छुट कसैलाई पनि छैन, संक्रमित वा सस्पेक्टेड हुँदा हेलचेक्र्याइँ गर्ने

लोकसंवाद टिप्पणी

छुट कसैलाई पनि छैन, संक्रमित वा सस्पेक्टेड हुँदा हेलचेक्र्याइँ गर्ने

ज्ञानमित्र  |  दृष्टिकोण  |  माघ ३, २०७८

हिजो राति ९ बजे एक जना मित्रले फेसबुक म्यासेन्जरमा लेख्नुभयो- 'म हिजो साँझदेखि बिरामी भएँ । पहिला घाँटी खसखस भयो अनि राति त ज्वरो नै आयो । जीउ पूरै गलेको छ । कतै ओमिक्रोनको संक्रमण त होइन ? अक्सिजन लेभल पनि घटेको छ । मैले कोभिसिल्ड २ पटक लिएको छु ।'

मैले मित्र ध्रुवजीलाई बिहान नै गएर पीसीआर परीक्षण गराउन परामर्श दिएँ ।

फेसबुक मित्र ध्रुवजी जस्तै धेरै जना यस्तो अवस्थाबाट गुज्रिरहेको हुनसक्ने संभावना छ ।

हिजो दिउँसो काम विशेषले अनामनगरस्थित साथीहरूको अफिस पुगेको थिएँ । एक जना साथी कम्प्युटरमा व्यस्त थिए । उनी रुघाले ग्रस्त थिए । हतपती मास्क नलगाउने म बबुरोले तुरन्त खल्तीबाट झिकेर मास्क लगाएँ ।

सोधेँ, 'के भएको छ तपाईंलाई ?'

'हिजोदेखि रुघाले ग्रस्त बनाएको छ । अहिले त जीउ पनि दुखिरहेको छ । कतै ओमिक्रोनले त भेटेन मलाई ?', उनले परिहास शैलीमा भने ।

'ओमिक्रोनले तपाईंलाई मात्र होइन, यस पटक ४० प्रतिशत नेपालीलाई भेट्छ । ओमिक्रोनले भेट्नु, नभेट्नु कुनै चिन्ताको विषय होइन, तर तपाईं जे गरिराख्नुभएको छ, त्यो निश्चय पनि चिन्ताको विषय हो', मैले सजग गराउन चाहेँ ।

'किन, के गरेँ र मैले ?'

'हेर्नुहोस्, तपाईं सस्पेक्टेड संक्रमित भइसक्नुभएको छ । परीक्षण गर्नु, नगर्नु तपाईंको मर्जी तर तपाईंले घरबाट बाहिर आएर अरूलाई जोखिम हुने काम गर्नुभएन । कि त तपाईंले परीक्षण गराएर निधो गर्नुपर्छ अन्यथा आफूलाई घरमै आइसोलेट राख्नुपर्छ ।'

मित्रले परामर्श माने र घर प्रस्थान रे । मलाई थाहा छ, उनले संक्रमण परीक्षण गराउँदैनन् ।

नेपालगंजका नयाँ बानेश्वर बस्ने मित्रले फोनमा भने- 'हिजो रातिदेखि मलाई ज्वरो आएको छ । जीउ पनि दुखिरहेको छ ।'
  
तत्काल उनको डेरामा पुगेँ । आफैँ ग्यास बाली उनका लागि औषधि तयार गरेँ । दुवै जनाले सँगै औषधि सेवन गर्‍यौँ ।  उनको अनुहार हेर्दा नै उनी ओमिक्रोनको 'होस्ट' भइसकेको बुझ्न गाह्रो भएन मलाई । थप ५ दिनलाई औषधि दिएर उनलाई कोठामै आइसोलेट बस्ने भनेर म हिँडेँ ।
  
उनले कोठामै स्वाब कलेक्टरलाई बोलाएर परीक्षण गराए । उनको रिपोर्ट पोजिटिभ आयो । रिपोर्टमा एस-जिन अनुपस्थित थियो । अनुमान गर्न सकिन्छ- उनी ओमिक्रोनकै सिकार थिए । अहिले उनी स्वस्थ भइसकेका छन् । मैले उनलाई पुनः परीक्षण गर्न आवश्यक नभएको भनेँ ।

पहिलो र दोस्रो लहरताका संक्रमित हुँदा तपाईं जे गरेर निको हुनुभएको थियो । घरेलु उपचारले कि आयुर्वेदिक उपचारले त्यसलाई एक पटक पुनः स्मरण गरी ओमिक्रोनको मुकाबिला गर्न तत्पर हुनुहोस् । संक्रमित हुँदा अथवा सस्पेक्टेड हुँदा कुनै किसिमको हेलचेक्र्याइँ गर्ने छुट कसैलाई पनि छैन ।

अमेरिकाबाट फाइजर कम्पनीको बुस्टर डोजसमेत लिएकी एक जना युवती परिवारजनलाई भेट्न काठमाडौं आइन् ।  अमेरिका फर्किने अघिल्लो दिन कोरोना परीक्षण गराउँदा उनी पोजिटिभ देखिइन् । 'फ्लाइट डेट' सार्नुपर्‍यो ।

अमेरिका, यूके, इजरायललगायत अनेकौँ देशमा भ्याक्सिनको बुस्टर डोज लगाइसकिएको छ तर न त्यहाँ संक्रमण रोकिएको छ, न त मृत्यु दर नै । अमेरिका, रूस, यूके, जर्मनी, इटाली, फ्रान्स, स्पेन, इजरायललगायत तमाम युरोपेली देशमा बुस्टर डोजका बाबजुद संक्रमण दर र मृत्यु दरले कताकता भ्याक्सिनको उपयोगितामाथि प्रश्न चिह्न खडा गरेको छ ।

कोरोनाका भ्याक्सिन नहुँदा पनि संक्रमणको मृत्यु दर २ प्रतिशतको हाराहारीमा (देशअनुसार थपघट) थियो ।  नेपालमै पहिलो र दोस्रो लहरताका मृत्यु दर १.४१ प्रतिशत रहेको थियो । नेपालमा मृत्यु दर अहिले पनि १.४ प्रतिशत कायम छ । विश्वकै तथ्यांकअनुसार मृत्यु दर झण्डै १.६ प्रतिशत रहेको छ । पछिल्लो डाटाअनुसार विश्वभर ३२ करोड ८८ लाख १५ हजार ४८० संक्रमित देखिँदा ५५ लाख ५७ हजार ७४६ जना संक्रमितको मृत्यु भएको छ । विश्वमा अहिले प्रत्येक दिन झण्डै ८ हजारको संक्रमणका कारण मृत्यु भइरहेको छ । प्रत्येक साता झण्डै ४५ हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ ।

विश्वको झण्डै ६०-६५ प्रतिशत जनसंख्यालाई भ्याक्सिनका पूर्ण डोज मात्र होइन, कतिपय देशले आफ्नो ठूलो जनसंख्यालाई भ्याक्सिनको बुस्टर डोज दिइसकेका छन् । इजरायलले त चौथो डोज पनि लगाउन थालेको छ ।  इजरायलमा १६ जनवरीका दिन १८ हजार ५०१ नयाँ संक्रमित आउनुका साथै १४ जना संक्रमितको मृत्यु भएको छ । इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार देशमा ४४६ जना गम्भीर संक्रमितको उपचार भइरहेको छ । भ्याक्सिन, भ्याक्सिन, भ्याक्सिन भन्नेहरूले यी देश र भ्याक्सिन एवं कोरोना संक्रमणको सम्बन्ध विश्लेषण गरे हुन्थ्यो ।

मोटामोटी अनुमानमा काठमाडौंलगायत देशको २०-२५ प्रतिशत जनसंख्या संक्रमित भइसकेको छ । अवस्था गम्भीर नभएसम्म सर्वसाधारण संक्रमण परीक्षण गराउन चाहँदैनन् ।  यसको मुख्य कारण आर्थिक पनि हुन सक्छ । सरकारले श्रंखला खतिवडालगायतका मोडेललाई खर्च गरेको धनराशि पीसीआर परीक्षण सस्तो र सुलभ बनाउनमा खर्चे हुन्थ्यो ।

तपाईं वा म कोही पनि संक्रमित हुन सक्छौँ । परीक्षण गराउनु, नगराउनु पनि आफ्नो इच्छा अथवा आर्थिक हैसियतमा भर पर्छ । तर, कुनै किसिमको लक्षण देखिनासाथ कि त आफूलाई घरमै आइसोलेट गर्नुपर्छ अथवा परीक्षण गराएर रिपोर्ट नेगेटिभ आएमा मात्र भित्र, बाहिर गर्ने सामाजिक दायित्व वहन गर्नुपर्छ । संक्रमित मात्र होइन, तपाईं परीक्षण नगराएको शंकास्पद हुँदा पनि आइसोलेट हुनुपर्छ ।

रुघा, खोकी, ज्वरो, जीउ दुखेको आदि कुनै पनि किसिमको समस्या भएमा कि त परीक्षण गराई ढुक्क हुनुहोस् अथवा ७ दिनसम्म आफूलाई आइसोलेसनमा राख्नुहोस् ।

ओमिक्रोन र ओमिक्रोनले उत्पन्न गरेको समस्यालाई सामान्य नठान्नुहोस् । तपाईंको घर परिवारमा कसैलाई कुनै किसिमको लक्षण देखिएको छ भने ऊबाट परिवारका अन्य सदस्यलाई टाढा राख्नुहोस् । देशमा कोरोना पोजिटिभिटी रेट २५ भन्दा बढी भइसकेको अवस्थामा सकेसम्म घरबाहिर ननिस्किनुहोस् । निस्कनु परे कोभिड प्रोटोकलको पूर्ण  पालना गर्नुहोस् । कथं कदाचित लक्षण देखिएको व्यक्तिसँग जम्काभेट भयो भने आफूलाई सुरक्षित गरी उसलाई घर फर्किन अनुरोध गर्नुहोस् । सबै नागरिक सचेत नभए कोरोना पोजिटिभिटी रेट अझै बढ्छ ।

पहिलो र दोस्रो लहरताका संक्रमित हुँदा तपाईं जे गरेर निको हुनुभएको थियो । घरेलु उपचारले कि आयुर्वेदिक उपचारले त्यसलाई एक पटक पुनः स्मरण गरी ओमिक्रोनको मुकाबिला गर्न तत्पर हुनुहोस् । संक्रमित हुँदा अथवा सस्पेक्टेड हुँदा कुनै किसिमको हेलचेक्र्याइँ गर्ने छुट कसैलाई पनि छैन ।