छन् । 

काठमाडौं, एजेन्सी । भारतको राजस्थान स्थित बूंदी जिल्ला अस्पतालमा एक जना मानसिक रोगीको पेटको अपरेशन गरेर डाक्टरले ११५ वटा निकालेका छन् । यति धेरै किला ती बिरामीले कहिले र कसरी निले भन्ने बारेमा डाक्टर पनि छक्क परेका थिए । किलाको तौल १०० ग्राम रहेको बताइएको छ । 

बूंदी जिल्ला अस्पतालका सर्जन डा. अनिल सैनीको नेतृत्वमा भएको चिकित्सकको टोलीले सोमबार भोलाशंकर सैनी नाम गरेका ती बिरामीको डेढ घण्टा लामो अपरेशन गरेको थियो । 

डा. सैनीले पेटको एक्सरे गर्दा किलाको मुठो जस्तो देखेका थिए । उनले स्पष्ट हुन पछि डिजिटल एक्सरे गरे । यसमा किला स्पष्ट देखिएको थियो । र सिटी स्क्यान मार्फत किला हो भन्ने पुष्टी भएपछि ती विरामीको शल्यक्रिया गरिएको थियो । 

बिरामी भोलाशंकर पहिले बगैंचामा काम गर्थे, उनका बाबु मदनलालले बताए । उनका पिताका अनुसार मानसिक अवस्था ठीक नभएपछि उनले सो किला निलेको हुनसक्छ ।