महामारीमा त्रिविको लापर्बाही र संवेदनहीनता: कोरोना संक्रमणको बाढीमा धमाधम परीक्षा

महामारीमा त्रिविको लापर्बाही र संवेदनहीनता: कोरोना संक्रमणको बाढीमा धमाधम परीक्षा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  माघ ५, २०७८

मंगलबार प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको गेटमा एक विद्यार्थी भेटिए । एलएलबी दोस्रो वर्षको परीक्षाका लागि परीक्षा फारम भर्न पुगेका उनी तेस्रो वर्षको परीक्षाको तयारीमा रहेछन् । त्रिविले यही माघ १० गतेदेखि कानुन संकायअन्तर्गत एलएलबी तेस्रो वर्षको परीक्षा सञ्चालन गर्दैछ ।

यहीबेला कोरोना भाइरसको संक्रमण तीव्र बनेको छ । मंगलबार नेपालमा हालसम्मकै सबैभन्दा बढी १० हजार २५८ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाको बढ्दो लहरकैबीच त्रिविले परीक्षा गराउन लाग्दा उनी खिन्न छन् । उनले भने, ‘म त कोरोनालाई जितौंला, तर घरमा बुढाबुढी आमाबाबु हुनुहुन्छ । मेरा कारण घरमा कोरोना फैलियो भने...?’ उनी रोकिए । 

भोजपुरबाट हालै एक विद्यार्थी परीक्षाकै लागि भनेर काठमाडौं आए । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘म परीक्षाको लागि काठमाडौं आएको हो । हाम्रो जिल्लामा हालै भएका राजनीतिक गतिविधिमा सहभागी भएको थिएँ, त्यहाँ सहभागी धेरैमा कोरोना देखियो । मलाई पनि ज्वरो र रुघाखोकीको समस्या देखिएको छ । परीक्षण गर्ने हो भने कोरोना देखिनसक्छ । परीक्षा दिनुपर्ने भएकाले परीक्षण गराएको छैन ।’

यसरी हेर्ने हो भने संक्रमित नभएका विद्यार्थीमा संक्रमणको डर देखिन्छ भने परीक्षा छुट्ने डरले कतिपयले परीक्षण नै नगराई बसेको देखिन्छ । यसबाट कोरोना भाइरस झनै फैलिनसक्ने  सम्भावना देखिएको छ ।  

स्वास्थ्य मन्त्रालयका अनुसार माघको तेस्रो साता अस्पतालमा १३ हजारभन्दा बढी संक्रमित उपचारका लागि भर्ना हुनुपर्ने हुनसक्छ । फागुनको पहिलो साताबाट दैनिक संक्रमितको संख्या १० हजारको हाराहारीबाट घट्दै जाने र चैतको अन्त्यतिर कोरोना नियन्त्रण उन्मुख हुनेछ ।

यतिबेला त्रिविले लगातार परीक्षाको तालिका सार्वजनिक गरिरहेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि परीक्षाहरु स्वास्थ्य मापदण्ड पालना गरी गराउने निर्णय गरेको छ । मंगलबार नै काठमाडौंका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन गर्ने भन्दै जारी गरेको सूचनामा भौतिक रुपमा उपस्थित हुनुपर्ने कार्यमा २५ जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख छ । कुनै पनि परीक्षा केन्द्रमा २५ जनामात्रै राखेर परीक्षा गराउन करिब करिब असम्भव जस्तै छ ।

त्यसमाथि पनि कोरोना संक्रमित विद्यार्थीहरुको परीक्षाका लागि अलग स्थान हुन्छ या हुँदैन भन्ने प्रष्ट भइसकेको छैन । यदि त्यस्तो नभएमा कोरोना संक्रमित भएका विद्यार्थी परीक्षा हलसम्म आएमा उनीहरुलाई रोक्न सक्ने र मिल्ने अवस्था पनि हुँदैन । विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने काठमाडौंका तीन जिल्लाका प्रशासन कार्यालयको सूचनामा उल्लेख छ । परीक्षाहरु समयमा नै सञ्चालन हुनुपर्नेमा दुई मत नरहे पनि महामारी तीव्र रुपमा फैलिएका बेला परीक्षाहरु सञ्चालन गर्ने निर्णय कोरोना फैलिने अर्को सरल माध्यम बन्नसक्ने विद्यार्थी तथा अभिभावकहरुमा चिन्ता देखिएको छ । 

परीक्षा नियन्त्रणका कार्यालयका काम प्रभावित

त्रिविले परीक्षाको तयारी गरिरहेका बेला त्रिविकै परीक्षा नियन्त्रण कार्यालय भने कोरोना संक्रमणका कारण माघ ७ गतेसम्मका लागि बन्द भएको छ । विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि परीक्षा नियन्त्रणका कार्यालय बन्द गरिएको हो । यस्तै माघ ९ गतेदेखि परीक्षा नियन्त्रण कार्यालयमा प्रवेशका लागि दुवै डोज खोप लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्नेछ । त्रिवि र परीक्षा नियन्त्रण कार्यालय नै कोरोनाका कारण बन्द गर्नुपर्ने अवस्थामा विद्यार्थी भने सर्ने या नसर्नेबारे बेलैमा कुनै जानकारी नहुँदा अन्योलमा देखिएका छन् ।

काेभिडका कारण त्रिविको क्यालेन्डर प्रभावित भएको भन्दै त्रिविले स्नातक तह पहिलाे र तेस्रो वर्षको परीक्षा तालिका धमाधम निकालिरहेकाे छ । यही कारण कोरोना संक्रमण तीव्र बनेको अवस्थामा परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरु समेत कोभिड संक्रमित भएको र क्वारेन्टाइनमा बस्नुपर्ने अवस्थामा परीक्षा गर्दा विद्यार्थीको परीक्षा छुट्ने र छुटेकाहरुका लागि फेरि परीक्षा सञ्चालन गर्न व्यवस्था नभएका कारण विद्यार्थीहरुमा एकातिर कोरोना संक्रमणको त्रास र अर्कोतिर परीक्षाको चिन्ता थपिएको छ । परीक्षामा हुने भिडभाडका कारण संक्रमणको जोखिम झनै बढ्ने भएका कारण स्थिति केही सामान्य नहुन्जेल परीक्षा स्थगित गरेमा कोरोना संक्रमणको चेन ब्रेक गर्न सहज हुनसक्छ । 

स्वास्थ्य मन्त्रालय भन्छ–अब एक महिना कठिन

मंगलबार नेपालमा अहिलेसम्मकै उच्च १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण देखियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको एक महिनासम्म कोरोना संक्रमितको संख्या बढेर दैनिक २० हजारको हाराहारीमा पुग्ने र एक महिना कष्टपूर्ण हुने प्रक्षेपण गरेको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्ण पौडेलले दिएको जानकारीअनुसार माघ दोस्रो साता दैनिक संक्रमितको संख्या उच्च हुनेछ । त्यसबेला दैनिक संक्रमितको संख्या २० हजारको हाराहारीमा हुनेछ भने १० हजारमा लक्षण देखिने र दैनिक एक हजारभन्दा बढीलाई अस्पताल भर्ना गर्नुपर्नेछ ।

तेस्रो साताबाट भने संक्रमितको संख्या घट्न थाल्ने अनुमान छ । यद्यपि अस्पातलमा तेस्रो साता सबैभन्दा बढी चाप हुनसक्नेछ । स्वास्थ्य मन्त्रालयका अनुसार माघको तेस्रो साता अस्पतालमा १३ हजारभन्दा बढी संक्रमित उपचारका लागि भर्ना हुनुपर्ने हुनसक्छ । फागुनको पहिलो साताबाट दैनिक संक्रमितको संख्या १० हजारको हाराहारीबाट घट्दै जाने र चैतको अन्त्यतिर कोरोना नियन्त्रण उन्मुख हुनेछ । स्वास्थ्य मन्त्रालयको प्रक्षेपणअनुसार कोरोना संक्रमण तीव्र बनेका बेला नै त्रिविका परीक्षाहरु चलिरहेका हुनेछन् । 

परीक्षण गर्नेमध्ये ४८ प्रतिशतमा संक्रमण

नेपालमा कोरोना संक्रमणदर भयावह देखिएको छ । मंगलबार २२ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण देखिएको छ । १७ हजार ८७२ जनाको आरटी–पीसीआर तथा ४ हजार ९५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

संक्रमणको पछिल्लो तथ्यांकअनुसार पीसीआर परीक्षण गरेकामध्ये ४८.८ प्रतिशत र एन्टिजेन परीक्षणमा ४४.९ प्रतिशतमा कोरोना पुष्टि भएको छ । गत पुस १९ गते संक्रमणदर २.६ प्रतिशत थियो । तर १५ दिनमा कोरोना संक्रमण भयावह बनेको हो । मंगलबार काठमाडौंमा मात्रै ४ हजार ४ जना, ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ । हाल काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र कैलाली जिल्लामा ५ सयभन्दा बढी संक्रमित रहेका छन् । धनुषा, पर्सा, नवलपरासी पूर्व, बाँके, दाङ र कञ्चनपुरमा २ सयभन्दा बढी संक्रमित छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । 

कोरोना संक्रमण तीव्र बनेसँगै सरकारी कार्यालयका सेवाहरु प्रभावित बनेका छन् । सर्वोच्च अदालतले समेत आफ्ना धेरैजसो सेवा कटौती गरेको छ । ओमिक्रोन भेरियन्ट सुरु भएसँगै । कोरोना भाइरसको संक्रमणको लहर तीव्र बन्दा फेरि जनजीवन प्रभावित बनेको छ ।