अध्यक्ष/महासचिवले भ्रष्टाचार त गर्नुभएकै रहेछ नि ! सडकमा नांगै दौडिएर ‘चरित्र हत्या भयो’ भन्दै रोइकराइ !!

अध्यक्ष/महासचिवले भ्रष्टाचार त गर्नुभएकै रहेछ नि ! सडकमा नांगै दौडिएर ‘चरित्र हत्या भयो’ भन्दै रोइकराइ !!

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  माघ ४, २०७८

भ्रष्टः १. कहीँबाट फ्यात्त खसेको, च्युत भएको, गिरेको । २. आचरण र अनुशासनबाट तल झरेको, दुश्चरित्र, ३. अपवित्र, दूषित, ४. बिग्रेको, विनाश भएको ।

(नेपाली बृहत् शब्दकोश, दशौँ संस्करण, नेपाल प्रज्ञाप्रतिष्ठान, पृष्ठः ९७२)

भ्रष्टाचारः १. पतीत आचरण, दूषित मर्यादा, २. नियम वा कानुनविरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनशाय वा घुसखोरीको काम ।

(नेपाली बृहत् शब्दकोश, दशौँ संस्करण, नेपाल प्रज्ञाप्रतिष्ठान, पृष्ठः ९७२)

सन्दर्भमा उल्लेखित शब्दका अर्थ शब्दकोशमै खोज्नुपर्ने बाध्यता आइलाग्यो ।

समाजमा अत्यन्त नकारात्मक र फोहोरी अर्थ लाग्ने शब्द हुन्- भ्रष्ट र भ्रष्टाचार । यस्ता शब्दको आरोप लाग्नु पक्कै पनि एउटा इमान्दार, प्राज्ञ, बौद्धिक र प्रतिष्ठित व्यक्तिका निम्ति ‘मरेको दिन’ बराबर हो । यसर्थ यस्तो आरोप लागेका जोकोहीले आफ्नो बचाउ गर्न अनेक तिकडम गर्ने गर्छन्, जुन स्वाभाविक पनि हो । र, यदि यस्ता आरोपलाई निराधार प्रमाणित गर्न सके उनीहरू समाजमा पहिलाझैँ सम्मानित र प्रतिष्ठित नै रहिरहन्छन् भने निराधार प्रमाणित गर्न नसके साँच्चै ‘मरेको जुनी’को कारक बन्छ उनीहरूको विगतको व्यवहार र आचरण ।

यसर्थ, भ्रष्ट आचरण र भ्रष्टाचारबाट समाजमा नाम कमाएका, प्रतिष्ठा भएका र इमान-इज्जत छ भन्नेहरू सदैव जोगिनुपर्छ । यो हेक्का भएन र जथाभावी गर्न थालियो भने अन्ततः ‘मरेकै जुनी’ बाँच्न बाध्य बन्नुपर्छ ।

कुरो केही समयदेखि चर्चामा रहेको नेपाली लेखक संघको आन्तरिक मामलाको हो । यो हिजोसम्म आन्तरिक मामला थियो तर सार्वजनिक संस्था भएका कारण अहिले मिडियामा बाहिर आइसकेकाले यो सार्वजनिक चासोका मामला पनि बनेको छ ।

केही समयअघि पंक्तिकारले नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङका नाममाा एउटा आलेख लेखेको थियो । लोकसंवाद डटकममा । देशान्तर साप्ताहिकमा पनि त्यही सन्दर्भका केही प्रश्न उठाएको थियो पंक्तिकारले । उक्त आलेखमा उठाइएका संस्थाका समस्या, अध्यक्ष र महासचिवमाथि उठेका आर्थिकलगायतका अनियमितताका र अपारदर्शिताका सन्दर्भ, अवैधानिक कर्मका विषय र अधिवेशन तथा बैठकका सवालहरूमाथि अध्यक्ष र महासचिवले ३ माघमा एउटा विज्ञप्ति जारी गरेर ‘प्रस्ट’ पार्ने निरीह कोसिस गर्नुभएछ । यो राम्रो कुरा हो कि कम्तीमा उहाँहरू आफूमाथिका सवालबारे बोल्नुभयो ।

विज्ञप्ति मैले लेखेका माथिका २ वटा आलेखमै केन्द्रित छ, भलै, व्यक्ति किटान नगरी अमूर्त ‘धम्की’को शैलीमा प्रस्तुत छ विज्ञप्ति ।

विज्ञप्तिमा ‘केही दिनयता सामाजिक संजाल तथा छापाहरूमा नेपाली लेखक संघको आधिकारिकता र यसका विगतका क्रियाकलापलाई लिएर प्रश्न उठाइएको पाइएकोमा यस संस्थाका सदस्य तथा शुभेच्छुकहरूलाई संयम अपनाउन र अनावश्यक भ्रममा नपर्न अनुरोध गर्दछौँ’ भन्दै मैले अघिल्ला लेखहरूमा उठाएका सवालबारे यसरी जबाफ दिइएको छ ।

अघिल्ला लेखहरूमा संस्थाका पदाधिकारी र सदस्यहरूको विधानअनुसारको पदावधि सकिएको ३ वर्ष बित्न लाग्दासमेत अध्यक्ष र महासचिवकै कारण अधिवेशन हुन नसकेको उल्लेख गरिएको थियो । भनिएको थियो, ‘... उहाँहरूले यस सुझावलाई अतिसामान्य रूपमा लिनुभयो सायद- आज न त अधिवेशन गर्ने हैसियतमा हुनुहुन्छ वा न सचिवालय बैठक राख्ने नै । पदावधि सकिएको ३ वर्ष पुग्न लाग्दासमेत उहाँहरू ततर्किएर, डराएर वा लजाएर भागिरहनुभएको छ अधिवेशन गर्न । लोकतान्त्रिक संस्थाका अलोकतान्त्रिक नेतृत्वको असली चरित्र देखाएर लाज, शरम, घीनसमेत पचाएर जुको जसरी पदमा टाँसिइरहनुभएको छ । यसबीचमा संस्थाको नवीकरणलगायतका कामसमेत बेहाल भएको पत्तो छैन उहाँहरूलाई ।’

यस सवालको जबाफ विज्ञप्तिमा यसरी आएको छ, ‘१. नेपाली लेखक संघको नियमित अधिवेशन विश्वव्यापी माहामारीको रूपमा आएको कोभिड- १९ का कारणले समयमा सम्पन्न गर्न नसकिएकोमा हामी क्षमाप्रार्थी छौँ । कोभिड- १९ को दोस्रो लहर सकिएपछि अधिवेशन गर्ने तयारी हुँदै गर्दा हालै फेरि तेस्रो लहरको प्रभाव बढेकोले यो प्रक्रिया प्रभावित हुने संभावना देखिएको छ । तथापि, महामारीको प्रभावका बाबजुद यो वर्षको अन्तिमसम्ममा अधिवेशन गराइने प्रतिबद्धता व्यक्त गर्दछौँ र यसका लागि सबैको साथ र सहयोग अपेक्षा गर्दछौँ ।’

कति निरीह तर्क गर्नुपरेको छ उहाँहरूलाई ! कसरी पत्याउनू ? जबकि, यहीबीचमा विश्वमै ठूलाठूला सम्मेलन, महासम्मेलनसमेत भौतिक रूपमै सम्पन्न भएका छन् । नेपालमै शीर्ष राजनीतिक दलहरूका महाधिवेशन, अधिवेशनहरू सफलतापूर्वक भौतिक रूपमै सम्पन्न भएका छन् । र, उहाँहरू अर्थात् अध्यक्ष र महासचिव स्वयं कतिपय ‘भत्तामुखी’ कार्यक्रमहरूमा सहभागी भएको हामीले झलझली आँखाले देखिरहेकै छौँ । तब कसरी २००-३०० जना भेला भएर गर्न सकिने लेखक संघको अधिवेशन गर्नचाहिँ यसले रोक्यो ? पत्याउने कुरा मात्र गरिदिए तपाईंहरूको बचेको इमान रहन्थ्यो होइन र ?

संस्थाको आर्थिक हिनामिना वा अपारदर्शिताको प्रश्न हरेकजसो सचिवालय बैठकमा सचिव मित्र बाबु त्रिपाठी र मैले उठाइरह्यौँ । अन्य सन्दर्भमा पनि अध्यक्ष र महासिचवलाई व्यक्तिगत रूपमै भनिरह्यौँ तर उहाँहरूले सुनेको नसुन्यै गर्नुभयो । सोही कु्रा अघिल्ला लेखमा मैले लेखेको थिएँ यसरी-

‘हरेकजसो सचिवालय बैठकमा र अन्य भेटमा पनि अध्यक्ष र महासचिवलाई बारबार पंक्तिकारले भनिरह्यो, ‘मान्छेलाई सिध्याउने २ वटा कुरामा अत्यन्त सावधान हुनुपर्छ- आर्थिक पाटो र यौन काण्ड । यी २ कुरामा जोगिन सकिएन भने अन्य क्षेत्रमा जतिसुकै प्रसिद्धि कमाए पनि अर्थ हुँदैन । यस कारण संस्थाको आर्थिक पारदर्शिता शीघ्र होस्, बैठकमा प्रस्तुत गरेर निर्णय गराएर राख्नुहोस् ।’

अध्यक्ष, महासचिवज्यू ! इमान, इज्जत, मर्यादा चाहनेले त्यस्तै आचरण र व्यवहार गर्न जान्नुपर्छ । तपाईंहरूका आचरण, व्यवहार र मर्यादा त्यसअनुकूल रहेछन् त ? फर्किएर हेर्नुहोस् त ! एउटा भनाइ छ, ‘ सडकमा नांगै दौडिनेको चरित्र हत्या हुँदैन ।’ कतै तपाईंहरू सडकमा नांगै दौडिएर ‘चरित्र हत्या भयो’ भन्दै रोइकराइ गर्दै त हुनुहुन्न ?

विज्ञप्तिमा जबाफ यसरी आएछ, ‘२. ख) नेपाली लेखक संघले नेपाली विद्यार्थीहरूलाई प्राप्त कोरियाली छात्रवृत्ति (एक पटकको आर्थिक सहयोग)बापत अमुक व्यक्तिहरूलाई बाँडेको भन्ने अरोप पनि निराधार हो । उक्त छात्रवृत्तिका लागि नेपाली लेखक संघले २० जना विद्यार्थीको नाम कोरियालीहरूलाई दिएको हो । पछि कोरियाली विद्यार्थीसमेत समावेश गरिएको थियोे । उक्त सहयोग कोरियनहरू आफैँले कार्यक्रमकै दिन सम्बन्धित विद्यार्थीलाई मञ्चमै बोलाएर हस्तान्तरण गरेका हुन् । लेखक संघले कोरियालीबाट पैसा बुझेको र विद्यार्थीलाई बाँडेको होइन ।’

यही त प्रश्न छ कि उक्त रकम कति हो आएको ? कहाँकहाँ, कुनकुन विद्यालयका कोको विद्यार्थीलाई कतिकति दिइयो ? त्यो समितिको बैठकमा राखेर नामसहित निर्णय गरौँ भनेर सचिव बाबु त्रिपाठी र मैले बारबार भनिरहँदा अध्यक्ष र महासचिवले उक्त सन्दर्भ उठाउन त के कोट्याउन नै नदिने वातावरण बनाउँदै अन्ततः त्यही कारण बैठक नै राख्न छाड्नुभयो । यो सरासर आर्थिक हिनामिनाको शंकामा जाँदैन र ? यदि प्रष्ट र पारदर्शी आर्थिक कारोबार भएको भए समितिमा ल्याएर पारदर्शिता देखाएर निर्णय गराउँदा त उहाँहरू आज ‘भ्रष्ट’को आरोपमा फस्नुहुने थिएन नि !

उहाँहरूले जारी गरेको यही विज्ञप्तिमा यस सन्दर्भमा दिएको ‘प्रस्टीकरण’मा पनि लेखिएको कुरालाई मात्र आधार मान्ने अवस्था कम्तीमा यो पंक्तिकारसँग छैन । कारण- पंक्तिकार स्वयं खुला केन्द्रीय सचिव हो र सचिवालय सदस्य पनि । कुनै पनि बैठकमा उक्त सन्दर्भ उप्काउनसमेत तर्किने अध्यक्ष र महासचिवले आर्थिक हिनामिना गरेनन् भनेर कसरी पत्याउनू ? प्रश्न उठाउने हैसियत मसँग काफी र वैधानिक अनि व्यावहारिक पनि छ ।

सँगसँगै संस्थाको आर्थिक पारदर्शिता र संस्था नवीकरणको सन्दर्भमा उठाइएको प्रश्नमै जबाफ आएछ, ‘२. ङ) ०७५/७६ सम्म लेखक संघले गरेका कामहरूबारे सचिवालयमा छलफल भएको र आम्दानी तथा खर्चको लेखापरीक्षण भई संस्था नवीकरण पनि भएको छ ।’

ए बाबा हो ! पटक पटक हामी २ जना खुला सचिव बाबु त्रिपाठी र मैले संस्थाको आर्थिक हिसाबकिताब बैठकमा बुझाएर निर्णय गरौँ भन्दा बैठक नै नबसाउने अध्यक्ष र महासचिवले यस्तो विज्ञप्ति अहिले ठेल्नुहुन्छ । यो सरासर भ्रष्ट आचरणको प्रस्ट दृश्टान्त होइन ? कहिले बस्नुभयो सचिवालय बैठक ? आर्थिक विवरण पारित गर्न, विधानतः संस्था नवीकरणका लागि निर्णय गर्न बैठक बस्नुपर्दैन ? अनि, यदि बैठक बसेकै भए आर्थिक हिनामिनाका यतिका प्रश्न उठिरहँदा किन कुनै छलफल भएन संस्थामा ? किन बाबु त्रिपाठी र घनेन्द्र ओझालाई बैठकबारे जानकारीसम्म दिइएन ? आफ्ना निकट र ‘एस म्यान’हरूलाई सही गर्न लगाएर निर्णय गराइएको हो ? कि हाम्रो पनि कीर्ते सही ठोकियो निर्णयमा ? कम्तीमा मैलेचाहिँ आर्थिक पारदर्शिता नभएको उक्त निर्णयमा उपस्थिति र सही केही जनाएको छैन भन्ने प्रस्ट पार्न चाहन्छु यसै लेखमार्फत् ।

र, तपाईंहरूले जिल्ला प्रशासन कार्यालयमा बुझाएर संस्था नवीकरण गर्न गरेको आर्थिक पाटोको निर्णय नवीकरणसम्मका लागि मात्र हो भन्ने त पक्कै बुझ्नुभएकै छ । संस्थाको सर्वोच्च निकाय भनेको साधारणसभा हो । साधारणसभालाई मात्र सबै अधिकार छ संस्थाबारे निर्णय गर्न । र, यदि साधारणसभा तपाईंहरूका आर्थिक र प्रगति प्रतिवेदनमा असहमत भएमा तपाईंहरू अनिवार्य छानबिनको दायरामा आउनुहुनेछ । छानबिनपछि मात्र यथार्थ पत्ता लाग्नेछ र चोखिने वा डसिने निर्णय हुनेछ । अहिले केही सचिवालय सदस्यलाई बाहेक गरेर गरिएका निर्णयको प्रतिफल तब तपाईंहरूले भोग्नुहुनेछ ।

अघिल्ला लेखहरूमा पंक्तिकारले उठाएको अर्को सवाल थियो, ‘एउटा कोरियाली ‘मिसनरी’ संस्थाको सहयोग र सहकार्यमा ‘ठूलै’ कार्यक्रम भयो । उक्त कार्यक्रम गर्नुपूर्व उक्त संस्थासँग सहकार्य गर्ने सवालमा बैठकमा मैले भनेको थिएँ, ‘प्रायः विदेशी संस्थाहरू मिसनरी छन्, तिनको उद्देश्य फरक हुन्छ, भोलि विवाद नआओस्, राम्ररी बुझेर मात्र निर्णय गरौँ ।’

महासचिव, जो अहिले पीएचडी डाक्टर पनि बन्नुभएको छ, रत्नमणि नेपालले भन्नुभयो, ‘म अंग्रेजी राम्ररी बुझ्छु, उक्त संस्थाबारे पढेको छु, त्यस्तो केही छैन, गर्दा हुन्छ ।’

म त अंग्रेजी उति जान्दिनँ, हुनेवाला डाक्टरसा’बले भनेपछि विश्वास गर्नै पर्‍यो । कार्यक्रम गर्ने निधो भयो । कार्यक्रमका लागि सबै खर्च त्यही संस्थाले बेहोर्ने भयो, हामीले कार्यक्रमको संयोजन मात्र गर्दा हुने भयो । यति मात्र होइन, केही लाख रुपैयाँ र केही अन्य सहयोग पनि विद्यार्थीका लागि भनेर उक्त संस्थाले गर्ने भएपछि त राम्रै होला पनि भनियो ।

कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठानमा हुँदै थियो, केही प्राध्यापक, विद्वान्, कहलिएका बुद्धिजीवीहरू, जो लेखक संघका पुनर्जागरणकर्ता र शुभेच्छुक पनि हुनुहुन्छ, उहाँहरू लकार्यक्रम स्थलबाट भुनभुनिँदै बाहिर निस्कनुभयो । किन ? जिज्ञासा राख्दा पो भन्नुभयो, ‘यस्तो क्रिश्चियानिटीको प्रचारका लागि मिसनरीका कार्यक्रम लेखक संघले राख्ने ? यस्तो बदमासी पनि गर्ने ?’

अनि पो मेरो पूर्वानुमान सही ठहरियो, जुन कार्यक्रमको निर्णयपूर्व नै बैठकमा भनेको थिएँ अथवा आशंका गरेको थिएँ ।’

जबाफमा प्रस्ट आएछ तर सवालकै पक्षमा ।

‘२. क) लेखक संघले दक्षिण कोरियाली संस्थासँग कार्यक्रम गर्दा इसाइ धर्म प्रचार गर्ने उद्देश्यले गरेको भन्नु आधारहीन आरोप हो । कोरियाली लेखकहरूले इसाइ धर्मको कोरियाली साहित्यमा प्रभावबारे कार्यक्रममा छलफल गर्दा नेपाली लेखक संघका तर्फबाट हिन्दु र बौद्ध धर्मका संरचनात्मक र व्यावहारगत प्रभावबारे छलफल गरिएको थियोे । धर्ममा रहेका ज्ञानबारे विमर्श गरिएको थियोे । ज्ञानका क्षेत्रमा संसारभर हुने यस्ता क्रियाकलापका बारे हाम्रो नेपाली विद्वत् वर्ग भलिभाँती जानकार छ भन्ने हामीले ठानेका छौँ ।’

भनेपछि लेखक संघका अध्यक्ष र महासचिवले विदेशीले दिने केही लाख रुपैयाँमा र केही दिन विदेश सयर गराउने शर्तमा आफ्नै संस्कार, धर्म र संस्कृतिमाथि प्रहार गर्न तयार भए ? यसरी अमूक संस्था र निकाय वा व्यक्तिका आर्थिक र अन्य प्रलोभनमा परेर आफ्नै सभ्यता, संस्कार, धर्म र संस्कृतिमाथि प्रहार गराउने, उनीहरूको धर्म, संस्कार र संस्कृति हाम्रोमाथि लाद्ने मतियार आफैँ हुने तपाईंहरू के ‘भ्रष्ट’ होइन ? भ्रष्ट र भ्रष्टाचारबारे माथि सुरुमै दिइएको शब्दकोशका परिभाषा पढ्नुहोस् ।

सवाल अर्को पनि थियो, ‘यति मात्र पनि होइन, अध्यक्ष र महासचिवको खुराफात कहाँसम्म पुग्यो भने, त्यही कोरियाली संस्थाले कोरियामा कार्यक्रम गर्ने भयो । यता, सचिवालयले थाहै नपाई उहाँहरू २ जना ठूलो चिलगाडीमा चढिहाल्नुभएछ । कम्तीमा संस्थाभित्र छलफल गर्नुपर्ने हो कोको जाने ? कसरी जाने ? आर्थिक स्रोत कहाँबाट जुटाउने जानका लागि ? हाम्रा संस्थागत एजेण्डा के हुने त्यहाँ प्रस्तुत गर्नका लागि ? आदि छलफल गरेर निर्णय गरेर जानुपर्ने हो तर उहाँहरू कोरियाबाट फर्किएपछि पो हामी सचिवालयका साथीहरूले थाहा पायौँ । र, त्यसको पनि आर्थिकदेखि अन्य कुराहरू आजसम्म संस्थाभित्रै पनि प्रस्तुत गरिएको छैन । त्यही कार्यक्रममा उहाँहरूले केही नेपाली कविका कविता कोरियाली भाषामा अनुवाद गराएर पुस्तक नै प्रकाशन गर्नुभएछ । त्यो पनि कुनै छलफल र निर्णयबिना । यस्ता कार्यहरू ‘लोकतान्त्रिक’ दाबी गर्ने संस्थामा, अझ त्यही संस्थाका मूल नेतृत्वबाट हुनु आश्चर्यलाग्दो होइन, घीनलाग्दो पो हो त !’

विज्ञप्तिमार्फत आएको जबाफ पढौँ त, लाज लाग्दैन ?

‘२. ग) कोरियाली संस्थाले राजधानी सोलमा आयोजना गरेको २ दिने कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष र महासचिवलाई नाम उल्लेखै गरेर निम्ता गरेकै कारण निम्ता स्वीकार गरेर कोरिया गइएको हो ।

घ) कोरियालीहरूले नेपाली कविका कविताहरू मागे गरेअनुसार नेपाली लेखक संघले कविता पठाएको हो र त्यसको अनुवाद गरेर छाप्ने काम उनीहरूले नै गरेका हुन् ।’

क्या रमाइलो छ जबाफ ! कोरियालीहरूले ‘अध्यक्ष र महासचिव नै आउनू’ भनेर बोलाए रे ! यस्तो त पहिलो पटक सुन्दै छु मेरो २० वर्षे अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा । तर, हुन पनि सक्छ- ‘हाम्रै मात्र नाम किटेर निमन्त्रणापत्र पठाइदिनुहोस् है, यसो गर्दा हामीमाथि प्रश्न उठाउन पाउँदैनन् साथीहरूले’ भनेर महासचिवज्यूले ‘अंग्रेजी’ भाषामा बुझिने गरी पठाउनुभएको भए ।

र, यदि यसै थियो भने पनि त उक्त संस्थाले पठाएको निमन्त्रणाबारे बैठकमा छलफल हुनुपर्थ्यो, आफ्ना एजेण्डा हामीले तय गरेर सहभागी हुनुपर्थ्यो, उहाँहरू नै जाने भए पनि निर्णय गरेरै जानुपर्थ्यो, होइन र ? सँगसँगै उनीहरूले 'अध्यक्ष र महासचिव मात्र आऊ' भने जसरी 'फलाना फलाना कविका कविता मात्र पठाऊ' पनि भनेका थिए कि तपाईँ २ जनाकाे मनमोजी इच्छाले हुकुमी शैलीमा कुनै छलफःल र निर्णय नगरी कविता पठाउने हो ? यही हो स‌ंस्थागत मर्यादा र पदीय आचरण ? अनि, यो पदीय आचरणअनुसारको काम हो ? होइन भने यो पनि त भ्रष्टाचार नै मानिन्छ । अनैतिक र अमर्यादित कर्म नै मानिन्छ ।

विज्ञप्तिको बुँदा नं. ३ मजाको रहेछ । भनिएको छ, ‘३. अन्तमा, नेपाली लेखक संघ यसका सदस्य एवं शुभेच्छुकहरूको संस्था हो । यसप्रति इमान्दार रहनु र संस्थागत हुनु सबैको कर्तव्य हो । वर्तमान नेतृत्व संस्थाको जीवनको कठिन मोडमा कायम भएको सबैलाई विदितै छ । यसका कमीकमजोरीको मर्यादित आलोचना हुनु वाञ्छनीय भए तापनि आलोचना अमर्यादित, असंस्थागत र अशिष्ट हुँदा नेपाली लेखक संघ, यसका शुभेच्छुक, आलोचक र हामी कसैलाई पनि फाइदा हुँदैन । आफ्ना गुनासा र असन्तुष्टिहरू संघकै फोरमा राख्नुको सट्टा संस्थाकै मर्यादामा आँच पुग्ने गरी मिडियाबाजी गर्नु गैरजिम्मेवारीपना हो । संस्थामा रहेर यस्ता गैरजिम्मेवार क्रियाकलाप गर्ने छुट कसैलाई नभएको कुरा पनि अनुरोध गर्दछौँ ।’

सही कुरा हो- लेखक संघ अत्यन्त सम्मानित र आदर्श व्यक्तित्वहरूले जन्माएको, हुर्काएको लोकतान्त्रिक लेखक, स्रष्टाहरूको साझा संस्था हो, सिद्दान्ततः । तर, तपाईंहरू जस्ता निरंकुश, अमर्यादित, तानाशाह र अराजक नेतृत्वका कारण लेखक संघको नाम पनि सुन्न चाहँदैनन् धेरै लेखक, स्रष्टा । यसबारे सोच्नुभएको छ ?

विज्ञप्तिको अन्तिमतिरका वाक्य र तिनमा निहीत निरीह र बकम्फुसे धम्की पढेर बडो लामो हाँसो उठ्यो । पढ्नुहोस् त, ‘यसका कमीकमजोरीको मर्यादित आलोचना हुनु वाञ्छनीय भए तापनि आलोचना अमर्यादित, असंस्थागत र अशिष्ट हुँदा नेपाली लेखक संघ, यसका शुभेच्छुक, आलोचक र हामी कसैलाई पनि फाइदा हुँदैन । आफ्ना गुनासा र असन्तुष्टिहरू संघकै फोरममा राख्नुको सट्टा संस्थाकै मर्यादामा आँच पुग्ने गरी मिडियाबाजी गर्नु गैरजिम्मेवारीपना हो । संस्थामा रहेर यस्ता गैरजिम्मेवार क्रियाकलाप गर्ने छुट कसैलाई नभएको कुरा पनि अनुरोध गर्दछौँ ।’

भनिएको त सोझै छ नि होइन- ‘हामीले कमीकमजोरी गरेकै छौँ तर मिडियामा, बाहिर ल्याएर हाम्रो धोती नफुकालिदिनू । यदि यसो गरेमा हामी तँलाई पनि बाँकी राख्दैनौँ ।’ र, तपाईंहरूको 'धम्कीपत्र'को अन्तिम वाक्यअनुसार जाऔँ र कोको संस्थागत अहितका र गैरजिम्मेवार कार्यमा संलग्न छन्, छानबिन गरेर कारबाही गरिहालौँ । तपाईंहरू दोषी ठहरिए पनि र म दोषी ठहरिए पनि कडाभन्दा कडा कारबाही गरौँ ।

अनि, भ्रष्टाचार भन्नेबित्तिकै हामीले आर्थिक हिनामिना र अपारदर्शिता मात्र बुझिरहेका छौँ । योभन्दा खतरनाक भ्रष्टाचार आचरणको, नैतिकताको र इमानको भ्रष्टाचार हो, जुन लेखक संघका अध्यक्ष र महासचिवबाट भएको देखिएको छ उहाँहरूले जारी गरेको यही विज्ञप्तिबाट पनि । किनभने उहाँहरूले कुनै पनि ‘आरोप’ वा ‘प्रश्न’को यथार्थ, प्रस्ट र चित्तबुझ्दो जबाफ नदिई झारा टार्ने नियतले हतारमा आत्तिएर ठेल्नुभएको छ विज्ञप्ति ।

अझै केही समय बाँकी छ- आफूमाथि लागेका आरोपलाई अप्रमाणित गर्न छानबिन समिति बनाउन आह्वान गर्दै राजीनामा दिनुहोस् । नभए कलंकको टीका निधारमा टाँसेर ‘मरेको जुनी’ बाँच्नुपर्ला ।

अध्यक्ष, महासचिवज्यू ! इमान, इज्जत, मर्यादा चाहनेले त्यस्तै आचरण र व्यवहार गर्न जान्नुपर्छ । तपाईंहरूका आचरण, व्यवहार र मर्यादा त्यसअनुकूल रहेछन् त ? फर्किएर हेर्नुहोस् त ! एउटा भनाइ छ, ‘ सडकमा नांगै दौडिनेको चरित्र हत्या हुँदैन ।’

कतै तपाईंहरू सडकमा नांगै दौडिएर ‘चरित्र हत्या भयो’ भन्दै रोइकराइ गर्दै त हुनुहुन्न ?

यस्तो छ अध्यक्ष र महासचिवले जारी गरेको प्रेस विज्ञप्ति

केही दिनयता सामाजिक सञ्जाल तथा छापाहरूमा नेपाली लेखक सङ्घको आधिकारिकता र यसका विगतका क्रियाकलापलाई लिएर प्रश्न उठाइएको पाइएकोमा यस संस्थाका सदस्य तथा शुभेच्छुकहरुलाई संयम अपनाउन र अनावश्यक भ्रममा नपर्न अनुरोध गर्दछौँ ।

१. नेपाली लेखक सङ्घको नियमित अधिवेशन विश्वव्यापी माहामारीको रूपमा आएको 'कोभिड १९' का कारणले समयमा सम्पन्न गर्न नसकिएकोमा हामी क्षमाप्रार्थी छौँ । 'कोभिड १९' को दोस्रो लहर सकिएपछि अधिवेशन गर्ने तयारी हुँदै गर्दा हालै फेरि तेस्रो लहरको प्रभाव बढेकोले यो प्रक्रिया प्रभावित हुने संभावना देखिएको छ । तथापि, महामारीको प्रभावका बाबजुद यो वर्षको अन्तिमसम्ममा अधिवेशन गराइने प्रतिबद्धता व्यक्त गर्दछौँ र यसका लागि सबैको साथ र सहयोग अपेक्षा गर्दछौँ ।

२. छापामा आए जस्तो नेपाली लेखक सङ्घ यसको विधानविपरीत चलेको, अपारदर्शी भएको, अध्यक्ष र महासचिवले मनमोजी गरेको भन्ने आरोप कपोलकल्पित भएको र उक्त आरोपमा सत्यता नभएको कुरा स्पष्ट पार्दछौँ ।

क) लेखक सङ्घले दक्षिण कोरियाली संस्थासँग कार्यक्रम गर्दा इसाइ धर्म प्रचार गर्ने उद्देश्यले गरेको भन्नु आधारहीन आरोप हो । कोरियाली लेखकहरूले इसाइ धर्मको कोरियाली साहित्यमा प्रभावबारे कार्यक्रममा छलफल गर्दा नेपाली लेखक सङ्घका तर्फबाट हिन्दु र बौद्ध धर्मका संरचनात्मक र व्यावहारगत प्रभावबारे छलफल गरिएको थियोे । धर्ममा रहेका ज्ञानबारे विमर्श गरिएको थियोे । ज्ञानका क्षेत्रमा संसारभर हुने यस्ता क्रियाकलापका बारे हाम्रो नेपाली विद्वत् वर्ग भलिभाँती जानकार छ भन्ने हामीले ठानेका छौँ ।

ख) नेपाली लेखक सङ्घले नेपाली विद्यार्थीहरूलाई प्राप्त कोरियाली छात्रवृत्ति (एक पटकको आर्थिक सहयोग)बापत अमुक व्यक्तिहरूलाई बाँडेको भन्ने अरोप पनि निराधार हो । उक्त छात्रवृत्तिका लागि नेपाली लेखक सङ्घले २० जना विद्यार्थीको नाम कोरियालीहरूलाई दिएको हो । पछि कोरियाली विद्यार्थीसमेत समावेश गरिएको थियोे । उक्त सहयोग कोरियनहरू आफैँले कार्यक्रमकै दिन सम्बन्धित विद्यार्थीलाई मञ्चमै बोलाएर हस्तान्तरण गरेका हुन् ।

लेखक सङ्घले कोरियालीबाट पैसा बुझेको र विद्यार्थीलाई बाँडेको होइन ।

ग) कोरियाली संस्थाले राजधानी सोलमा आयोजना गरेको २ दिने कार्यक्रममा नेपाली लेखक सङ्घका अध्यक्ष र महासचिवलाई नाम उल्लेखै गरेर निम्ता गरेकै कारण निम्ता स्वीकार गरेर कोरिया गइएको हो ।

घ) कोरियालीहरूले नेपाली कविका कविताहरू मागे गरेअनुसार नेपाली लेखक सङ्घले कविता पठाएको हो र त्यसको अनुवाद गरेर छाप्ने काम उनीहरूले नै गरेका हुन् ।

ङ) ०७५/७६ सम्म लेखक सङ्घले गरेका कामहरूबारे सचिवालयमा छलफल भएको र आम्दानी तथा खर्चको लेखापरीक्षण भई संस्था नवीकरण पनि भएको छ ।

३. अन्तमा, नेपाली लेखक सङ्घ यसका सदस्य एवं शुभेच्छुकहरूको संस्था हो । यसप्रति इमान्दार रहनु र संस्थागत हुनु सबैको कर्तव्य हो । वर्तमान नेतृत्व संस्थाको जीवनको कठिन मोडमा कायम भएको सबैलाई विदितै छ । यसका कमीकमजोरीको मर्यादित आलोचना हुनु वाञ्छनीय भए तापनि आलोचना अमर्यादित, असंस्थागत र अशिष्ट हुँदा नेपाली लेखक सङ्घ, यसका शुभेच्छुक, आलोचक र हामी कसैलाई पनि फाइदा हुँदैन । आफ्ना गुनासा र असन्तुष्टिहरू सङ्घकै फोरमा राख्नुको सट्टा संस्थाकै मर्यादामा आँच पुग्ने गरी मिडियाबाजी गर्नु गैरजिम्मेवारीपना हो । संस्थामा रहेर यस्ता गैरजिम्मेवार क्रियाकलाप गर्ने छुट कसैलाई नभएको कुरा पनि अनुरोध गर्दछौँ ।

धन्यवाद !

रत्नमणि नेपाल/महासचिव
श्रवण मुकारुङ/अध्यक्ष