बाग्मती प्रदेशलाई पराजित गर्दै पुलिस पीएम कपको फाइनलमा

बाग्मती प्रदेशलाई पराजित गर्दै पुलिस पीएम कपको फाइनलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ ४, २०७८

विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

मंगलबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बाग्मती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

जीतका लागि १५६ रनको लक्ष्य पछ्याएको बाग्मती निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रनमा सीमित भयो ।  बाग्मतीका आदिल खानले सर्वाधिक २७ रन बनाए । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान गरे । 

पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५ विकेट लिए । ४ ओभर बलिङ गरेका दीपेन्द्रले १० रन खर्चिए । यस्तै, सागर ढकालले २ तथा आरिफ शेखले १ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५५ रनको विजय लक्ष्य प्रस्तुत गर्‍याे । पुलिसका ओपनर पवन सर्राफले अर्धशतकीय इनिङ खेले । पवनले ५४ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै, दिलीप नाथले ३१ रन जोड्दा अनिल साहले २५ रन बनाए ।

बाग्मतीका नन्दन यादव र रिजन ढकालले समान २/२ विकेट लिँदा प्रतिस जीसीले १ विकेट लिए । दोस्रो सेमिफाइनलमा एपीएफ र आर्मी भिड्नेछन् ।